Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनएको विवाद समाधान गरी निर्वाचन गराउन संरक्षक परिषद तयार

एनआरएनएको विवाद समाधान गरी निर्वाचन गराउन संरक्षक परिषद तयार


काठमाडौं – गैर आवासीय नेपाली संघ(एनआरएनए)मा हाल जारी विवाद समाधान गरी नयाँ निर्वाचन समेत गराउन संरक्षक परिषद तयार रहेको पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले बताएका छन् ।

आइतबार एनआरएनए युकेको अल्डरशटस्थित नयां कार्यालयको उद्घाटन पछि बोल्दै उनले त्यस्तो बताएका हुन् । आइतबार नै एक विज्ञप्ति जारि गर्दै गैर आवासीय नेपाली संघले परराष्ट्र मन्त्रालयको सुझाव अनुसार २०२१ अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्व निर्धारित १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गरिएको जनाएको थियो ।

संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबारका दिन भर्चुअल माध्यमबाट बसेको बैठकले मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

संघको दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवादका कारण महाधिवेशन स्थगित गरिएको हो । कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख संरक्षक डा. घलेले भने, ‘यदि हामीलाई जिम्मेवारी आयो भने, यदि त्यस्तो केहि भयो भने आउँदो १ या २ महिनामा हामीले यो समस्याको समाधान गरेर, महाधिवेशन बोलाएर नयाँ नेतृत्व चुन्ने प्रक्रिया पनि शुरु गर्न सक्छौं ।’

‘नेपाली समुदायको राष्ट्र संघको मोडेल’ कार्यक्रमलाई सम्बोधन गर्दै घलेले गैर आवासीय नेपाली संघलाई नेपाली समुदायको संयुक्त राष्ट्र संघको मोडेलमा लग्नु पर्ने सुझाव दिए। उनले भने, ‘अमेरिका, युके, अस्ट्रेलिया र जापान गैर आवासीय नेपाली संघका चार ओटा पिलरहरु हुन् । यो एउटा संस्था मात्रै होइन, एउटा संजाल हा े। अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) नेपालमा दर्ता भएकाले उसले राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुसंग समझदारीपत्रमा हस्ताक्षर गर्नु पर्छ र त्यस्तो समझदारीपत्र फरक फरक पनि हुन सक्छ ।’

उनले आफ्नो कार्यकालमा तयार पारिएको भिजन २०२० एण्ड बियोंड भन्ने दस्तावेज अझै कार्यान्वयनमा नल्याइएको भन्दै दुख पनि व्यक्त गरे। उनले वर्तमान नेतृत्वले एनआरएनएका पंजीकृत सदस्यहरुलाई बेवास्ता गरेको बताए । घलेले एनआरएनएलाई लाईफ टाइम मेम्बरसीपको मोडालिटीमा अघि बढाउनुपर्ने सुझाव पनि दिए । कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनालले एनआरएनएले बेलायतस्थित नेपाली दूतावासले एनआरएनए युकेसँग मिलेर काम गरिरहेको जनाइन् । उनले नेपाली नागरिकता निरन्तरताका लागि नेपाल सरकारसँग छलफल गरि बुझाउन आग्रह पनि गरिन् ।

एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा २०२१–२३ का लागि ‘टिम कुल’ बाट महासचिव पदका उम्मेदवार डा. केशब पौडेलले अहिलेको नेत्रित्वको असक्षमताले गर्दा महाधिवेशन र चुनाव अनिश्चित बन्न पुगेको बताए । उनले अहिले संघको केन्द्रीय सचिवालयले एमआइएस प्रणालीलाई संस्था कब्जा गर्ने उद्देश्यले कार्यान्वयन गरिरहेको आरोप पनि लगाए ।

उनले एनसीसीहरुलाइ स्वतन्त्र र स्वायत्त बनाउनु पर्नेमा जोड दिए । त्यस्तै संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले अहिले संघलाई संकुचित घेरा भित्र राख्न खोजिएको आरोप लगाए । कार्यक्रममा एनआरएनए युकेका प्रमुख संरक्षक शेर बहादुर सुनार, एनआरएनए युकेका पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री तथा आगामी महाधिवेशनमा विभिन्न पदका उम्मेद्वारहरुले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमका सभापति तथा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले नयाँ कार्यालयको उद्घाटन पछि कार्यालयको काम व्यवस्थित र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे । ‘एनआरएन डे’ को अवसर पारेर आयोजित समारोहमा प्रमुख अतिथि घलेले केक पनि काटेका थिए ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस