Techie IT
×
गृहपृष्ठग्लोबलगल्फशर्माको पक्षमा माहौल बढेसँगै टिममा बस्न चाहनेको लर्को

शर्माको पक्षमा माहौल बढेसँगै टिममा बस्न चाहनेको लर्को


गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्माको पक्षमा माहौल बढ्दै गएपछि उनलाई सबैलाई मिलाएर लैजान टिम व्यवस्थापनमा चुनौती थपिएको छ । अर्का प्रतिस्पर्धीहरु डा बद्री केसी र महेश श्रेष्ठको टिममा रहेका भनिएका उम्मेदवारहरू समेत पछिल्लो समय आरकेको टिममा जान चाहेपछि व्यवस्थापनमा चुनौती थपिएको हो । आरकेको पक्षमा दिनहुँ माहौल बढ्दै गएपछि चुनाव जित्न सहज हुने अपेक्षाका साथ विभिन्न पदका उम्मेदवारले आरकेको टिममा जान पहल थालेका हुन् । त्यसका लागि आरकेसहित, चुनावी कमाण्डर डीबी क्षेत्री र शनिकुमार ओलीलगायतसँग उनीहरूले निरन्तर सम्पर्क बढाइरहेका छन् ।

आरके टिममा हालसम्म उपाध्यक्ष करिब टुंगिएको अवस्था छ भने अन्य पदमा केही उम्मेदवार टुंगो लागेपनि कतिपय फाइनल गरिसकेको छैन। यहीबीचमा उम्मेदवारहरूको लर्को लाग्न थालेपछि व्यवस्थापनमा चुनौती थपिएको आरकेको सचिवालयले जनाएको छ । आरके टिमबाट एमाले निकट मानिएका धर्मराज अधिकारीले टिकट दिन निरन्तर आग्रह गर्दै आएका छन् । जबकि उनलाई बद्री केसी टिमका बलियो उम्मेदवारको रुपमा हेरिएको थियो । यस्तै उपाध्यक्ष पदमै गणेश केसी आरकेको टिममा आउन चाहेका छन् भने महासचिवमा पनि विभिन्न पात्रहरुले चासो देखाइरहेका छन् ।

 

बद्रीको टिमबाट महासचिव बनेका गौरी जोशीका साथै महेशको टिमका बुद्धि सुबेदीले पनि लबिङ गरेका छन् । तर, आरके टिमले अहिलेसम्म महासचिव फाइनल गरेको छैन । यस्तै उपाध्यक्षमा पनि सोम सापकोटा, सन्तोष भट्टराई, कृष्ण गिरी प्रमोद सिटौलालगायतले लबिङ गरिरहेका छन् । यसबाहेकका पदमा पनि उस्तै लबिङ रहेकाले अब कसरी सबैलाई मिलाएर जाने भन्नेमा आरके टिम आन्तरिक छलफलमा रहेको बुझिएको छ ।

आरकेको टिममा करिब ६० प्रतिशत कांग्रेस निकटका उम्मेदवार रहेका छन् भने विभिन्न देशमा सक्रिय एनसीसीका अध्यक्षहरु पनि आरकेकै पक्षमा खुल्न थालेका छन् । उसो त क्षेत्रीय संयोजक पदमा आरके समूहको सहयोग बिना चुनाव जित्न सजिलो नहुने भएपछि विभिन्न देशमा आरकेको महत्त्व थप बढ्नुका साथै यसका लागि सहकार्य पनि हुने भएको छ । जसका कारण आरकेलाई युरोप र अमेरिकालगायतका देशबाट राम्रो भोट आउने आँकलन गरिएको छ । एनआरएनएमा कांग्रेसको समर्थनमा महेश श्रेष्ठले उम्मेदवारी दिएपनि ठूलो संख्यामा उम्मेदवार आरकेतिरै रहेका छन् । यस्तै बद्रीको टिममा भने एमाले निकटको बोलबाला छ ।

आरके शर्मालाई कतिपयले माओवादी निकट भनेर आरोप लगाएपनि उनी स्वयम्ले भने आफूलाई सबै दलको समर्थन रहेको बताउँदै आएका छन् । उनको टिममा सबै पार्टीको समर्थन र उम्मेदवारको आकर्षणले पनि उनको दाबीमा बल पुगेको छ । आरकेको टिमबाट हालसम्म उपाध्यक्ष पदमा खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द), राजु रेग्मी (राज), विजय मोक्तान, अभिमानसिंह बस्नेत, शशीकान्त पौडेल उम्मेदवार टुंगिएका छन् । यस्तै युवा उपाध्यक्षमा अब्दुल बासिद उम्मेदवार छन् ।

यसैगरी उपमहासचिव पदमा प्रविन गुरुङ, सचिवमा मनोज कुमार गुरुङ (गोर्खाली), टंक गैरे, रामसी पोखरेल, कोषाध्यक्षमा ठाकुर ढुंगाना, महिला संयोजकमा देविका केसीको शर्मा टिमबाट उम्मेदवारी रहने निश्चित भएको छ । यस्तै सहकोषाध्यक्ष (महिला) मा तृष्णा काफ्ले (शर्मा) को उम्मेदवारी रहनेगरी टुंगिएको छ । हालसम्म सो टिमबाट आरकेले शुक्रबार नै उम्मेदवारी दर्ता गराइसकेका छन् । यस्तै रोविन्द्र श्रेष्ठ, अभिमानसिंह बस्नेत, खगेन्द्र न्यौपाने, राज रेग्मी, मनोज गोर्खाली, ठाकुर ढुंगानालगायतले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । बाँकी उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराउनेछन् ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस