Techie IT
×
गृहपृष्ठआर्थिकनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न

नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न

श्रमिकबाट व्यवसायी बनेका नेपालीहरूको यात्रा, एकता र सामूहिक लगानीतर्फको स्पष्ट सन्देश


दोहा। – कतारमा क्रियाशील नेपाली व्यवसायीहरूको साझा संस्था नेपाल व्यवसायी सङ्घ कतार एलएलसी (जी) को २०२४–२०२८ कार्यकालअन्तर्गत दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन कार्यक्रम शनिवार साँझ दोहास्थित एक होटलमा भव्य रूपमा सम्पन्न भएको छ। कतारमा रहेका नेपाली व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा व्यवसाय, लगानी, एकता, सामूहिक पहल र भविष्यका सम्भावनाका विषयमा गहिरो छलफल गरिएको थियो।

कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै कतारस्थित नेपाली राजदूतावासका मिनिस्ट्री काउन्सिलर तथा कार्यवाहक राजदूत कुमार राई ले कतारमा श्रमिकका रूपमा आएर आफ्नो पौरख, अनुशासन र निरन्तर संघर्षका माध्यमबाट सफल व्यवसायी, रोजगारदाता तथा लगानीकर्ताको रूपमा स्थापित नेपालीहरू सम्पूर्ण नेपाली समुदायका लागि प्रेरणाको स्रोत भएको बताए।

उनले कतारमा रहेका नेपाली व्यवसायीहरूले केवल व्यक्तिगत सफलता मात्र नभई रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार र नेपाल–कतार सम्बन्ध मजबुत बनाउन उल्लेख्य योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।

राजदूत राईले नेपालमा बाढी, भूकम्पजस्ता राष्ट्रिय विपत्ति तथा आपतकालीन अवस्थाहरू आइपर्दा कतारमा रहेका नेपाली व्यवसायीहरूले निष्कलंक भावनाका साथ जन्मभूमिलाई सहयोग गर्दै आएको स्मरण गर्दै त्यसप्रति नेपाल सरकार सधैं कृतज्ञ रहेको बताए।

उनले वर्तमान समय आर्थिक समृद्धि र लगानी विस्तारको युग भएको उल्लेख गर्दै नेपाल सरकारले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेको जानकारी दिए। नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार तथा सेवा क्षेत्र लगानीका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउँदै कतारमा रहेका नेपाली व्यवसायीहरूलाई सामूहिक र संस्थागत लगानीतर्फ अघि बढ्न आग्रह गरे। दूतावास व्यवसायीहरूसँग समन्वय गर्दै दीर्घकालीन आर्थिक सहकार्यमा प्रतिबद्ध रहेको उनको भनाइ थियो।

कार्यक्रममा औपचारिक रूपमा विमोचन गरिएको स्मारिका “सङ्घर्षबाट समृद्धितर्फ (२०२६)” लाई संकेत गर्दै राईले कतारमा नेपाली व्यवसायीहरूबीच व्यवसायको स्वरूप, क्षेत्र र सोचमा आएको विविधता सकारात्मक संकेत भएको बताए। उनले व्यक्तिगत भन्दा सामूहिक सोच, अस्वस्थ प्रतिस्पर्धाको सट्टा सहकार्य र दीर्घकालीन योजनाबाट मात्र आर्थिक रूपान्तरण सम्भव हुने धारणा व्यक्त गरे।

कार्यक्रमका सभाध्यक्ष तथा सङ्घका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईं ले स्मारिकामा कतारमा रहेका नेपाली व्यवसायीहरूको संघर्षका कथा, असफलताबाट सिकेका पाठ र सफलताका अनुभव समेटिएको बताए।

सङ्घ स्थापना कालदेखि हालसम्मका गतिविधि स्मारिकामार्फत दस्तावेजका रूपमा सुरक्षित भएको उल्लेख गर्दै उनले आगामी संस्करणमा यसपटक छुटेका व्यवसायीहरूलाई समेत समेट्दै अझ समावेशी र प्रतिनिधिमूलक बनाइने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष चम्लागाईंले नेपाल व्यवसायी सङ्घ कुनै व्यक्ति वा सीमित समूहको संस्था नभई कतारमा रहेका सम्पूर्ण नेपाली व्यवसायीहरूको साझा मञ्च भएको स्पष्ट पारे। व्यवसायीहरूबीच देखिँदै आएको अस्वस्थ प्रतिस्पर्धा हटाई एकता, सद्भाव र विश्वासको वातावरण निर्माण गर्नु सङ्घको मुख्य उद्देश्य रहेको बताउँदै उनले सामूहिक लगानी, होल्डिङ कम्पनी स्थापना तथा विभिन्न देश र क्षेत्रमा संयुक्त लगानीमार्फत व्यवसायिक क्षमता विस्तार गर्ने दीर्घकालीन योजना अघि सारिएको जानकारी दिए।

संस्थालाई थप प्रभावकारी, मजबुत र दिगो बनाउन सबै व्यवसायीहरूको सक्रिय सहभागिता, सुझाव र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

सङ्घको पहिलो वार्षिक साधारण सभाबाट गठित लगानी प्रवर्द्धन उपसमिति का संयोजक तथा उपाध्यक्ष राज रेग्मी ले समितिको एक वर्षे कार्यप्रगति विवरण प्रस्तुत गर्दै नेपालमा लगानी भित्र्याउने उद्देश्यले दर्ता प्रक्रियामा रहेको “एनबीक्यु इन्भेस्टमेन्ट कम्पनी प्रा.लि.” को प्रबन्धपत्र सभामा साझा गरे। उक्त कम्पनीमार्फत संस्थागत र सुरक्षित लगानीको आधार तयार गर्न खोजिएको जानकारी दिइयो।

कार्यक्रममा आफ्नो धारणा राख्दै सङ्घका उपाध्यक्ष तथा कतारका लागि नेपाल सरकारका पर्यटन राजदूत राजेन्द्र कुमार (आरके) शर्मा ले व्यवसायमा उतारचढाव स्वाभाविक प्रक्रिया भएको बताउँदै कुनै पनि व्यक्ति यदि १० वर्षसम्म व्यवसायमा टिक्न सक्यो भने त्यसले उसमा व्यावसायिक क्षमता, धैर्यता र नेतृत्व रहेको प्रमाणित हुने बताए।

उनले कतारमा पनि नेपाली व्यवसायीहरूको साझा होल्डिङ कम्पनी स्थापना आवश्यक रहेको औंल्याउँदै नेपालमा कम्पनी खोल्दा इक्विटी र भेन्चर लगानीमा स्पष्टता र पारदर्शिता आवश्यक रहेको सुझाव दिए।

सङ्घका संरक्षक बद्री प्रसाद पाण्डे ले बजार सधैं परिवर्तनशील हुने भएकाले व्यवसायमा लाग्नु अघि गहिरो बजार अध्ययन आवश्यक रहेको बताए। अनुभव नभएको क्षेत्रमा लगानी गर्दा जोखिम उच्च हुने भएकाले नयाँ तथा समस्यामा परेका व्यवसायीहरूलाई सङ्घमार्फत आवश्यक परामर्श, तालिम र स्कुलिङ प्रदान गर्नुपर्नेमा उनले जोड दिए।

सङ्घका सल्लाहकार सागर नेपाल ले स्मारिकालाई व्यवसायीहरूको इतिहास, संघर्ष र प्रेरणाको महत्वपूर्ण दस्तावेजको रूपमा व्याख्या गरे।
कोषाध्यक्ष चूडामणि कार्की ले आय–व्यय विवरण प्रस्तुत गरे भने महासचिव शङ्कर प्रसाद न्यौपाने ले एक वर्षको कार्यप्रगति विवरण सभासमक्ष पेस गरेका थिए। कार्यक्रमको सहजीकरण न्यौपाने र सचिव राजेन्द्र देवकोटा ले गरेका थिए।

कार्यक्रममार्फत नेपाली नियोगका प्रथम सचिव अमर राई, श्रम सहचारी प्रेम पोखरेल, तृतीय सचिव रोजिना ढकाल र सहचारी सोभाखर बराल लाई औपचारिक रूपमा स्वागत गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले कतारमा नेपाली विद्यालय स्थापना गर्न दूतावासले पहल गर्नुपर्ने विषयमा समेत सुझाव दिएका थिए।

उपाध्यक्ष नरेन्द्र भाट ले स्वागत मन्तव्य राख्दै सङ्घ स्थापना गर्नु पर्ने आवश्यकता, उद्देश्य र उपलब्धिहरूको चर्चा गरेका थिए।

कार्यक्रम शनिवार साँझ दोहास्थित एक होटलमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।


के छ स्मारिकामा ?

सङ्घ स्थापना कालदेखि हालसम्मका सम्पूर्ण गतिविधि समेटिएको “सङ्घर्षबाट समृद्धितर्फ” पुस्तकमा कतारमा नेपाली व्यवसायीहरूले बगाएको पसिना, भोगेको संघर्ष र प्राप्त गरेको सफलताको प्रेरणादायी कथा समेटिएको छ।

नेपालका विभिन्न जिल्लाबाट श्रमिकका रूपमा कतार आएर आफूलाई व्यवसायीका रूपमा स्थापित गरेका ६७ जना व्यवसायीहरूको व्यावसायिक गाथा पुस्तकमा समावेश गरिएको छ। १६० भन्दा बढी पृष्ठ रहेको स्मारिकामा सङ्घका ऐतिहासिक तस्बिरहरू, विभिन्न शुभकामना सन्देशहरू र संस्थागत उपलब्धिहरू समेटिएका छन्।

स्मारिकालाई रोजगार मिडिया प्रा.लि. का प्रबन्ध निर्देशक उद्धव भट्टराई ले सम्पादन तथा संयोजन गर्दै अन्तिम रूप दिएका हुन्।


क्याटेगोरी : आर्थिक, ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #कतार, #कतार विशेष

तपाईको प्रतिक्रिया दिनुहोस