Techie IT
×
गृहपृष्ठग्लोबलगल्फदुबईमा बसेर नेपालीको अर्बौ रकम ठग्ने इन्फिनिटीका संचालक पन्तविरुद्ध सीआइबीमा उजुरी

दुबईमा बसेर नेपालीको अर्बौ रकम ठग्ने इन्फिनिटीका संचालक पन्तविरुद्ध सीआइबीमा उजुरी


लगानीको तेबरसम्म मुनाफा पाइने प्रलोभन देखाएर विदेशमा कार्यरत नेपाली श्रमिकलाई ठगी गर्ने गिरोहविरुद्ध केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) मा उजुरी परेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा बसेर इन्फिनिटी ग्लोबल नेटर्वकका नाममा नेपाली श्रमिकबाट एक अरबभन्दा बढी ठगी गर्ने गिरोहविरुद्ध सीआइबीमा उजुरी परेको हो ।

लगानीको तेबरसम्म फाइदा हुने आश्वसान देखाएर झुठो कागजपत्रको आधारमा नेपालीबाट करोडौं रकम ठगी गरी सम्पर्कविहिन भएका इन्फिनिटीका नाइकेहरुलाई कारवाहीको माग गर्दै पीडितहरुले गत साता काठमाडौस्थित नेपाल प्रहरी अपराध व्यूरोमा निवेदन दिएका हुन् । पीडितमध्ये शेरु कुँवर, सम्झना गडाल, सचिन राना, सूर्य खड्काले सिआईबी कार्यलयमा नै पुगेर उजुरी दिएका छन । यससम्बन्धी जनसवाल दैनिकले पटक–पटक समाचार प्रकाशित गर्दै आएको थियो ।

इन्फिनिटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्डको नाममा अबैध नेटवर्किङको धन्दा

यस्तै, सबै पीडितहरुको प्रतिनिधित्व गर्दै दुबईमा रहेका लक्षु उपाध्यायले इमेलमार्फत उजुरी पठाएका छन् । ‘पीडितहरु हाम्रो सम्पर्कमा आउनु भएको छ । ठगिएको भन्ने पुष्टि हुने आधार– प्रमाण ल्याउनुहोस् भनेर भनेका छौं । उहाँहरुले सबै प्रमाण उपलब्ध गराउने बताउनु भएको छ,’ सीआइबीका प्रवक्ता श्याम कुमार महतोले बताए । उनले ठगिएको भन्ने प्रमाण प्राप्त भइसकेपछि मुद्धा अघि बढ्ने बताए। उनले थपे, ’प्रमाण लिएर आउनु भयो भने त्यसपछि मुद्धा अघि बढ्ने प्रक्रिया हुन्छ ।’ इन्फिनिटी ग्लोबल ट्रेडर्सका मुख्य योजनाकार नेपाली नागरिक राकेश पन्त हुन । यसको टेक्निकल पार्ट हेर्ने जिम्मेवारी भारतीय नागरिक दिपक भास्करको हो ।

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा न्यूरोडबाट अधिकारी पक्राउ : क्रिप्टोकरेन्सी कारोबारीको भागाभाग

इन्फिनिटी ग्लोबल अनलाइन नेटवर्किङ व्यवसाय जस्तै हो। यसमा मुनाफाको प्रलोभन देखाएर लगानीको लागि प्रेरित गरिन्छ । सुरुमा केही नाफा भएको जस्तो देखाएर थप लगानी गर्न आकर्षित गरिन्छ । तर, सुरु–सुरुमा लगानी गर्दा रकम फिर्ता आएपनि दोस्रो र तेस्रो पटक लगानी गरेपछि रकम फिर्ता आउन छोडेको पीडितहरुको भनाइ छ । यो धन्दामा उनीहरुलाई इन्दरा शाह, सुस्मिता खड्का, देवराज ओली, राजु जम्मरकट्टेल, मनोज माझी, काजी लाल भारती, श्याम राज भारती, सूर्य खरेल, झनक भट्टले सहयोग पुयाइरहेका छन । उनीहरुले एक वर्षको अवधिमा यो ठगी धन्दालाई यूएईका नेपालीमाझ व्यापक रुपमा विस्तार गरिसकेका छन।

। त्योबाहेक नेपालका मोरङलगायतका पूर्वी जिल्ला तथा भारतमा पनि यो धन्दा चलाएर करौडौं रकम संकलन गरिसकेको बताइन्छ । अहिले कम्पनी सञ्चालक पन्तलगायत यसमा संलग्न रहेका सबै जना यूएईमै लुकिछिपी बसेको पीडितहरुको भनाइ छ । रोजगारीका लागि यूएई पुगेका नेपालीलाई नाफाको प्रलोभन देखाउँदै पन्तको गिरोहले ठूलो रकम ठगी गरेका छन् । कतिपय कामदारले घरजग्गा नै धितो राखी लगानी गरेका छन् भने कतिपयले सहकारी र बैकबाट चर्को ब्याज नै लिएरसमेत लगानी गरेका छन् । यो गिरोहले नेपालका पूर्वी जिल्लाहरुमा पनि ठगी आतंक मच्चाएको छ। पीडितहरुका अनुसार पन्तले अहिले दुबईमा ओरेन्टो भेराईटी रेष्टुरेष्टमा लगानी गरेका छन् भने विराटनगरमा ओरेन्टो मल्टी ट्रेडर्सको नाममा कम्पनी खोलेका छन् ।

पन्तले कामदारलाई नेपालमा जलविद्युत, होटल, अस्पताल, रियल स्टेटलगायतका क्षेत्रमा लगानी गरिने र सबै लगानीकर्ता सो कम्पनीको मालिक हुने भन्दै झुठो आवश्वसन दिने गरेको पीडिहरुको भनाइ छ । यो कम्पनीका नाईकेहरुले ४० हजार नेपालीको एक अर्बभन्दा बढी रकम ठगी गरेको पीडित पीडितहरुको अनुमान छ। एक जना व्यक्तिले मात्रै २५ लाख रुपैयाँसम्म लगानी गरी सो व्यवसायबाट ठगिएको पीडितहरु बताउँछन् । इन्फिनिटी व्यवसायबाट ठगिएका नेपालीहरु अहिले एक आपसमा जोडिएका छन् । इन्फिनिटी पीडित समूह नामक समूहमार्फत उनीहरु जोडिएका छन् । सामाजिक सञ्जालमार्फत जोडिएका पीडितहरुले ठगिनेहरुको विवरणहरु संकलन गरी रहेका छन् । उनीहरुले गुगलमा एउटा फाराम नै बनाएर पीडितहरुलाई आफू ठगिएको नाम र रकम उल्लेख गर्न अनुरोध गरेका छन् । जहाँ, अहिलेसम्म ८ सयभन्दा बढीले आफूठगीएको भन्दै विवरण उल्लेख गरेका छन् ।

यसममार्फत जोडिनेहरु प्रतिनिधि पात्र मात्रै हुन् । अधिकांश व्यक्तिहरुले आफू मात्रै एक्लै ठगिएका छैनन् । आफूसहित परिवार, आफन्त, साथीभाईसहित ठगिएका छन् । आफनो आइडीबाट अरुलाई रिफर गर्दा थप रकम पाइने प्रलोभन देखाएपछि कतिपयले व्यक्तिहरुलाई रिफर गरेका छन्। सयौं त्यस्तै, केही व्यक्तिहरु भने समाजिक प्रतिष्ठानको कारणले सार्वजनिक रुपमा आफू ठगिएको भन्न नचाहेको पीडित भिम बहादुर थापाको भनाइ छ ।

इन्फिनिटीका मुख्य सञ्चालक मानिएका राकेश पन्तले नेपालबाट संकलन गरिएको रकम आफनी श्रीमती भवानी सिटौलामार्फत दुबई पठाउने गरेको पीडितहरु बताउँछन् । नेपालबाट लगानी गर्ने व्यक्तिहरुबाट श्रीमती भवानी सिटौलाले नगद रकम नै उठाउँथिन् । यसको लागि विभिन्न व्यक्तिहरु परिचालन गरिने पिडितहरु बताउँछन्। लगानी रकम उठाउनका लागि बेलुका मात्रै भेट्ने गरेको पीडितहरुको भनाइ छ। त्यस्तै, विभिन्न खातामा रकम पठाउँन लगाउने समेत गरेको उनीहरु बताउँछन् । यसरी संकलन भएको रकम उनकी श्रीमती भवानीले दुबई पठाउने गर्थिन् । लामो समय दुबईमा काम गर्दै आएका गुल्मीका शेरु कुवँर विदामा नेपाल फर्किएका थिए ।

इन्फिनिटिका नाइकेहरुले नेपालबाट नै लगानी गर्न मिल्ने भन्दै उनलाई प्रेरित गरिरहे । शेरुले आफनो घडेरी बैकमा राखी पैसा निकाले । सो रकम विभिन्न खातामा जम्मा गरिदिएका उनले बताए । त्यस्तै उनले आफन्तलाई पनि रिफर गरे । यसरी उनीहरुबाट संकलन भएको रकम विभिन्न व्यक्तिलाई नगद नै दिएको उनको भनाइ छ । ‘विभिन्न व्यक्तिको नाम र नम्बर दिन्थे । उनीहरुले निश्चित स्थान भेट्न बोलाउँथे । प्रत्येक पटक नयाँ मान्छे हुन्थ्यो,’ उनले भने । त्यस्तै दाङका भिमकान्तले पनि नेपालबाट रकम मगाएर इन्फिनिटीमा लगानी गरेको बताउँछन् । दुबईबाट घरमा पैसा पठाउने साथीभाईसँग डलर लिन्थे र नेपालमा भएका परिवारलाई साथीको घरमा रकम भुक्तानी गर्न लगाउँथे । ‘घरमा पैसा पठाउन लागेका साथीभाईसँग डलर लिन्थे । अनि मेरो भाईलाई साथी परिवारलाई नेपालमा भुक्तानी गर्न लगाउथे,’ उनले भने ।

परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा १ ३७ करोड ६४ लाख बिगो कायम गरी मुद्दा दायर

यस विषयमा नेपाल सरकारले छानबिन गर्न जरुरी रहेको उनले बताए । यस्ता पिरामिड शैलीका व्यवसायबाट विदेशमा कार्यरत श्रमिक मात्र नभइ सिंगो राज्य समेत ठगिएको उनको भनाइ छ । ‘यसमा लगानी गर्नु गैरकानूनी हो। कानूनमा के छ रु नेपाल सरकरले पिरामिडमा आधारित व्यवसायलाई अवैध भनेको छ ।

ऐन विपरित यस्तो कार्य गरेमा कसूर गर्ने व्यक्तिलाई विगो खुलेको भए बिगो बमोजिमको जरिवाना र विगो नखुलेकोमा पाँच लाख रुपैयाँ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षदेखि पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने ऐन व्यवस्था छ । नेपाल राष्ट्र बैक, केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले भर्चुअल क्रिप्टोकरेन्सीहरको कारोबार गर्न तथा सोसँग सम्बन्धित पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध नहुन भनेको छ ।

पछिल्लो समय सरकार राजनीतिक दाउपेचमा ब्यस्त हुँदा र अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्री जर्नादन शर्मासमेत कमाउधन्दामा लाग्दा देशमा अनौपचारिक अर्थतन्त्रको धन्दा मौलाएको सम्बन्धितहरुले दाबी गर्दै आएका छन् । यस्तै नेपाल राष्ट्र बैंकसमेत अधिकारीहरुसमेतको भूमिका शंकास्पद रहँदै आएको आरोपसमेत लाग्ने गरेको छ ।

युएईलगायत रोजगारीका लागि नेपालीहरुको बाक्लो संख्या रहेका धेरै देशमा अबैध रुपमा नेटवर्किङ धन्दा चलाउदै आएका नेपालीले खुलेआम रुपमा नेपाली ठग्दै आएका छन । नेपालीहरुले नै बिभिन्न देशमा मुख्य कार्यालय रहेको भन्दै वेभसाईट बनाई ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्ड संचालन गरि करोडौ रकम असुलेका छन । उनीहरुको लगानीको एक बर्षमा २५६ प्रतिशत फाईदा भन्दै ठगी धन्दा चलाईरहेका छन ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #उजुरी

तपाईको प्रतिक्रिया दिनुहोस