Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए आइसीसीको कार्यकाल आइतबार सकिंदै, ८० प्रतिशत सदस्यहरु संरक्षक परिषदलाई जिम्मा दिनु पर्ने पक्षमा, अध्यक्ष पन्त पूर्व अध्यक्ष सहितको टिम बनाउने पक्षमा

एनआरएनए आइसीसीको कार्यकाल आइतबार सकिंदै, ८० प्रतिशत सदस्यहरु संरक्षक परिषदलाई जिम्मा दिनु पर्ने पक्षमा, अध्यक्ष पन्त पूर्व अध्यक्ष सहितको टिम बनाउने पक्षमा


काठमाडौँ – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को कार्यकाल थप्नु पर्ने मागलाई आइसीसीका बहुमत सदस्यहरुले अस्वीकार गरि दिएका छन्।

शनिबार भर्चुएल माध्यमबाट झन्डै सात घण्टा चलेको बैठकको शुरुमा केन्द्रीय अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयको पत्र पछि उत्पन्न परिस्थितिलाइ ध्यानमा राखी संघको दशौँ महाधिवेशन स्थगित गर्नु परेको बताएका थिए। उनले महाधिवेशन र चुनाव गराउन विधान अनुसार आइसीसीको पदावधि ६ महिना थप गर्न प्रस्ताव गरेका थिए। उनले ३० नोभेम्वर २०२१ भित्रै चुनाव गराउने गरि काम गर्ने पनि जनाएका थिए।

बैठकमा सहभागी एक आइसीसी सदस्यका अनुसार झन्डै ८० प्रतिशत आइसीसी सदस्यहरुले वर्तमान नेतृत्वले समय रहदै संस्था भित्र उत्पन्न समस्याहरु समाधान गर्ने तर्फ कुनै पहल नगरेकाले अधिवेशन तथा चुनाव गराउने जिम्मा संरक्षक परिषद्लाई दिनु पर्ने माग गरेका थिए। उनीहरुले ३० नोभेम्वरमा चुनाव गराउने प्रस्तावप्रति विश्वास गर्न नसकिने जनाएका थिए। उनीहरुले पदावधि बढाउनु पर्ने नै भए एउटा ‘रोड म्याप’ ल्याउन र डेलिगेट्स सम्बन्धी विवाद तत्काल समाधन गर्न पनि माग गरेका थिए।

युरोप क्षेत्रीय संयोजक तथा २०२१-२३ का लागि सचिव पदका उम्मेदवार नारायण आचार्यले संस्थालाई अनिर्णयको बन्दी नबनाउन र प्याकेजमा सहमति खोज्नु पर्ने धारणा राखेका थिए उनले संस्थामा हैकमवाद जारी रहे संस्था विघटनतिर जाने चेतावनी पनि दिएका थिए।

ती सदस्यका अनुसार उपाध्यक्ष मन केसीले परराष्ट्र मन्त्रालयले उठाएका विषयहरुलाई सम्बोधन गरेर मात्रै अगाडी बढ्नु पर्ने बताएका थिए। उनले संरक्षकहरुमाथि विश्वास गर्न पनि आग्रह गरेका थिए। पूर्व अध्यक्षहरु माथि विश्वास गर्न सक्दैनौं भने यो संस्था नै चाहिंदैन भन्दै उनले चुनावमा नजाने कार्यसमितिका पदाधिकारीहरु र पूर्व अध्यक्षहरुको टिम बनाएर महाधिवेशन र चुनाव गराउनु पर्ने सुझाव दिएका थिए। संस्थाका बहुसंख्यक आइ सी सी सदस्यको भावना विपरित निर्णय गरिए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी पनि उनले दिएका थिए।

‘संरक्षक परिषदलाई जिम्मा दिनु पर्ने माग’

त्यस्तै उपाध्यक्ष सोनाम लामाले पनि बैठकमा संरक्षक परिषदलाई जिम्मा दिनु पर्ने माग राखेका थिए। उनले परराष्ट्र मन्त्रालयको चिठीलाई सहज रुपमा लिनु पर्ने बताउदै जति सक्दो चाडो चुनाव गराउनु पर्ने बताएका थिए। अर्का उपाध्यक्ष बद्री केसीले परराष्ट्रको चिठीलाई संस्था भित्र शुद्धिकरण गर्न अवसर को रुपमा उपयोग गर्नु पर्ने बताउदै विद्यार्थीहरुलाई पनि एन आर एनको परिभाषा भित्र पार्नु पर्ने बताएको ती आइसीसी सदस्यले जनाए। बर्तमान कार्यसमितिको म्याद थप्ने बिषयमा भने उनले कुनै प्रतिकृया जनाएनन ।

त्यस्तै केन्द्रीय सल्लाहकार तथा २०२१-२३ का लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले परराष्ट्र मन्त्रालयले संघको विधानमा भएको कुरा मात्रै उल्लेख गरेको र विधान भन्दा बाहिर गएर केहि पनि नलेखेकोले बिधान र प्रकृया मिचेर गरिएका गल्ती सच्याएमा समस्यानै नहुने भनाइ राखेको बैठकमा सहभागि एक आइसीसी सदस्यले जानकारी दिए। उनका अनुसार आचार्यले साथीहरु परराष्ट्र मन्त्रालय सम्म जाने स्थिति कसरि बन्यो, त्यसको कारण पत्ता लगाए पछि मात्रै समस्याको समाधान खोज्न सकिने बताएका थिए। आचार्यले एमआइएस प्रणालीको दुरुपयोग गरिएका प्रमाणहरु फेला परेको बताउंदै आफुले अनैतीक राजनीति गरेर अरुलाई राजनीति गरेको दोष नलगाउन चेतावनी पनि दिएको बताइएको छ।

अर्का केन्द्रीय सल्लाहकार सोम सापकोटाले संघ भित्र अहिले संकटकालको जस्तो अवस्था रहेको बताउदै समस्या समाधानका लागि संरक्षक परिषद र सल्लाहकारहरुसंग बैठक राख्न सुझाव दिएका थिए।

तर बैठकको अन्त्यमा अध्यक्ष पन्तले सबै सदस्यहरुलाई आफुमाथि विश्वास गर्न र आइसीसीको पदावधि ६ महिना बढाउन प्रस्ताव राख्ना साथ उक्त प्रस्तावमाथि मतदान वा थप छलफल नै नगराइ जूम मिटिंग बन्द गरिएको थियो। पन्त ले २,३ दिन भित्र एउटा कमिटि गठन गर्ने पनि बताएका जनाइएको छ।

संघको १८ वर्षे इतिहासमा महाधिवेशन पर सारिएको यो पहिलो पटक हो। महाधिवेशन तथा चुनाव नै नगराइ कुमार पन्त नेतृत्वको आइसीसीको कार्यकाल आइतबार राती १२ बजेदेखि सकिंदै छ।

आइसीसी बैठकको बहुमत विना नै संस्थापन पक्षले पदावधि थपिएको दावी गरे त्यसको सशक्त विरोध गरिने एक आइसीसी सदस्यले जनाएका छन्।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस