Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फदूतावासको आयोजनामा सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

दूतावासको आयोजनामा सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न


दोहा- नेपाली राजदूतावास दोहाको आयोजनामा गत शुक्रबार कतारमा कार्यरत नेपाली नागरिकहरुका लागि दूतावास भवनमा एक सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन भएको छ ।

श्रम सहचारी नरेन्द्रराज ज्ञवालीको स्वागत मन्तव्यबाट शुरुवात भएको कार्यक्रममा कतारमा रहेका विभिन्न कम्पनीमा कार्यरत नेपालीहरूकाे उपस्थिति रहेको उक्त कार्यक्रममा कतारमा वैदेशिक रोजगारीका सिलसिलामा गर्न हुने र गर्न नहुने कामहरु, कतारको कानून र राजदूतावासले दिने श्रमसँग जोडिएर आउने सेवा र सुविधा तथा राहदानी तथा कन्सुलर सेवाका बारेमा विस्तृत जानकारी गराईएको थियो ।

कतारमा बैदेशिक रोजगारीको सिलसिलामा रहेका नेपाली नागरिकहरुले कतारको विद्यमान कानून, धर्म, परम्परा र संस्कृति तथा रोजगारदाता कम्पनीसँग भएको करारनामाका प्रावधानहरुको बारेमा आवश्यक जानकारी नहुँदा विभिन्न प्रकारका गल्ति र कमजोरी हुन गई विविध समस्या, दुर्घटना तथा कानूनी जटिलतामा पर्ने गरेको पाइएको छ।  यसै सन्दर्भमा त्यस्ता समस्याहरू आउनै नदिन वा कुनै कारणवश त्यस प्रकारका समस्या आएमा के कसरी समाधान गर्ने भनेर नेपाली राजदूतावास, दोहाले समय समयमा सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नारद नाथ भारद्वाजले उपस्थित सबैलाई श्रमिकका हक हितका लागि राजदूतावासले चालेका पहलकदमीहरुको बारेमा जानकारी गराएका थिए । कतार सरकारका उच्च अधिकारीहरुसँगको भेटमा उनले नेपाली नागरिकहरू उच्च प्रंशसा र कदरका पात्र रहेका र कतारको निर्माण र विकासमा महत्वपूर्ण योगदान पुर्याएको  बताएकाे व्यहोरा सबैलाई जानकारी गराएका थिए ।

सम्बोधनका क्रममा राजदूत डा. भारद्वाजले कतार अब बिकास निर्माणको अन्तिम चरणमा रहेको र सन् २०२२ को विश्वकप फ़ुटबल पछि रोजगारीका अवसरहरू उन्नत प्रकृतिका हुन सक्ने र त्यसका लागि आजै देखि सीपमूलक तालिममा जाेड दिनुपर्ने बताए । राजदूत डा. भारद्वाजले  भने, ‘बैदेशिक रोजगारीमा रहनु भएका नेपालीहरूले रगत र पसिना बगाएर पठाउनु भएको रिमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको र लामो समयसम्म वा सधैको लागि बैदेशिक रोजगारीमा रहन नसकिने हुँदा अब नेपाल सरकारले लिएको “सुखी नेपाली र समृद्ध नेपाल” को नितिलाई मूर्तरूप दिन नेपाल फर्कने योजना समेत बनाउनु पर्ने हुन्छ।’ उनले थपे ‘त्यसका लागि आवश्यकताहरूलाई सिमितिकरण गरेर कम ख़र्च गरी बचत गर्ने बानी बसाल्न आवश्यक छ।’ साथै उनले सम्बोधन कै क्रममा विदाको दिनमा समेत राजदूतावासको निमन्त्रणालाई स्वीकार गरी सहभागी हुने सबैलाई धन्यवाद पनि दिएका थिए  ।

कार्यक्रममा श्रम सम्बन्धि विषयहरू तथा कतारमा नेपाली कामदारले भोग्नु परेका विभिन्न प्रकारका समस्याहरु र त्यस प्रकारका समस्या आउँन नदिने सचेतनाका उपायहरुका बारेमा श्रम सहचारी नरेन्द्रराज ज्ञवाली, राहदानी ट्राभल डकुमेन्ट तथा व्यक्तिगत माग प्रमाणिकरण बारेमा द्वितीय सचिव ऋचा भट्टराई तथा विभिन्न प्रकारका कन्सुलर सम्बन्धी विषयमा द्वितीय सचिव भुवन प्रसाद भट्ट लगाएतले आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रममा कतार भ्रमणमा रहेका एसेस अड्भैजरिका नेपाल कन्ट्री म्यानेजर अभय सिंहले रिमिट्यान्सले मानिसको जीविकोपार्जनमा पुर्याउन सक्ने प्रभाव, आफ्नै नाममा खाता खोली बचत गर्दा हुने फाईदा र नेपाल फर्के पछि आफूले कुनै व्यवसाय गर्न चाहेमा आफ्नै खाता भएको वित्तीय संस्थाबाट प्राप्त हुने ऋण आदिको बारेमा आफ्नाे प्रस्तुती राखेका थिए ।

कार्यक्रममा उपस्थित सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो भने सहभागीहरु मध्येबाट कार्यक्रमको उपादेयताको बारेमा कतार ईन्जिनियरिंग कम्पनीका कुमार बस्नेतले बोलेका थिए।

यस प्रकारका कार्यक्रमको मूल उदेश्य नेपाली नागरिकहरुको कतार बसाई सहज र सुरक्षित बनाउन चाल्नु पर्ने आवश्यक कदमहरुको बारेमा जानकारी गराउनु हो । राजदूतावासले गत मे र जुलाई महिनामा पनि यसै प्रकारको सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमको समापन पश्चात सबै सहभागीको लागि रात्री भोजको व्यवस्था मिलाईएको थियो भने कार्यक्रमको सहजीकरण द्वितीय सचिव  प्रवीण भट्टराईले गरेका थिए ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस