Techie IT
×
गृहपृष्ठग्लोबलयूवा र प्रवासी नेपाली केन्द्रित एजेण्डा सहित यूवा उपाध्यक्ष राज रेग्मीले गरे आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

यूवा र प्रवासी नेपाली केन्द्रित एजेण्डा सहित यूवा उपाध्यक्ष राज रेग्मीले गरे आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा


काठमाडाैं – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको एघारौ विश्व सम्मेलनमा कतारका सफल ब्यावसायी एबं एनआरएनए युवा उपाध्यक्ष राज रेग्मीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन । एनआरएनए मलेसियाको अधिवेसनमा सहभागी भएपछि रेग्मीले पत्रकारहरुलाई उक्त जानकारी गराएका हुन । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका रेग्मीले आइसीसी मध्यपुर्व युवा संयोजक, बिभिन्न टास्कफोर्सको संयोजक पद र युवा उपाध्यक्षमा रहेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन ।

सरल र मिजासिलो स्वभावका रेग्मी एनआरएनएको संस्थागत विकासमा परिपक्वता भएका अभियन्ताका रूपमा चिनीन्छन । बिश्वमा सबैभन्दा ठुलो नेपाली संजालमा फैलिएको एनआरएनए लाई सँस्थागत बिकास र सँस्थाको मर्म र भावना अनुरुप ब्यक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपाल प्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने रेग्मीले बताए ।

उनले नेपालको समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्या लाई समाधान गर्न तत्पर रहेको बताए । प्रत्येक मुलुक बाहिर रहेका नेपालीहरुले एनआरएनए मेरो सँस्था हो भन्ने बनाउन आवश्यक रहेको छ । सबैलाई समेटन अझै हामीले पहल गर्न बाकी नै रहेको हुदा यो अभियानलाई सार्थकता दिन सामुहिक नेतृत्वसहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै सबैको साथ र सहयोगका लागी रेग्मीले अपिल गरेका छन । अहिले एनआरएनको आगामी ११ औं महाधिवेशन नजिकिदै गर्दा निर्बाचनको माहौल तात्न थालेको छ । अहिले बिभिन्न देशबाट आईसिसिको आगामी अधिबेसनमा आउन चाहनेहरुले उम्मेदवारी दिने क्रम बढ्दो छ ।

मध्यपूर्व युवा संयोजक हुँदा र आईसिसि युवा उपाध्यक्ष रहँदा कुशलताका साथ आफ्नो जिम्मेवारी निभाएका रेग्मीले आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएपछि उनको चर्चा सर्बत्र चुलिएको छ । एनआरएनएको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको रेग्मीले बताए । आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार आफुले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिएको रेग्मीले बताए । उनले अव युवा उपाध्यक्षपछी आफू जाने ठाऊ नै उपाध्यक्ष भएकोले उम्मेदवारी दिने बताए ।

एनआरएनए मध्यपूर्व युवा संयोजक,युवा उपाध्यक्ष तथा विभिन्न संघसंस्थामा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निभाइसकेका रेग्मीले एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । एनआरएन अभियानमा उदयमान तथा उर्जाशील स्वभावका रेग्मी सफल व्यवसायी, समाजसेवी र एनआरएनए अभियानमा संभावना बोकेका नेताको रुपमा परिचित छन । एनआरएनए उपाध्यक्षका लागि सर्बसम्मतबाट सहमति बटुल्ने कोशिष गरेका रेग्मी सबैको रोजाईमा पहिलो नम्बरमा रहेका छन ।

कतार तथा नेपालमा सामाजिक कार्यका लागि अग्रस्थानमा रहेर कार्य गर्दै आएका रेग्मी सबै नेपालीका लागि आखाको नानी जस्तै रहदै आएका छन । एनआरएन अभियानमा रेग्मीको उपस्थितिलाई विश्वभरका नेपाली समुदायले उदाउदो ताराका रुपमा अन्तरआत्मादेखि स्वागत गरिरहेका छन । गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी उपाध्यक्षका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्न सक्ने क्षमता रेग्मीसँग रहेको छ ।

रेग्मी युवा संयोजक रहँदा विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर आफ्नै खर्चमा ग्लोवल एनआरएन सिंगिङ आइडलको आयोजना गरेर दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने कार्यक्रम सफलतापूर्वक संपन्न गरेपछी उनको चर्चा विश्वभर फैलिएको छ । मध्यपूर्व र बिश्वमा रहेका युवाहरुलाई टेवा पुर्याउने उद्देश्यले युवालाई लक्षित गरि विभिन्न कार्यक्रमहरु प्रभावकारीढंगबाट ल्याउने रेग्मीको योजना रहेको छ ।

रेग्मीले आजको दिनसम्म आइपुग्दा विश्वमा रहेका गैरआवासीय नेपालीहरुको माया, साथ, शुभेच्छा र समर्थनले हालसम्मको सफलता प्राप्त गरेको जनाउदै आईसीसी उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनका लागी सबै गैर आवासीय नेपालीलाई अनुरोध गरेका छन । रेग्मीले आफु उपाध्यक्षमा आएमा नेपाली डायस्पोरा र युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउनका लागि पहल गर्दै एनआरएनए मार्फत रोजगार सृजना गर्ने र उपलब्धिमुलक क्षेत्रमा युवाहरुको सामूहिक लगानी बढाउने बताउछन । उनले आम नेपालीले सोचेको सुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका लागी उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउने, सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटेर देश विकासमा लगानी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रेग्मीले विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने जनाउँदै बिदेशमा विभिन्न पेशा तथा क्षेत्रमा रहेका नेपालीहरुलाई एनआरएनएप्रतिको आकर्षण बढाउने, धेरैभन्दा धेरै युवाहरुलाई एनआरएनएको महत्व र आवश्यकताको अनुभूति दिलाउदै युवा र प्रवासकेन्द्रित कार्यक्रमहरु संचालन गर्ने बताए । उनले सुरक्षित बैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै रहेको तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी भएको बताए । स्वदेशमा नै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका लागि काम गर्ने बताए ।

यूवा उपाध्यक्षका उम्मेदवार रेग्मीले वैदेशिक रोजगार तथा अध्यनका लागि मध्यपूर्व, मलेसिया तथा अन्य देशमा रहेका नेपालीहरुको समस्या तथा अफ्ठ्यारोमा परेमा सहयोगका लागि छुट्टै राहत कोष स्थापना गरि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने बताए । हालसम्म आगामी नेतृत्वका लागी आरके शर्मा, महेश श्रेस्ठ, बद्री केसी, केशव पौडेल र रविना थापाले अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन ।

रेग्मीको हालका प्रतिबद्धताहरु निम्न रहेका छन । उनले केही दिनमै एनआरएनए अभियन्ताहरुसँग छलफल गरेर आफ्ना थप प्रतिबद्धताहरु सार्वजनिक गर्ने बताएका छन ।
१. नेपालको संविधानले परिकल्पना गरेको समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न उत्पादनमूलक क्षेत्रमा सामुहिक लगानी ।
२. युवा स्वरोजगारहरुको क्षमता अभिबृद्दि र उपलब्धिमुलक नव–प्रबर्दनका क्षेत्रमा प्रवासी नेपालीहरुको सामुहिक लगानी ।
३. बिदेशमा सिकेको सिप र ज्ञानको उचित सदुपयोगमार्फत स्वदेशमै युवा रोजगार सिर्जना ।
४. विभिन्न पेसा र क्षेत्रका युवाहरुलाई प्रोत्साहन गर्दै उद्यमतर्फ आकर्षित गर्ने योजना ।
५. सुरक्षित र मर्यादित रोजगारीको वातावरण , रोजगारीमा आउनेहरुको लागि श्रम सहजिकरण लगायत तालिम, अभिमुखिकरण र लगानीमा सहुलियत र अनुदान ।
६. मध्यपुर्ब एसिया लगायत अन्य देशमा रोजगार र अध्ययनमा रहेका नेपालीहरुको लागि छुट्टै राहत कोष स्थापना ।
७. सबैको अपनत्व हुनेगरी सबै बर्ग र क्षेत्रका सबै नेपालीहरु समेटिने , बिधान र पद्धतिमा चल्ने, निस्वार्थ र गैर नाफामुलक र गैर राजनीतिमुलक संंस्थाका रुपमा एनआरएनएलाई अगाडि बढाउने ।
यी लगाएत रेग्मीले थप प्रतिबद्धताहरु सहित छिट्टै आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने बताएका छन ।

 


क्याटेगोरी : ग्लोबल


तपाईको प्रतिक्रिया दिनुहोस