Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर)

कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर)


दोहा कतार, १७ पुस । वैदेशिक रोजगारीको लागि विश्वभरका मानिसहरूको आकर्षक गन्तव्य मध्यको एक हो कतार । सानो राष्ट्र भएपनि करिब साढे ३ लाख नेपालीहरुले रोजगारी तथा व्यवसाय गरिरहेका छन् । श्रमिकहरूको बाहुल्यता रहेको कतारमा एक थप नेपाली व्यवसाय थपिएको छ । श्रमिकहरूको बाक्लो बस्ती रहेको औद्योगिक क्षेत्र (सनैया) ३३ नम्बर स्ट्रिटमा (पेरिस मार्केट नजिक) नेपाली रेस्टुरेन्ट औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

 

फूलबारी रेस्टुरेन्टसँगै रहेको अल बारा रेस्टुरेन्टसहित भव्य बैंक्वेट ९हल० को एक कार्यक्रमका बीच उद्घाटान गरिएको छ । अर्घाखाँची जिल्लामा जन्मिएर बुटवललाई स्थायी बसोबास बनाएका श्याम पौडेलले सञ्चालनमा ल्याएको उक्त होटेलको नेपाल व्यवसायी संघ कतारका महासचिव रमेश भट्टले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नेपाली पञ्चेबाजासमेत बजाइएको थियो ।

 

कतारमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा उद्घाटन लगत्तै औपचारिक तथा एक भव्य सांस्कृतिकसहित अङ्ग्रजी नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाका कलाकारहरूले विभिन्न साङ्गीतिक प्रस्तुति दिएका थिए ।

 

औपचारिक कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले प्रवासमा व्यवसाय गर्ने साथीहरू बढ्नु सबैको लागि प्रेरणा हुने बताउँदै व्यवसायी संघबाट हुन सक्ने सबै किसिमका सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले हालसालै मात्र वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच सहकार्य सम्बन्धी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएकोसमेत जानकारी दिए । समझदारी पत्रमा प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिए पश्चात् कतारमा व्यवसाय गरी बसेका व्यक्तिहरूलाई छुट्टै परिचय पत्र दिने, नेपाल एयरपोर्टबाट बाहिरिने श्रमिकका लागि सूचना तथा सहायता कक्षमा आवश्यक सहयोगका लागि संघसँग सहकार्य गर्ने समझदारी भएको उनले बताए ।

आफ्नो मन्तव्यका क्रममा कार्यक्रमका सभाध्यक्ष समेत रहेका सञ्चालक पौडेलले आफूले कतारमा वेटरको जागिरबाट करियर शुुरु गरेको स्मरण गर्दै न्यून आए भएका श्रमिकले विभिन्न परिकार सुलभ मूल्यमा खान सकुन् भन्ने हेतुले सुलभ मूल्य सुची कायम गरेको बताए । आफू आज पनि श्रमिक भएको कारण श्रमिकमुखी सेवा गर्न लागेको उनको भनाइ थियो ।

उनले यसलाई व्यवसाय मात्र नभएर सेवाको रूपमा पनि सञ्चालन गरेको जानकारी दिए । बैंक्वेट (हल) सञ्चालक मध्यका अर्का सञ्चालक दिल भट्टराईले हलमा करिब साढे तीन सय दर्शक अट्ने क्षमता रहेको मध्यान्हलाई जानकारी दिए । सांस्कृतिक, वैवाहिक, जन्मदिन लगायतका पार्टीका लागि आवस्यक पर्ने सबै सुविधा हलमा नै उपलब्ध हुने उनले जानकारी दिए । श्याम पौडेलले अलबारा र फूलबारी स्पाईसी रेस्टुरेन्ट सोत सञ्चालन गर्दै आएका छन् । औपचारिक कार्यक्रमलाई सञ्चारकर्मी दिपजंग शाहले सहजीकरण गरेका थिए ।

 


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #कतार, #कतार विशेष

तपाईको प्रतिक्रिया दिनुहोस