Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग

एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग


काठमाडौं ( जिएनएन )- गैरआवासीय नेपाली संघले अप्ठेरोमा परेका मध्य पूर्वका केही राष्ट्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको उद्धारका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा स्थापना गरेको उद्धार  कोषको व्यापक दुरुपयोग भै रहेको आशंका गरिएको छ ।

प्रभावित देशहरुमा रहेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, सदस्य तथा सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्लाई समेत जानकारी नदिई कोषको रकम खर्च भइरहेको खुलासा भएको छ ।

कोषको दुरुपयोगका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको र पीडितले सहयोग पाएकोबारे पनि कुनै जानकारी नगराइएको भन्दै एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उपसंयोजक मनोज गोरखालीले संघका अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय परिषदको ध्यानाकर्षण गराएका छन् ।

युएई, साउदी अरब, कतार, बहराईन, कुवेत, ओमान र मलेशियामा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरुको उद्धारको निम्ति अन्तर्राष्ट्रिय श्रम संगठनबाट प्राप्त दश करोड रुपैयाँको सहयोगमा उद्धार  कोष स्थापना गरिएको हो । यो कोषको नेतृत्व संघका उपाध्यक्ष डा. बद्री केसीले गरेका छन् ।

नेपाली जनसम्पर्क समिति, युएइका अध्यक्ष भुवानीप्रसाद तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा अनियमितता भएको भन्दै छानबिनका लागि मागसहित उल्लेख गरेपछि यो विषय सार्वजनिक भएको हो ।

भुवानी प्रसाद तिमिल्सिनाको फेसबुक स्टाटस

उनका अनुसार नेपालस्थित कार्यालयका कर्मचारीहरुको काम बिहानै एअरपोर्ट जाने र युएई, कतार र साउदी अरबबाट नेपाल फर्किएका नेपालीहरुलाई भेटी उनीहरुको कागजात लिने र उनीहरुकै नाममा भुक्तानी रसिद बनाउने गरिएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको कागजातको फोटो खिच्ने र प्रतिव्यक्ति पैतीस हजार उपलब्ध गराइएको फर्जी बिल बनाउने गरिएको पनि उनको दावी  छ ।

मध्यपूर्व संयोजक प्रवीण गुरुङले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको मिलेमतोमा स्वदेश फर्किने नेपालीहरुको नाममा आर्थिक चलखेल हुने गरेको कुरा संघको नामसँग जोडिएर सुन्नमा आउनु निकै निन्दनीय छ ।

उनले यसबारे तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न अध्यक्ष पन्तको ध्यानाकर्षण गराएका छन् ।

गुरुङले यसबारेमा आफूसहित यस क्षेत्रमा रहेका मध्यपूर्व उपसंयोजक मनोज कुमार श्रेष्ठ गोरखाली, मध्यपूर्व यूवा संयोजक राज रेग्मी, मध्यपूर्व महिला संयोजक सुमित्रा देवी पौडेल लगायतका पदाधिकारीहरूलाई अनियमिततााबारे जानकारी नभएको भन्दै समस्यामा परेका व्यक्तिहरुको विवरण संकलन तथा प्रोजेक्ट निर्माणका विषयमा समेत आफूहरुसँग कुनै परामर्शसमेत नगरिएको स्पष्ट पारेका छन् ।

त्यसैगरी उपसंयोजक गोरखालीले पनि विज्ञप्ति जारी गर्दै भनेका छन, “यस सम्बन्धी कुनै पनि कमिटीमा म आफू नरहेको र गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषदको तर्फबाट आइएलओको कुनै पनि पदीय जिम्मावारीमा पनि म आफू नरहेको जानकारी गराउन चाहन्छु।”

गोरखालीले संघको कुनै पनि आर्थिक अनियमिता, अपारदर्शी र भ्रष्टाचार जस्तो गंभीर आरोप लागेको राष्ट्रिय समन्वय परिषदहरुमा निष्पक्ष ढंगले छानबिन गरी दोषीउपर कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । उनले यसबारेमा अध्यक्ष कुमार पन्तको ध्यानाकर्षण गराएका छन् ।

कोषको दुरुपयोगका बारेमा यसअघि पनि पटक पटक आवाज उठेको थियो । यस विषयमा संघका प्रवक्ता डि बि क्षेत्रीले जिएनएन प्रतिनिधि संघ संछिप्त कुराकानी गर्ने क्रममा पछिल्लो समयमा आएका यस्ता विषयहरू निकै घम्भिर रहेको टिप्पणी गर्दै भने, “संघले यस विषयमा अध्ययन र छलफल अगाडी बढाएको छ, हामीले छिट्टै छानबिन समिति गठन गरी दोषीलाई संगठनात्मक कारवाही मात्र नभई, कानुनी कारबाही समेत गर्ने तयारी गरिरहेका छौं।” तर, यस विषयमा संघका अध्यक्ष पन्त र उपाध्यक्ष केसीले यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

 


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस