Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनलाई नागरिकता राष्ट्रले दिएको सम्मान हो : अध्यक्ष आचार्य

एनआरएनलाई नागरिकता राष्ट्रले दिएको सम्मान हो : अध्यक्ष आचार्य


गैर आवासीय नेपाली संघ (एनआरएनएका) का कार्यकारी अध्यक्ष कुल आचार्यले अब कुनै पनि बहानाबाजी गरेर नागरिकता विधेयक कार्यान्वन हुनबाट नरोक्न सुझाव दिएका छन् । हालैमात्र थाइल्याण्डको बैंककमा सकिएको एशिया प्यासिफिक ९मिलाप० सम्मेलनले पनि त्यही सन्देशलाई जोडदार रूपले उठाएको उनले बताए ।

‘एनआरएनएको स्थापनाकालदेखि नै हामीले उठाउँदै आएको मध्ये एउटा माग नागरिकताको पनि हो। हामीले यसका लागि धेरै मेहनत गरेका छौं,’ उनले भने ‘नेपाल, नेपालमा मात्रै छैन, संसारभरि छ । नेपाली नेपालमामात्रै छैनन्, संसारभरि छन् । त्यसैले कुनै पनि बहानामा अब विधेयक कार्यान्वयनमा रोकिनुहुन्न ।’

जनसवालसंग कुरा गर्दै आचार्यले एनआरएनएले दोहोरो नागरिकता र नागरिकताको निरन्तरताको माग उठाउँदै आए पनि अहिले संवैधानिक व्यवस्थाअनुसार नै आएको विधेयकलाई एनआरएनएले स्वागत गरेको बताए । ‘हामीले भनेको दोहोरो नागरिकता नै हो । नागरिकताको निरन्तरता हो। तर पनि जसरी यो संविधानअनुसार आएको छ त्यसलाई हामीले स्वागत गरिसकेका छौं’ उनले भने ।

गैर आवासीय नेपालीको नागरिकताले संसारभरका नेपालीलाई राष्ट्रका तर्फबाट सम्मान हुने भन्दै उनले गैरआवासीय नेपालीले पनि राष्ट्रप्रतिको दायित्वबाट कहिल्यै पछि नहटेको बताए । ‘हामी जहाँ जे जसरी बसे पनि हामीले सम्झिने भनेको देश नै हो । सम्पूर्ण नेपाली र नेपाल नै हो’ उनले भने ‘यसबाट नेपालमा थप लगानी गर्न सहज हुनेछ र हामी सबै त्यसका लागि उत्साहित छौं ।’ संसदको दुबै सदनले पास गरेर गत साउन १५ गते प्रमाणिकरणका लागि पठाइएको नागरिकता विधेयकमा विभिन्न टिप्पणीहरू गर्दै राष्ट्रपति विद्यादेवी भन्डारीले त्यसलाई संसदमै फिर्ता पठाइदिएकी थिइन् ।

तर प्रतिनिधिसभाले त्यही विधेयक जस्ताको त्यस्तै पारित गरेको थियो । बिहीबार राष्ट्रिय सभाले पनि उक्त विधेयक जस्ताको त्यस्तै पारित गरेको छ । बैंककमा हालै सकिएको सम्मेलनले सारा गैरआवासीय नेपालीलाई मिलापको सन्देश दिएको पनि आचार्यले बताए । ‘पहिलो पटक एनआरएनएको मिलाप सम्मेलन बैंककमा सकिएको छ। यसले हामी नेतृत्वलाई मिलेर जान दबाव दिएको छ । र समग्रमा यो एशिया प्यासिफिक क्षेत्रमा पिएनओलगायत श्रमिक समस्याहरू र त्यसको समाधानका बारेमा पनि धेरै गहन छलफल भएको छ,’ आचार्यले भने । १२ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए एशिया प्यासिफिक क्षेत्रको नवौं सम्मेलन बैंकक मा अगस्ट २८ मा सम्पन्न भएको थियो ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #NRNA, #कुल आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस