Techie IT
×
गृहपृष्ठग्लोबलगैरआवासीय नेपालीको समस्या समाधान गर्न नेपालमा उच्चस्तरीय भेटघाटपछि उपाध्यक्ष आरके शर्मा जापान भ्रमणमा

गैरआवासीय नेपालीको समस्या समाधान गर्न नेपालमा उच्चस्तरीय भेटघाटपछि उपाध्यक्ष आरके शर्मा जापान भ्रमणमा


काठमाडौं – गैरआवासीय नेपालीको समस्या कार्यान्वयन गर्नको लागि नेपालमा उच्चस्तरीय भेटपछि एनआरएनए उपाध्यक्ष आरके शर्मा अभियानलाई अगाडि बढाउन जापान भ्रमणमा निस्केका छन् ।

दुई दिन नेपालमा रहँदा शर्माले गैरआवासीय नेपालीले भोग्नु परेको मुख्य समस्या पासपोर्ट नवीकरण, श्रम स्वीकृति सहज व्यवस्था मिलाउन तथा गैरआवासीय नागरिकता छिटो जारी गर्न नेपाल सरकारका मन्त्री तथा उच्च सरकारी अधिकारीलाई भेटेर अनुरोध गरेका थिए ।

इराक तथा यूरोपमा रहेका २० हजारभन्दा बढी नेपालीलाई अहिले पासपोर्ट नवीकरण तथा श्रम नवीकरण समयमा गर्नुपर्ने समस्या रहेको छ । शर्माले श्रमिकको संख्या बढी भएका देशहरु इराक, माल्टा तथा पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्न परराष्ट्र मन्त्री एनपी साउदलाई अनुरोध गरेका थिए ।

एनआरएनएको ओमानमा भएको मध्यपूर्व भेलाको म्यान्डेट अनुसार विदेशमा बस्ने नेपालीको समस्या समाधानको लागि नेपाल सरकारका मन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँगको भेट सकारात्मक भएको उपाध्यक्ष आरके शर्माले बताए ।

“माननीय परराष्ट्र मन्त्रीसँग पासपोर्ट नवीकरण तथा श्रीमान् श्रम सचिवसँग श्रम नवीकरणको लागि सहजीकरण गर्न अनुरोध गरेको थिए,” शर्माले भने, “गैरआवासीय नागरिकता छिटो कार्यविधि बनाएर लागू गर्न अनुरोध गरेको छु, यो छिटो कार्यान्वयन हुनेमा आशावादी छु।”

वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिको परिवारले पाउने रकम १० लाख बनाएकोमा स्वागत गर्दै शर्माले त्यसलाई अझै बढाउनुपर्ने माग राखेका छन् ।

“हाम्रो प्राथमिकता वैदेशिक रोजगारीमा जानेहरू सुरक्षित घर फर्काउनेमा नै हुने छ,” शर्माले भने, “यदि कसैको दुःखद मृत्यु भएमा उसको आश्रित परिवारलाई १० लाख दिने क्षतिपूर्तिलाई बढाउनुपर्छ ।”

अक्टोबर ११ तारिकमा शर्मा जापान पुग्ने छन् । जापान रहँदा गैरआवासीय अभियन्ता तथा सरोकारवालासँग अभियानलाई अगाडि लैजाने विषयमा छलफल गर्ने शर्माले बताए । जापानमा बस्ने नेपालीहरूले देखेको सम्भावनाको बारेमा शर्माले छलफल गर्ने छन् ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन आगामी असोजको अन्तिम साता काठमाडौँमा हुने घोषणा भइसकेको छ । आगामी अधिवेशनमा अध्यक्षको लागि तयारी गरेका शर्माले अभियन्ताहरूसँग छलफल गरिरहेका छन् ।

“एनआरएन अभियानलाई कसरी अगाडि बढाउने भन्ने विषयमा म अहिले अग्रजहरूसँग छलफलमा छौँ,” शर्माले भने, “अग्रज तथा एनआरएन अभियानमा चासो राख्ने सबैसँगको छलफलपछि अगाडि बढ्ने हो।”


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस