Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनएको ११ औँ विश्व सम्मेलन आजदेखि, विश्वभरबाट ४ हजार २२७ जना महाधिवेशन प्रतिनिधि

एनआरएनएको ११ औँ विश्व सम्मेलन आजदेखि, विश्वभरबाट ४ हजार २२७ जना महाधिवेशन प्रतिनिधि


गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन तथा महाधिवेशन मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ । एनआरएनएले सोमबार पत्रकार सम्मेलन गरेर महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

प्रवक्ता सोम सापकोटाले निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले बिहान विश्व सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी गराए । यस्तै सम्मेलनको समापन कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन् । सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित गैरआवासीय एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना हुन लागेको सापकोटाले बताए ।

सम्मेलनकै दौरानमा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ । यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने छ । पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत

अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।
संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको अध्यक्ष बद्री केसीले पत्रकार सम्मेलनमा बताए । उनले क्रमशः एनआरएनएभित्र देखिएका बेथितिहरु हटाउने प्रतिबद्धता जनाउँदै त्यसका लागि संघ इमानदार भएर लागिपर्ने बताए ।

सन् २००३ अगस्टमा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोबरमा काठमाडौँमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको थियो ।

संस्थाले विश्वभरका करिब एक लाख नेपालीलाई सङ्गठित गरी हाल विश्वका ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । पछिल्लो दुई दशकको अवधिमा विदेशमा बस्ने नेपालीमार्फत करिब एक खर्ब लगानी नेपाल भित्रिएको सङ्घको अनुमान छ । यस्तै परोपकारी कार्यमा एनआरएनएले झण्डै एक अर्ब खर्चिएको छ । आर्थिक लगानीसँँगै बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी रहेको संस्थाले जनाएको छ । यो पटक एनआरएनएले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउन लागेको छ ।

एनआरएनएको अध्यक्षमा ४ र उपाध्यक्षमा १८ जनाको उम्मेदवारी
गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय राजेन्द्र कुमार (आरके) र महेश श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् । निर्वाचन समितिका सदस्य चिरञ्जिवी ढकालले कात्तिक २ गते हुने निर्वाचन प्रयोजनका लागि असोज २५ देखि सोमबारसम्म मनोनयनको दर्ता राखिएकोमा अध्यक्ष पदमा मात्रै चार जनाको उम्मेदवारी परेको जानकारी दिए । जसअनुसार निर्वाचन समितिले सोमबार साँझ संघको निर्वाचनसम्बन्धी नियमावली, २०२१ ९संशोधन २०२३० को नियम ८९११० बमोजिम सबै पदका उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको छ ।

समितिका अनुसार उपाध्यक्ष पदमा १८ जनाको उम्मेदवारी परेको छ । जसमध्येबाट ६ जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा दुई जना, एक जना निर्वाचित हुने युवा उपाध्यक्ष पदमा पनि दुई जनाकै उम्मेदवारी परेको छ ।
यसैगरी महासचिवमा बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । एनआरएनए विधानमा महासचिव पनि एक जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी दुई जना निर्वाचित हुने उपमहासचिव पदमा ५जना, ६ जना निर्वाचित हुने सचिव पदमा १५ जना र एक जना निर्वाचित हुने महिला सचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ । यसैगरी सचिव पदमा ठाकुर ढुंगाना र सुदन थापाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पनि एकजना नै निर्वाचित हुने व्यवस्था छ । यसैगरी तीन जना सहकोषाध्यक्ष निर्वाचित हुनेमा ६ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला सहकोषााध्यक्ष एक जना निर्वाचित हुनेमा दुई जनाको ‘उम्मेदवारी परेको छ ।

यस्तै एक÷एक जना निर्वाचित हुने महिला संयोजकमा दुई, युवा संयोजकमा दुई, अमेरिकाज क्षेत्रीय संयोजकमा दुई, एसिया प्यसिफिक संयाजकमा ४, युरोप संयोजकमा ३, मध्यपूर्व संयोजकमा २ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी अफ्रिका संयोजकमा पुष्पराज भट्टराईको एकल उम्मेदवारी परेपछि सर्वसम्मत भएका छन् । यस्तै ओसिनिया क्षेत्रीय संयोजकमा पनि दिनेश पोख्रेल सर्वसम्मत भएका छन् । यसैगरी अफ्रिका क्षेत्रीय उपसंयोजकमा कसैको पनि उम्मेदवारी परेन । अमेरिकाज क्षेत्रीय उपसंयोजकमा तीन जनाको उम्मेदवारी परेको छ भने एसिया प्यासिफिक उपसंयोजकमा ५ जना, युरोप क्षेत्रीय उपसंयोजकमा ८ जनाको उम्मेदवारी परेको छ । यसैगरी मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा ६ जनाको उम्मेदवारी परेको छ । ओसिनिया क्षेत्रीय उपसंयोजकमा तीन जनाको उम्मेदवारी पर्दा अफ्रिका क्षेत्रीय महिला संयोजकमा खेसाना लिम्बुको एकल उम्मेदवारी परेसँगै सर्वसम्मत भएकी छन् । यसैगरी अमेरिकाज क्षेत्रीय महिला संयोजकमा पनि इन्दिरा त्रिपाठी सर्वसम्मत भएकी छन् । यसैगरी एसिया प्यासिफिक महिला क्षेत्रीय संयोजकमा अनिता गुरुङ लामा, मिडल इस्ट महिला क्षेत्रीय संयोजकमा लक्ष्मी गिरी, ओसिनिया महिला संयोजकमा रेनुका लामा सर्वसम्मत भएका छन् । तर, युरोप क्षेत्रीय महिला संयोजकमा भने दुई जनाको उम्मेदवारी परेको छ ।

यसैगरी क्षेत्रीय महिला उपसंयोजकतर्फ एसिया प्यासिफिकमा इन्दिरा तिवारी, युरोपमा भवानी तिवारी, मिडल इस्टमा सरिता भण्डारी पौडेल सर्वसम्मत चयन भएका छन् । यसैगरी अफ्रिका क्षेत्रीय युवा संयोजकमा कसैको उम्मेदवारी परेन भने अमेरिका क्षेत्रमा स्वराज खाती सर्वसम्मत भए । यसैगरी युवा क्षेत्रीय संयोजकतर्फ नै एसिया प्यासिफिकमा विकास बस्नेत सर्वसम्मत चयन भए भने युरोप क्षेत्रमा प्रकाश भण्डारी सर्वसम्मत भए । यसैगरी मध्यपूर्वमा भने कसैको पनि उम्मेदवारी परेन । यस्तै ओसिनियामा सूर्य आचार्य सर्वसम्मत हुँदा क्षेत्रीय युवा उपसंयोजकतर्फत अफ्रिका क्षेत्रमा कसैको उम्मेदवारी परेन भने अमेरिकाज क्षेत्रमा विशाल रानाको उम्मेदवारी दर्ता भएको छ । उनको एकल उम्मेदवारी परेकाले सर्वसम्मत भएका छन् ।

यस्तै एसिया प्यासिफिकमा नारायण खड्का सर्वसम्मत हुँदा युरोपमा कसैको पनि उम्मेदवारी परेन । यस्तै मध्यपूर्वमा कृष्ण कुमार ठाकुर सर्वसम्मत हुँदा ओसिनियामा पनि कसैको उम्मदवारी दर्ता भएन । यस्तै दोस्रो पुस्ताको एनआरएनए संयोजकमा पनि कसैको उम्मदवारी परेन । एनआरएनएले दोस्रो पुस्तालाई समेट्न खोजेपनि कसैको उम्मेदवारी नपरेपछि सो पुस्ताको संघमा आकर्षण नदेखिएको हो कि भन्ने प्रश्न समेत उठेको छ । प्रारम्भिक नामावलीको आधारमा एनआरएनएले अब दाबी विरोधपछि अन्तिम नामावली प्रकाशित गरेर अन्तिम सूची प्रकाशित गर्नेछ । यस्तै निर्विरोध भएकाहरुलाई प्रक्रिया पुरा गरेर निर्वाचन समितिले विजयी भएको घोषणा गर्नेछ । एनआरएनएको निर्वाचनबाट एक अधयक्षसहित कुल ७४ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस