Techie IT
×
गृहपृष्ठग्लोबलगल्फमदिराको बिलको विरोध गर्दा बन्दना शर्मामाथि कारबाही, केसीको भ्रष्टाचारविरुद्ध बोल्नेमाथि कारबाहीको डण्डा

मदिराको बिलको विरोध गर्दा बन्दना शर्मामाथि कारबाही, केसीको भ्रष्टाचारविरुद्ध बोल्नेमाथि कारबाहीको डण्डा


काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) मा भएको भ्रष्टाचार र बेथितिको विषयमा आवाज उठाउँदा एक कर्मचारीमाथि कारबाहीको डण्डा चलाइएको छ । बद्री केसीको निर्देशनमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र कुमार राउतले गर्दै आएको मनपरीविरुद्ध आवाज उठाउँदा सहायक निर्देशक बन्दना शर्मा कारबाहीमा परेकी हुन् । एनआरएनएको ११ औँ महाधिवेशनमा भएको विवादपछि दुई समूहमा अभियन्ताहरु विभाजित भएकै बेला शर्माले संघभित्र विद्यमान तरल अवस्थामा सुझबुझपूर्ण निर्णय लिएर अघि बढ्नुपर्ने तथा आर्थिक पारदर्शीतामा समेत जोड दिएकी थिइन् । यस्तै केसी समूहले मदिराको बिलदेखि अनेक आर्थिक सवालमा अतैनिकत दवाव सिर्जना सीईओमार्फत गराएपछि उनले यसविरुद्ध लेखेको पत्र सार्वजनिक भएको थियो । शर्माले चन्द्रागिरी बैठकका क्रममा खाइएको १ लाख भन्दा बढीको मदिराको बिलमा हस्ताक्षर गर्न अस्वीकार गरेकी थिइन् ।

यस विषयमा गम्भीर बन्दै गल्ती सच्याउनुपर्नेमा केसी पक्षले आकिस्मक बैठक राखेर शर्मालाई निलम्बन गर्नेसम्मको हर्कत गरेको हो । शर्माले वर्तमान संस्थागत तरलताको फाइदा उठाउने मनसायले सचिवालयको इमेल प्रयोग गरी पदीय जिम्मेवारी र मर्यादा भन्दा बाहिर गई संस्थाको गोपनीयतामा समेत ख्याल नगरेको निष्कर्ष निकालेको प्रवक्ता फणीन्द्र पन्तले दाबी गरे । उनका अनुसार यही विषयमा छलफल गर्न केसी समूहको आईसीसी अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको भर्चुअल बैठक बसेको थियो । ‘केन्द्रिय सचिवालयका प्रशासनिक कर्मचारीले सोही मुताबिक अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयबाट निर्देशित काम गर्नुपर्ने भएकाले प्रमुख कार्यकारी अधिकृत ९सिइओ० लाई सहायक निर्देशकले लगाउनु भएको नीतिगत सैद्दान्तिक मतभेदको आरोपपनि असान्दर्भिक छ र बैठकले संघको केन्द्रीय कार्यालयमा कार्यरत अन्य कर्मचारीलाई उच्च मनोबल सहित संघको कर्मचारी नियमावली, आर्थिक नियमावली र प्रचलित कानूनको अधिनमा रहि कार्य सम्पादन गर्न समेत अनुरोध गर्दछ’, केसी पक्षले भनेको छ।

केसी पक्षले विश्वभर हुने विभिन्न साना ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा ककटेल डिनरको आयोजना गर्ने प्रचलन अनुरुप संघले समेत स्थापनाकालदेखि संघको विश्व सम्मेलनमा डिनर आयोजना गरिदै आएको दाबी गरेको छ । ‘यस्ता डिनरमा संस्थाको पैसा खर्च नगरी कार्यक्रम प्रायोजकको खर्चमा आयोजना गरिने गरिएको छ । त्यसैले शर्माले इमेल मार्फत लगाउनु भएको आरोपमा सत्यता छैन’, केसी पक्षको भनाइ छ ।

त्यसैगरी शर्माले इमेल मार्फत भूकम्प पीडितको लागि राहत वितरण गर्न जाजरकोट र रुकुम पश्चिम जाँदा संस्थाको रकम खर्च भएको भन्ने भ्रामक सन्देश दिएर संस्थाको साख गिराउने काम गरेको पनि केसी पक्षले आरोप लगाएको छ । यस्तै संघको गत अक्टोवरमा सम्पन्न ११ औं महाधिवेशन तथा विश्व सम्मेलनमा संघले ५ करोड २९ लाख २१ हजार ३७७ रुपिया ५६ पैसा ९ उम्मेद्वार दर्ता शुल्क, सहभागी दर्ता शुल्क, स्पोन्सरहरुको सहयोगमा सम्पूर्ण खर्च कटाएर २ करोड ६६ लाख २४ हजार ६८३ रुपिया ९० पैसा आम्दानी गरेको पनि केसी पक्षले बताएको छ ।

‘गैरआवासीय नेपाली संघका आम सदस्यहरु तथा संस्थाको सबै कर्मचारीले चाहेको समयमा संस्थाका अध्यक्ष, महासचिव लगायत सबै पदाधिकारीहरुसंग प्रत्यक्ष सम्पर्क र संवादको वातावरण सधै खुल्ला रहेपनि शर्माले गैरआवासीय नेपाली संघको इमेल डेटाबेस दुरुपयोग गरि संघको कर्मचारी प्रशासन नियमावली विपरित आफ्नो असान्दर्भिक व्यक्तिगत असन्तुष्टि सार्वजनिक गर्दै संघको साख गिराएको र संघको संवेदनशिल विषयहरुमा आमसदस्यहरु, दाताहरूप्रति अपमान गरेको ठहर गर्दै उहाँको कार्यभारलाई कर्मचारी नियामावली अनुसार व्यवस्थापन गर्ने निर्णय गरेको छ’, केसी पक्षले भनेको छ । केसी पक्षको यो निर्णयको आरके शर्मा पक्षले विरोध गरेको छ । संस्थाको कोषको दुरुपयोग केसी पक्षबाट भएको आरोप लगाउँदै आएको शर्मा पक्षले यस प्रकरणले उनीहरुको नियत थप प्रष्ट भएको जनाएको छ ।

यसअघि शर्माले संघको कोषलाई चुस्त र पारदर्शी बनाउन जोड दिँदै केसी र महासचिव गौरीराज जोशीलगायतलाई इमेल पठाएकी थिइन् । उनले एनआरएनए विश्वभर छरिएर रहेका ८० लाख भन्दा बढी नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन अवसर प्रदान गर्ने एक मात्र साझा परोपकारी सामाजिक संस्था भएको स्मरण गराउँदै सोही बुझाइका साथ आफूले कार्यकारी निर्देशकको भूमिका स्वीकार गरेको उल्लेख गरेकी थिइन् ।

तर, गत अक्टोबरमा होटल सोल्टीमा भएको कार्यक्रम पश्चात राउतसँग केही सैद्धान्तिक र नीतिगत बिषयलाई लिएर बैचारिक असहमति सुरु भएको उनको भनाइ छ । राउतले गल्ती स्वीकार्दै संस्थाको उद्देश्य र मर्म अनुसार कामहरू गर्ने विश्वास लिएपनि त्यसअनुरुप हुन नसकेको उनको भनाइ छ । आफू संस्थामा आवद्ध हुँदा संघको निर्वाचन र अन्य महत्त्वपूर्ण कार्यक्रमको तयारी शुरु भएपनि त्यस कार्यमा आफूलाई सहभागी नगराइएको उनले गम्भीर आरोप लगाएकी छन् । निर्वाचनमा धाँधली भएको र आफू निकटका लागि सचिवालयमा सहभागी गराएको आरके शर्मा पक्षको आरोप पुष्टि हुने गरी उनले यस्तो बताएकी हुन् ।

निर्वाचन सम्बन्धित कुरामा जान्न–बुझ्नका निमित्त प्रश्न गर्दा, फेसबूकमा सबै छ त, त्यसैबाट सबै थाहा पाइन्छ नि भन्ने जवाफ राउतले दिने गरेको उनको आरोप छ । यस्तै सुरुवाती दिनहरूमा आफूसँग सल्लाह गर्ने, सचिवालयका कर्मचारी र अन्य सरोकारवालासंगको बैठकमा सहभागी गराउने जस्ता काम भएपनि अक्टोबरको चुनावमा अनैतिक दवाव अस्वीकार गरेपछि आफूलाई भूमिकाविहीन बनाउने प्रयास भएको उनको भनाइ छ । ‘होटेल सोल्टीको कार्यक्रममा विशेषगरी मदिरामा भएको खर्च सम्बन्धमा, ट्याक्सीको बिलको बारेमा मैले उठान गरेका विषयहरू र रात्रिभोजको मदिराको बिलमा हस्तास्क्षर नगर्ने र आउँदा दिनमा कुनै पनि कार्यक्रममा मदिरा सम्बन्धितका बिलमा हस्ताक्षर नगर्ने निर्णय तपाईलाई सुनाएलगत्तै मलाई मैले गर्दै आएका कामबाट पनि अलग राख्नु भयो’, शर्माले इमेलमा भनेकी थिइन् । त्यसपछि आफूलाई संलग्न नगरी प्रशासनका अन्य कर्मचारीसँग मात्रै सरसल्लाह गरी प्रशासनिक प्रमुखको भूमिकामा रहेको आफूलाई केवल निर्णय सुनाउने काम थालिएको उनको दाबी छ ।
गाडी खरिदको विषय होस् या जाजरकोटमा राहत बाँड्न जाँदाको खर्चको बिषय होस् यसमा पनि आफ्नो असहमति नै रहेको उनको भनाइ थियो । ‘मैले सम्पूर्ण टोलीको ट्राभल कस्ट, फुड एण्ड अकोमोडेसन राहतको निम्ति प्राप्त रकमबाट चलाउन नहुने सुझाएको थिए । तपाई परीक्षणकालमा हुनुहुन्छ, अनि जे कुरामा पनि असहमति राख्दा तपाईलाई अप्ठ्यारो पर्न सक्छ, यसमा त मदिराको बिल छैन नि भनेर दवाब दिनु भयो’, उनले निर्देशकलाई आरोप लगाएकी छन् । अध्यक्ष बद्री केसी र महासचिव गौरीराज जोशीलाई यो कुरा राख्दासमेत सुनुवाइ नगरी उल्टै चेन अफ कमाण्ड ब्रेक गरेको भनेर चेतावनी दिने काम भएको उनले आरोप लगाएकी थिइन् ।

राउत अध्यक्ष र पदाधिकारीलाई सही सुझाव दिने पदमा हुँदा पनि नदिएको भन्दै त्यसमा आफ्नो आपत्ति रहेको शर्माले बताएकी थिइन् । नियतवश आफूलाई लक्षित गरिएपछि काम गर्ने वातावरण न्युन हुन थालेकाले यसको छलफल गर्न हाइयर मेनेजमेन्टसँग ३१ डिसेम्बर मै समय माग गरेपनि अहिलेसम्म समय नपाएको उनले बताएकी थिइन् । उनले यो बिबाद निरूपण नभएसम्म आफ्नो परीक्षणकालसम्बन्धी समिक्षामा भाग लिन पनि आफू असमर्थ हुने उनले स्पष्ट पारेकी थिइन् । गत अक्टोबरमा सम्पन्न निर्वाचनमा बद्री केसीले धाँधली गरेर आफ्नो पक्षमा चुनाव बनाएपछि संघभित्र तीव्र विवाद हुँदै आएको छ । बद्रीको धाँधलीकै कारण मतपरिणामलाई अस्वीकार गर्दै अध्यक्षका उम्मेदवार महेश श्रेष्ठसमेतको समर्थनमा आरके शर्मा नयाँ कार्यसमितिका अध्यक्ष बनेका छन् ।

दुई समूह एनआरएनएमा हुँदा कसैले पनि आधिकारिकता पाएका छैनन् भने बरु संघभित्रको विवाद कर्मचारीसम्म फैलिन पुगेको छ । संघको निर्वाचनमा भएको धाँधलीबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयले समिति समेत बनाएर काम गरिरहेको छ । यहीबीचमा विवाद कर्मचारीसम्म पुगेको हो भने केसी पक्षले गलत कार्यको विरोध र असन्तुष्टि व्यक्त गर्ने कर्मचारीलाई छानिछानि कारबाही गर्ने नीति लिएको एक सचिवालय सदस्यले बताए ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस