Techie IT
×
गृहपृष्ठग्लोबलगैरआवासीय नेपालीको पैसामा बद्री केसीको रजाइँ

गैरआवासीय नेपालीको पैसामा बद्री केसीको रजाइँ


काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवादका बीच एक समूहले एकलौटी ढंगले आफ्नो अभियानलाई सञ्चालन गर्दा आलोचना भएको छ । विश्वभरका गैरआवासीय नेपालीहरुको पैसामा बद्री केसी समूहले एकलौटी ढंगले कोषको दुरुपयोग गरेको भन्दै तीब्र आलोचना भएको हो । भेरोको प्रयोग गर्दै धाँधली गरेर चुनाव जितेको दावी गर्दै आएको बद्री केसी समूहले विश्वभरका गैरआवासीय नेपालीहरुको पैसा दुरुपयोग गर्दै आफूले जस लिने हिसाबले गतिविधि गरेको हो ।

सरकारले गत अक्टोबरमा भएको निर्वाचनमा धाँधली भएको विषयमा छानबिन समिति गठन गरेर कामलाई तीव्रता दिएकै बेला केसी समूहचाहिं प्रदेशहरुमा पुगेर आफ्नो अभियान गरिरहेको हो । असन्तुष्ट पक्षले संघको कोषमा रहेको रकम दुरुपयोग नगर्न तारन्तार चेतावनी दिइरहेको बेला केसी पक्षले सो रकम दुरुपयोग गरेर पुराना कार्यसमितिको कामलाई नै अहिले तत्काल नै भएजसरी अभियान चलाइरहेको हो । यतिबेला केसी समूहका अभियन्ताहरु केही दलबलसहित काठमाडौँ आएर विभिन्न प्रदेशमा पुगिरहेका छन् ।

केसी गुटका उपाध्यक्ष हेमराज शर्माले सामाजिक सञ्जालमा राखेको सार्वजनिक जानकारीअनुसार जनवरी १६ देखि २६ सम्म विभिन्न कार्यक्रम तय भएको छ । जसअनुसार दुईवर्षे कार्य योजना तर्जुमा गर्न दुईदिने कार्यशाला गोष्ठीको समेत कार्यक्रम राखिएको छ । यस्तै नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, १० अर्ब लगानी लगायतका सरोकारवाला सरकारी निकाय र मन्त्रालयमा पैरवी गर्ने भनिएपनि अहिलेसम्म सरकारी निकायले भाउ दिएको छैन् ।

बरु टोली कोशी प्रदेश, मधेश प्रदेश पुगेर त्यहाँ गतिविधि गरेको छ भने लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरणको कार्यक्रम पनि राखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट हस्तान्तरण, महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट अवलोकन, बैजनाथ बहुमुखी क्याम्पस, कञ्चनपुरमा निर्मित छात्रा शौचालय हस्तान्तरण, नेपाल क्रिकेट संघलाई टि–२० विश्वकपमा सहभागिताको आर्थिक सहयोग हस्तातरण, पोखरा म्याराथनमा सहभागिताबारे छलफल जस्ता कार्यक्रम पनि राखिएको शर्माको भनाइ छ । यसबाहेक कंगोमा मृत नेपालीको परिवारलाई एनसिसि कंगोद्वारा संकलन गरिएको सहयोग रकम हस्तान्तरण, सुदुरपश्चिम प्रदेश लगानी सम्मेलन सम्बन्धमा छलफल, महिला विभागद्वारा जाजरकोट र पश्चिम रुकुममा छात्रछात्राहरुलाई ‘न्यानो कपडा’ हस्तान्तरण तथा मानवीय र संस्थागत बिषयमा अन्य कार्यक्रम तय भएको उनको भनाइ छ ।

सोहीअनुसार बिहीबार मधेस प्रदेशमा मोबाइल बस हस्तान्तरण गरिएको छ । तर, उक्त कार्यक्रममा संघभित्रकै केही सरोकारवालालाई समेटिएको छ । मधेस प्रदेशको उक्त बसको संयोजक कोषाध्यक्ष सुनीलकुमार साह रहेका छन् । तर, उनलाई समेटिएको छैन भने अन्य कसैसँग पनि छलफल नगरी केसी गुटले मनपरी गरेको देखिन्छ । एकपक्षीय ढंगले बिहीबार स्वास्थ्यमन्त्री वीरेन्द्र कुमार सिंह, जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार शाहलगायत व्यक्तिको उपस्थितिमा रेडक्रस सोसाइटी धनुषा शाखा र जनकपुर नगरपालिकालाई मोबाइल ब्लड बस हस्तान्तरण गरिएको थियो । अघिल्लो कार्यसमितिले प्रत्येक प्रदेशमा एक मोबाइल ब्लड बस दिने लक्ष्य राखेको थियो । जसअनुसार कुल आचार्यलगायतले यसअघि सुदूरपश्चिम, वाग्मती र कोशी प्रदेशलाई एक–एक बस हस्तान्तरण गरेका थिए ।

यस्तै केसी गुटले नै कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई पनि मोबाईल ब्लड बस हस्तान्तरण गरेको थियो । स्मरणीय के छ भने झन्डै तीन महिनायता कायम गैरआवासीय नेपाली संघ (एनआरएनए) को समस्या समाधान गर्न परराष्ट्रमन्त्री एनपी साउदको पहलमा चार सदस्यीय छानबिन समिति गठन गरिएको अवस्था छ । तर, त्यसलाई बेवास्ता गर्दै केसी पक्षले मनपरी गरिरहेको छ । केसीको पक्षमा अहिले एमाले निकट र उनका केही बिजनेस पार्टनरबाहेक ठूलो संख्या बाहिर रहेको छ । उक्त समुहले उक्त बस खरिदमा खासै सहयोग नगरेको एक एनआरएनए अभियन्ताले बताए । उनले आफुहरुले संकलन गरेर पठाएको पैसाले खरिद बस आफ्नै निजी खरिद गरेर हस्तान्तरण गरेको जसरी गर्नु दुखद भएको बताए । उनले सामाजिक संजालमा बसका अगाडि उभिएर तस्विर खिचाई हाल्नेहरुले नै उक्त अभियानमा कुनै आर्थिक सहयोग नगरेको दाबी गरे ।

प्रवासमा रहेको ठूलो संख्याका गैरआवासीय नेपालीहरुबाट प्राप्त रकम नै एनआरएनएको कोषमा रहेपनि केसी पक्षले आफ्नै खल्तीको जसरी दुरुपयोग गरेका छन । यसरी रकम दुरुपयोग बढेपछि आफुहरुलाई चिन्ता लागेको एक अभियन्ताले बताए । यसअघि नै असन्तुष्ट पक्षले बैंक खाता रोक्का गर्न पत्राचार गरेपनि त्यसको समेत सुनुवाइ नभएको बताइएको छ । अहिले आफ्नै पैसा जसरी प्रचारमा हिँडेकाहरुले एक पैसा पनि खर्च नगरेर कोषकै रकम दुरुपयोग गरिरहेको बताइएको छ ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #Breakig, #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस