Techie IT
×
गृहपृष्ठग्लोबलसाउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र


काठ्माडौं। बैदेसिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् ।रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका बिनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन् । श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगार विहिन बनाइएको राईले गुनासो गरेका छन् ।

 

राई लगायतका युवा इन्नोभेटिभ ह्युमन रिसोर्स डेभलपमेन्ट प्रालि, काठडौंमार्फत साउदी अरेबियाको नास मेनपावर सोलुसन कम्पनीमा पुगेका थिए । उनीहरु मासिक एक हजार साउदी रियाल पाउने सम्झौतामा लेवरका रुपमा नास मेनपावर सोलुसन कम्पनीमा पुर्‍याइएका हुन् । हाल होटल किचन वर्करका रुपमा काम लगाइएका उनीहरुको सामान्यः खाने र बस्ने व्यवस्था भने नास मेनपावर सोलुसन कम्पनीले नै मिलाएको छ । रोजगारका लागि कम्पनीलाई कुरा गर्दा मेनपावरलाई कुरा गर्न लगाउने गरेको पिडित युवाले बताएका छन् ।

 

‘मेनपावरको हुँ भन्ने प्रकाश पन्थीलाई एक लाख ३७ हजार तिरेर साउदी अरेबिया पुगेका हौँ । रोजगारी देउ भनेर कुरा राख्दा नेपालको मेनपावरसँग कुरा गर भन्छ,’ राईले भने, ‘मेनपावरमा कुरा गर्दा फोन रिसिभ हुँदैन । प्रकाश पन्थीले मैले काम छाडेर बंगुर पालनमा लागिसकेँ भन्छ । हामीमाथि सरासर ठगी गरिएको छ ।’

काम र दाम बिहिन बनाइएका १०/१५ जना युवालाई अल्खारेजमा राखिएको छ । उनीहरुका अनुसार काम र दाम नपाउँदा साउदी अरेबियामा सयौं युवा अलपत्र छन् । अलपत्र युवा उद्धारको प्रतिक्षामा छन् । अलपत्र युवाका आफन्तले उद्धारका लागि बैदेसिक रोजगार विभागलाई गुहार्ने तयारी थालेका छन् । उद्धारका लागि बैदेसिक रोजगार विभागमा पुग्दा मेनपावरको कार्यालयमा पठाएको आफन्त रोमन राईले बताए ।


क्याटेगोरी : ग्लोबल


तपाईको प्रतिक्रिया दिनुहोस