Techie IT
×
गृहपृष्ठग्लोबलमंगल ग्रहमा अब गाँजा र टमाटर खेती शुरु

मंगल ग्रहमा अब गाँजा र टमाटर खेती शुरु


आलुको बोटमा टमाटर फलेको सुन्दा वा देख्दा हामीलाई नौलो नलाग्ला। तर टमाटरको बोटमा गाँजा हुर्केको सुन्दा पक्कै अचम्मै लाग्ला ।

टमाटर हुर्किँदै जाने क्रममा बोटबाट गाँजाको बासना आउने र पातहरू गाँजाकै जस्ता भएको देख्दा जो कोही तीन छक खान्छ। सन् २०१५ मा आयरल्यान्डको अनलाइन पत्रिका ‘आइरिस टाइम्स’ले यस्तै खबर निकाल्यो- टमाटर रोपेको, गाँजा फल्न थाल्यो।

गाँजा खेती गर्न कानुनी रूपमा अनिवार्य ‘लाइसेन्स’ हुनुपर्ने अवस्थामा ‘टमाटरमा गाँजा फलाएका’ किसानमाथि मुद्दा लाग्यो। सुनुवाइ क्रममा न्यायाधीश ओ’कनरले भनेका थिए, ‘यो हाम्रो लागि पनि अनौठो र चमत्कारको विषय हो।’

गाँजा खेतीका लागि चाहिने उपकरणहरू (मलजल लगायत) कानुनी रूपमै बिक्री हुन्छन्। प्रायः यी उपकरण टमाटरका बिरूवामा पनि प्रयोग गरिन्छन्। यसले टमाटर राता र सग्ला हुन मद्दत गर्छ। त्यो बेला टमाटर खेती गर्ने ती किसानलाई ‘कसरी टमाटरमा गाँजा फल्यो’ भनेर सोध्दा ‘पवित्र जलको करामत’ भन्ने जवाफ दिएका थिए। पछि ती किसानलाई कानुनी दायरामा ल्याइएको थियो।

तर यो घटनाले एउटा कुरा प्रस्ट्यायो- टमाटर खेती हुन सक्ने क्षेत्रमा गाँजा पनि सहजै खेती हुनसक्छ।

२०१५ को उक्त समाचारपछि अनुसन्धान्ताहरू अध्ययनमा लागे जसको उद्देश्य पृथ्वीमा गाँजा फलाउन थिएन। वैज्ञानिकहरूले मंगल ग्रहमा मानव जाति तथा अन्य जीवजन्तुका लागि बसोबासको स्थिति बुझ्दै जाने क्रममा त्यहाँ टमाटर उब्जाउ हुन सक्ने सम्भावना लगभग पुष्टि गरिसकेका थिए। उक्त घटनाले उनीहरूलाई मंगल ग्रहमै गाँजा फलाउन सक्ने सम्भाव्यता दियो।

यसअघि मंगलमा मूला, रायो, हरियो मटर, चाइभ्सजस्ता सागसब्जी उब्जन सक्ने कुरा पत्ता लागेको थियो। नासाले मंगल र चन्द्रमामा पाइने जस्तै माटो बनाएको थियो। यसरी बनाइएको माटोलाई अनुसन्धान टोलीले जैविक पदार्थहरूसँग मिसाए र पछि टमाटर खेतीमा प्रयोग गरे। माटोमा टमाटर हुर्किएर राता फल लागेको देख्दा वैज्ञानिकहरू उत्साहित भएका थिए।

मंगलमा हरियो खेती हुनसक्ने सम्भावनासँगै अध्ययनका प्रमुख डा. वेइगर वामेलिंकले भनेका छन्, ‘पहिलो पटक मंगल ग्रहको जस्तै माटोमा रातो हुँदै पाकेका टमाटर देख्दा हामी दंग परेका थियौं। मंगल ग्रह र चन्द्रमामा मानवबस्ती हुनु बढी यथार्थपरक हुँदै गइरहेको छ। यसको मतलब अब हामी कृषि क्षेत्रमा दिगो विकासतर्फ एक सफल खुड्किलो पार गर्दै आएका हौं भन्ने पनि हो।’

उनीहरूको अध्ययनअनुसार ‘रातो ग्रह’ भनेर चिनिने मंगल ग्रह, ‘हरियो ग्रह’ हुन धेरै समय लाग्दैन। उता वागेनिन्जेन विश्वविद्यालय र नेदरल्यान्ड्सका अनुसन्धाताहरूले मंगल ग्रहको माटोमा व्यवस्थित ढंगबाट गाँजा उब्जाउन सफल हुनसक्ने सम्भावना देखाएसँगै वैज्ञानिकहरू मंगलमा मानवबस्ती सम्भव हुन सक्नेमा थप विश्वस्त भएका छन्।

वामेलिंकका अनुसार थुप्रै देश र निजी कम्पनीहरूले मंगल यात्राको तयारी गर्दै आइरहेका छन्। तर अन्य ग्रहमा मानवबस्तीका लागि खाद्यान्न उपलब्धि र सुरक्षा सुनिश्चित हुँदैन।

यो समस्या सुल्झाउन मंगल वा चन्द्रमामा नै खाद्यान्न उत्पादन गर्न सक्षम हुनुपर्ने वामेलिंक जोड दिन्छन्। यसबारे ध्यान नदिने हो भने पृथ्वीबाट नै खाद्यान्न माग पूरा गर्नसक्ने हुनुपर्ने भन्दै उनले भने, ‘स्थायी बसोबासका लागि उतै बाली उत्पादन गर्न सक्षम हुनुपर्छ, नभए सम्पूर्ण खाद्यान्न पृथ्वीबाटै पूरा गर्नुपर्ने हुनसक्छ।’

वैज्ञानिकहरूले यसरी मंगल ग्रहको माटोमा टमाटर उब्जाउन सफल भए पनि गाँजा खेतीमा भने जोड दिएका छैनन्।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस