Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिकाको मेरिल्याण्ड स्थित घरमै सुतेका भूपाल कहिलै उठेनन

अमेरिकाको मेरिल्याण्ड स्थित घरमै सुतेका भूपाल कहिलै उठेनन


बाल्टिमोर – अमेरिकाको मेरिल्याण्ड राज्यस्थीत रकभीलमा भूपाल कुमार मगर नामका एक नेपाली युवाको आफ्नै घरमा सुतेको अवस्थामा निधन भएको छ ।

नेपालको उदयपूर जिल्लाको गाईघाट साउने घर भएका ३७ बर्षका मगरको मंगलबार विहान निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

“सोमबार बेलुका भूपाल भर्जिनियाका आफन्तको घरमा भएको पूजामा गएका थिए ।” भूपालका फुपाजु उद्धव खपागींले भने ।

भूपालले त्यहां आफ्नो दुई महिनाको छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै काखमा लिएर पूजास्थललाई तीन फन्को घुमेको पनि फुपाजु खपागींले सम्झिए ।

भूपाल घरमा आएर पनि खाना खाएर सुतेका थिए ।

“राती साढे २ बजेतीर छोरा रोयो । सधैं उहां उठेर फुल्याउनु हुन्थ्यो तर उठ्नु भएन । म उठ्दा उहांलाई श्वासप्रश्वासमा समस्या भएको देखें । छटपटाईरहनु भएको थियो । के भयो भन्दै झकझक्याएं । उहांलाई धेरैपटक बोलाउने कोशिस गरें । उहांले नबोलेपछि ईमरजन्सीमा कल गरें ।” श्रीमती पारु थापाले भनिन, “रेस्क्यु टिमले बेड मै आएर केही प्रयास गर्यो तर केही पार लागेन, ३ बजेतीर ‘डेथ डिक्लियर’ गरिदियो ।

भूपालसंगको यहि तस्वीर परिवारका लागि अन्तिम भयो
भूपालको शबलाई अहिले बाल्टिमोर मेडिकल सेन्टरमा पोष्टमार्टमका लागि राखिएको उद्धवले जानकारी दिए । हिजो धेरै ‘डेड बडी’ को पोष्टमार्टम गर्नु पर्ने भएकोले पालो आएन । आज पोष्टमार्टम हुन्छ । अनि अन्तिम संस्कारका बारेमा निर्णय गर्छौं ।” उद्धवले भने ।

भूपाल सन् २०१४ मा डिभी लटरी परेर अमेरिका आएका थिए । सन् २०१८ मा नेपाल गएर उदयपुर बांसबोटेकी पार्बती थापा ‘पारू’ संग विवाह गरेर फर्किएका थिए ।

भूपालकी श्रीमती अमेरिका आएको एक बर्ष मात्र भएको छ । उनिहरूबाट जन्मिएको छोरा अहिले दुई महिनाका छन् । थापा रत्नराज्य क्याम्पस प्रदर्शनी मार्ग काठमाडौंबाट आफ्नो अध्ययन पूरा गरेकी एक अब्बल संचारकर्मी समेत हुन ।

जहिले फरक बिटमा कलम चकाउने थापाले हिमालय टाईम्स राष्ट्रिय दैनिक संग आवद्ध छिन् । “पुरुष हिंसा कसैले देख्दैनन्” लगायत शिर्षकमा थुप्रै आलेखहरूमा कलम चकाउने थापाले लैंगिक समानता एवं सामाजिक उत्पीडन क्षेत्रमा सकृय थिईन ।

घट्नाका बारेमा बुझ्न संचारकर्मीले उद्धवसंग कुरा गर्दा श्रीमान गुमाएकी पार्बती पनि संगै थिईन । उनले फोनमा समाचार संकलकलाई भनिन्- “तपाईको समाचारमा हामी तीनजनाको अन्तिम तस्वीर पनि संगै राखिदिनु होला । मैले ठूलो भएपछि छोरालाई उस्को बाबुको बारेमा त्यो समाचार देखाउने छु ।”

भूपालको निधनको खबर नेपाल आफन्तलाई पनि पठाईसकिएको जानकारी प्राप्त भएको छ ।

भूपालको श्रीमती र छोरालाई यहाँका उनका साथीभाईहरुले सहयोग गरिरहेका छन् ।

भूपाल केही समयदेखि डब्लुएफजी नामक कम्पनीसंग पनि आबद्ध थिए । पारिवारको आर्थिक सुरक्षाको बारेमा ख्याल गर्नुपर्छ भनेर चेतना जगाउने सहयोग गर्ने गर्थे ।

“उनले यो संसार छाडेर जादै गर्दा परिवार र समाजलाई आर्थिक भार भने थोपरेका छैनन । उनले फेमिली प्रोटेक्सन वापत १.२ मिलियनको ईन्सुरेन्स खरीद गरेर बसेका थिए ।” डब्लुएफजीका सिनियर मार्केटिगं डाईरेक्टर समेत रहेका उद्धव खपांगीले संचारकर्मीसंग भने ।

उनले थपे, “भूपाल अति नै रमाईलो र असल मान्छे थिए । उनले धेरै छिटो यो संसार छाडेर गएकोमा हामी दु:खी छौं । उनको अभाव परिवारमा सधै खड्किईरहनेछ तर, उनले परिवारको जिम्मेवारी चटक्क छाडेर गएनन् । जादाजादै एउटा लिगेसी भने छोडेर गएका छन् ।”

तस्बिरमा: 


क्याटेगोरी : ग्लोबल, अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस