Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए यूकेद्धारा बेलायतमा प्रधानमन्त्री देउवासँग भेट

एनआरएनए यूकेद्धारा बेलायतमा प्रधानमन्त्री देउवासँग भेट

नेपाली नागरिकताको निरन्तरता, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल–ब्रिटेन प्रत्यक्ष हवाई उडान सेवा पुनः सञ्चालन गर्न माग


काठमाडौं – बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए) यूकेले औपचारिक भेट गरेको छ । स्कटल्याण्डको ग्लास्गोमा यही कात्तिक १५ गते हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा बेलायतमा रहेका प्रधानमन्त्री देउबासँग नेपाली राजदूतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापनपत्र पनि पेश गरेको छ ।

बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेको पेश ज्ञापन पत्रमा नेपाली नागरिकताको निरन्तरता, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल–ब्रिटेन प्रत्यक्ष हवाई उडान सेवा पुनः सञ्चालन, विदेशमा रहेका नेपालीहरुले मतदानमा भाग लिन पाउने व्यवस्था र नेपालमा वैदेशिक लगानीमैत्री वातावरण बनाउन आग्रह गरिएको छ । संघको तर्फबाट उपाध्यक्ष गोविन्द खरेलले ज्ञापनपत्र वाचन गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरे । ‘एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘अरू के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु । एराइबल भिसाको सुविधा उपलब्ध गराइसकेको छ । भिसाका लागि झन्झट गर्नु पर्दैन ।’ अब नेपालबाटै भिसा लिन सकिने प्रधानमन्त्री देउवाले बताए । उनले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताए । एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बदल्नुपर्ने देउवाको भनाइ छ । त्यो तत्काल सम्भव नहुने देउवाले बताए ।

त्यसअघि एनआरएनए युकेले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो । भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरू राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय सल्लाहकार कुल आचार्य,एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायत एनआरएनए युकेका पदाधिकारीको उपस्थिति थियो ।

नेपाल–बेलायत समाजका पदाधिकारीको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–बेलायत समाजका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् । यहाँस्थित नेपाली राजदूतावासमा आज भएको भेटमा उनीहरूले समाजले लामो समयदेखि द्विपक्षीय सम्बन्ध प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र त्यसलाई अझ प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष एन्ड्रयु स्पार्क नेतृत्वको टोलीले नयाँ पुस्ताका बेलायतीलाई नेपाल भ्रमणमा अभिप्रेरित गराउन र नेपालप्रति सद्भाव बढाउन केही नयाँ ढङ्गले काम गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले बताए । प्रधानमन्त्री देउवाले समाजका गतिविधिबारे जानकारी लिँदै नेपालको गौरव र गरिमा बढाउन समाजलाई सक्रियातापूर्वक लाग्न आग्रह गरे । भेटमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलगायत भ्रमणदलका सदस्य सहभागी थिए ।


क्याटेगोरी : ग्लोबल, यूरोप
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस