Techie IT
×
गृहपृष्ठग्लोबलसीमा अतिक्रमणका विरुद्ध विश्वभरका नेपाली जनसम्पर्क समितिहरुको साझा विज्ञप्ति

सीमा अतिक्रमणका विरुद्ध विश्वभरका नेपाली जनसम्पर्क समितिहरुको साझा विज्ञप्ति


काठमाडौं – भारतले नेपाली भूमि लिपुलेकमा सीमा अतिक्रमण गरेको विरुद्धमा नेपालि काँग्रेसमा आस्था राख्ने विश्वभरका जनसम्पर्क समितिहरुले एक संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका छन्। भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको प्रति आपत्ति जनाउँदै समितिहरुले सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको हस्तक्षेप भएको छ त्यसको घोर निन्दा र भर्त्सना गरेका छन्।

विज्ञप्तिमा सीमा अतिक्रमणका विषयमा नेपाल सरकारले तत्काल कुटनीतिक वार्ता र छलफल गरी पहल गर्नुपर्नेमा विज्ञप्ति मात्र जारी गर्नुले समस्याको समाधान नहुने तथ्यतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउदै जिम्मेवार ढंगले यो विषयको समाधान खोज्न अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “विश्वका जुनसुकै कुनामा बसेपनि मूलत: हामी नेपाली हौँ र नेपाल भूमि हाम्रो आत्मा हो । नेपाली भूमिमाथि हुने जुनकुनै अतिक्रमण पनि हाम्रो आत्मामाथि प्रहार हो । हामी हाम्रो आत्माको रक्षाका लागि देश विदेशमा रहनु भएका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अपील गर्दछौं ।”

विश्वभरका ३४ वटा समितिले एकेबद्दता जानेको विज्ञप्तिमा एक स्वाधीन र सार्वभौम राष्ट्रका लागि आफ्नो सीमामाथि बलमिच्याई भैरहँदा टुलुटुलु हेरेर बस्न सकिदैन भन्दै ऐतिहासिक दस्तावेज, सन्धी र प्रमाणहरुका आधारमा पनि लिपुलेक नेपाली भूमि हो भन्ने प्रष्ट भएको अबगत गराइएको छ। सरकारको लाचारी पन प्रति कडा आलोचना गर्दै विज्ञप्तिमा अगाडी थपिएको छ, “अहिले जेजसरी सीमा मिच्ने र सार्वभौम राष्ट्रको हाम्रो भूगोलमा हस्तक्षेप गर्ने काम भएको छ यसको हामी राष्ट्र, राष्ट्रियता र लोकतन्त्र पक्षधर नेपाली जनसम्पर्क समितिका सबै सदस्यको तर्फबाट घोर निन्दा र भर्त्सना गर्दछौं ।”

समितिहरुले सीमाको विषय अति संवेदनशील रहेको बताउँदै यो विषयमा कुटनीतिक र राजनीतिक नेतृत्व तहमा तत्काल कुराकानी गर्नु नेपाल सरकारको प्रमूख दायित्व हुने बताएका छन्। समितिहरुले राष्ट्रवादको चर्को नारा लगाएर सत्ताको कुर्सीमा विराजमान वर्तमान कम्युनिष्ट सरकारको असली राष्ट्रवादको अनुहार यतिबेला उदाङ्गो भएको छ भन्दै सरकारको निकम्मापन यो बेला अझ बढी देखिएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा सरकारको यस्तो निकम्मापनबाट वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनीतिक अधिकार गुमाउँदै गएको थप पुष्टी भएको बताउँदै देशको सीमामाथि यसरी नाङ्गो हस्तक्षेप र आक्रमण हुँदा समेत बोल्न नसक्ने सरकार पक्षका नेता कार्यकर्ता प्रतिसमेत गहिरो  खेद व्यक्त गरिएको छ । नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न तत्काल अग्रसरता लिनुपर्दछ भन्दै पुन: एकपटक सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं भन्दै विज्ञप्तिमा अगाडी थपिएको छ, “नेपाली भूमिमाथिको यो हस्तक्षेप र आक्रमणका विरुद्ध सबैले विरोध गरौँ । हामी हाम्रो मातृभूमि नेपालको एक इन्च भूमि पनि कसैले मिच्न पाइनेछैन भन्नेमा खबरदारी गर्न चाहन्छौं ।”

विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुको तर्फबाट कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं अमेरिकाका सभापति आनन्द विष्ट, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं भारतका सभापति भारतबालकृष्ण पाण्डे, कतारका कार्यवाहक सभापति शंकर न्यौपाने, मकाउका सभापति लेखबहादुर गुरुङ, बहराइनका सभापति पदमसुन्दर गुरुङ, ईजरायलका सभापति खगेश्वर अधिकारी र जर्मनीका सभापति शिखर खड्काले एकेबद्दता जनाएका छन्

त्यस्तै विज्ञप्तिमा एकेबद्दता जनाउने नेपाली जनसम्पर्क समितिका सभापतिहरूमा साईप्रसकी सभापति सीता अर्याल, पोल्यान्डकी सभापति डा. एलिनी सुबेदी, आयरल्याण्डका सभापति शुक्रराज न्यौपाने, बेल्जियमकी सभापति सीता सापकोटा, दक्षिण कोरियाकी सभापति आस्था बिन्दु मल्ल, पोर्चुगलका सभापति बिनोद घिमिरे, स्पेनका सभापति ईन्द्र शर्मा, हंगकंगका सभापति मीन गुरुङ, बेलायतका सभापति युवराज गुरुङ, क्यानडाका सभापति बुद्धिप्रकाश ओली र नेदरल्याण्डका सभापति प्रेमजंग गुरुङ रहेका छन्

सिमा अतिक्रमण र सरकारको निकम्मापनको कडा आलोचना गर्दै विश्वभरका नेपाली जनसम्पर्क समितिको विज्ञप्तिमा एकेबद्दता जनाउनेहरुमा फ्रान्सका सभापति सुधीर राना, नर्वेका सभापति जितेन्द्र शाही, मलेसियाका सभापति चोलाकान्त पंगेनी, ओमनका कार्यवाहक सभापति शालिक चापागाई, युएईका सभापति भुवानीप्रसाद तिमल्सिना, कुवेतका सभापति राजेन्द्र रसाइली बिरही, जापानका सभापति रोशन केसी, लक्जेम्बर्गका सभापति बालकृष्ण सापकोटा, न्यूजिल्याण्ड सभापति बुद्धिसागर घिमिरे,  साउदी अरेबियाका सभापति दिपक रेग्मी, स्वीडेनका सभापति नबिन थपलिया, स्वीटजरल्याण्डका सभापति श्याम सापकोटा, अष्ट्रेलियाका सभापति कृष्ण गिरी,  डेनमार्कका सभापति वीरेन्द्रसिंह कार्की, चीनका सभापति राजनकुमार जमरकटेल र माल्टाका सभापति सन्देश केसी रहेका छन्।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस