Techie IT
×
गृहपृष्ठग्लोबलसरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी

सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी


काठमाडौं । पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै गएको गुनासो बढेको बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेको छ ।

परराष्ट्रमन्त्री विमला राई पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको बताउनुभएको हो ।

गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको पहलमा आइतबार (२९ जनवरी २०२३ मा) आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री पौडेलले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरुमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरुले भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पोर्चुगलको धेरै कुराहरु सुन्यौँ, धेरै नेपाली अलपत्र छन्, कागजपत्र नभएका भन्ने पनि सुन्नमा आएपछि सकेसम्म कन्सुलेट खोल्ने तयारी छ, तर सो कार्य तत्काल सम्भव छैन, त्यसमा आर्थिक पाटो पनि जोडिएको छ, अर्कोतर्फ मन्त्रीपरिषदबाट त्यसको निर्णय हुनुपर्छ, त्यसैले तत्काल समस्या समाधानका लागि २५ देखि १ महिनाभित्र एउटा सरकारी टोली पोर्चुगलमा राख्ने, र त्यहाँका कागजपत्र विहिन तथा समस्याग्रस्त नेपालीलाई सहजीकरण गर्ने योजना बनाएका छौँ । आजै मात्रै यसमा निर्णय गरेर प्रक्रियाका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएका छौँ ।

स्पेनबाट वा अन्य कहाँबाट टोली खटाउने भन्नेमा हामी छलफलमा छौँ ।”उहाँले थप्नुभयो,“दिगो समाधान कन्सुलेट नै राख्ने हो तर आर्थिक पाटोदेखि मन्त्रीमपरिषदको निर्णय आवश्यक पर्छ त्यसमा लामो समय लाग्छ ।”

यसअघि गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले काठमाण्डौस्थित परराष्ट्र मन्त्रालयमा पुगेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल दूतावास स्थापना तथा महावाणिज्यदूत नियुक्त गर्न मन्त्री पौडेललाई आग्रह गरेको थियो । यूरोपेली मुलुक माल्टामा दूताबास नहुँदा समूया परेको भन्ने विषयमा मन्त्रालय जानकार रहेको भन्दै मन्त्री पौडेलले माल्टाको समस्या समाधानमा सरकारले पहल गर्ने बताउनुभयो । हाल बेलायतस्थित दूताबासले नै माल्टामा काम गर्दै आएकोमा सो प्रभावकारी नभएको गुनासो बढेकोले छ ।

साइप्रसमा घरेलु कामदारको रुपमा जाने क्रम बढेको भन्दै त्यसलाई जी टु जी च्यानलमा ल्याउन सरकारले पहल गर्ने मन्त्री पौडेलको भनाई थियो । यद्यपी त्यस सम्बन्धमा अध्ययन गर्नै बाँकी रहेकोले आफूले आवश्यक अध्ययन गरेर मात्रै काम अघि बढाउने उहाँको भनाई थियो । मन्त्री पौडेलले विदेशस्थित दूतावास तथा कूटनीतिक नियोगलाई २४ घण्टा सञ्चालन गर्न सर्कुलर जारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली नागरिकलाई दूतावासमा गुहार्छ भने ऊ सुरिक्षत हुनुपर्छ र उसका लागि दूतावासको सर्भिस २४ घण्टे हुनुपर्छ भन्ने हाम्रो ध्येय छ, त्यही अनुसार काम हुन्छ, चाहे त्यो टेलिफोनबाट इमेलबाट नै किन नहोस् ।” यस्तै, र्यापिड रेसपोन्डस् टिम बनाउने र त्यसले मासिक रिर्पोट गर्ने व्यवस्था मिलाउने, जनशक्ति थप्ने र दूतावासमार्फत द्रूत सेवामा हुनुपर्छ भन्नेमा आफ्नो जोड रहेको मन्त्री पौडेलले बताउनुभयो । पासपोर्ट नविकरण गर्दा लामो समय लाग्ने, अर्को देशमा जानुपर्ने बाध्यता रहेको गुनासो आएको भन्दै मन्त्री पौडेलले दूतावासले मोबाइल टिम पठाउने वा के गर्ने भन्ने भन्नेमा सुझाव दिन एनआरएनएलाई आग्रह गर्नुभयो ।

त्यसबाहेक विकास साझेदारीमा पनि काम अघि बढाउने तयारी रहेको मन्त्री पौडेलको भनाई थियो । पोर्चुगलका महासचिव राजकुमार थापाले त्यहाँ नेपालीको अवस्था र समस्याबारे जानकारी

गराउँदै सरकारले तत्काल पहल नगरे आत्महत्या जस्तो विकराल समस्या आउनसक्नेतर्फ मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको थियो । यस्तै, एनआरएनए साइप्रसकी राधा पोखरेलले साइप्रसमा घरेलु कामदारका रुपमा गैरकानूती तवरले बसीरहेका नेपालीको संख्या बढ्दै गएको भन्दै जीटुजीमार्फत कामदार पठाउने व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । यस्तै उहाँले त्यहाँ विद्यार्थीले भोग्नुपरेका समस्याबाारे जानकारी गराउनुभएको थियो । एनआरएनए पोल्याण्डका महासचिव पवन, खड्काले त्यहाँको नेपालीको अवस्था र विद्यमान समस्याबारे जानकारी गराउनुभयो । माल्टाका अध्यक्ष भूवन अर्यालले माल्टामा दूतावास नहुँदा भोग्नुपरेको समस्या, माल्टासँग नेपालले कूटनीतिक सम्बन्ध विस्तारका लागि गर्न सक्ने पहल लगायतका विषयमा जानकारी गराउनुभएको थियो । एनआरएनए पोल्याण्डका महासचिब पवन खड्काले दूतावास नहुँदा नेपालीले भोग्नुपरेको समस्याबारे जानकारी गराउनुभयो ।

यस्तै, एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले विविध कारण ज्यान गुमाएका नेपालीको शव व्यवस्थापन लगायतका समस्याबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभयो । चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थी त्यहाँस्थित नेपालीलाई व्यवसाय गर्न सरकारी स्तरबाट पहल गरी आवश्यक व्यवस्था मिलाउन र कन्सुलर सेवा उपलब्ध गराउन अनुरोध गर्नुका साथै आगामी १५औ यूरोपियन क्षेत्रिय सम्मेलन चेक गणतन्त्रको राजधानी प्रागमा हुन गैरहेकोमा माननीय मन्त्रीज्यू लगायत सबैलाई आमन्त्रण गर्नु भयो । कार्यक्रममा सहभागी बेल्जियमका अध्यक्ष खड्ग बहादुर केसीले बेल्जियममा हालसम्म त्यस्तो कुनै ठूलो समस्या नरहेको र समस्या परिहालेपनि नेपाली समुदाय मिलेर समाधान गर्ने गरेको बताउनुभयो । यस्तै एनआरएनकी महिला उपाध्यक्ष यास्मिन सैयद बेगमले मध्यपूर्वमा नेपाली श्रमिकको अवस्थाबारे जानकारी गराउँदै त्यस्तो विकराल समस्या नभएको जानकारी गराउनुभयो । यद्यपी शव व्यवस्थापन र स्वदेश फिर्ताका लागि सरकारले सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा एनआरएनकी मिडिया समिति सहअध्यक्ष बाबा राजेश्वरीले कार्यक्रमको सारांश प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन तथा सहजीकरण एनआरएनएका उपमहासचिव रामशरण सिम्खडाले गर्नुभएको थियो ।


क्याटेगोरी : ग्लोबल


तपाईको प्रतिक्रिया दिनुहोस