Techie IT
×
गृहपृष्ठग्लोबलनेपाल व्यवसायी संघ कतारले गर्यो करोड भन्दा माथिको स्वास्थ्य सामग्री सहयोग, सात वटै प्रदेशमा समान वितरण गरिने

नेपाल व्यवसायी संघ कतारले गर्यो करोड भन्दा माथिको स्वास्थ्य सामग्री सहयोग, सात वटै प्रदेशमा समान वितरण गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा उच्च प्रशंसा 


दोहा – कतारमा सन् २०१८ मा स्थापित तथा कानुनी मान्यता पाएको नेपाली व्यवसायी सङ्घ कतारले एक करोड भन्दा बढीको स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेकाे छ l त्रिभुवन विमानस्थलबाट आइतबार १४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, एक्काइस सय पल्स अक्सिमिटर र ५० वटा नसल क्याननुल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल हस्तान्तरण गरिएको हो।

कोभिड १९ को दोस्रो भेरियन्टका कारण नेपालमा नागरिकले ज्यान गुमाई रहँदा र दैनिक हजारौँको सङ्ख्यामा नागरिक प्रभावित भएको परिप्रेक्ष्यमा नेपालको मौजुदा स्वास्थ्य संरचनाले मात्र महामारी नियन्त्रण गर्न असम्भव प्राय देखिएको सङ्घद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ l सङ्घमा आबद्ध व्यवसायीहरूबाट १ करोड २० लाख बराबर रकम सङ्कलन गरी एक द्वार प्रणालीलाई अवलम्बन गर्दै हस्तान्तरण गरिएको सङ्घले जनाएको छ l

हस्तान्तरण कार्यक्रममा सङ्घको तर्फबाट टि बि कार्की, शङ्कर न्यौपाने, पीताम्बर चापागाईं, दिन्सन बोहरा, प्रेम चौलागाई, मोहन अधिकारी, मधुकर रिजाल, दुर्गा थापा तथा मिडियाकर्मीको उपस्थिति रहेको थियो l

आफूहरूको सानो सहयोगले मातृभूमि नेपाल र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको पीडामा मलहमको काम गर्ने विश्वास सहित सहयोग गरिएको सङ्घका अध्यक्ष महेन्द्र चौलागाईले बताएका छन् l उक्त स्वास्थ्य सामाग्रीहरू सात (७) वटै प्रदेशमा समानरुपले मन्त्रालयको मातहतमा वितरण हुने सङ्घका महासचिव रमेश भट्टले जानकारी दिएका छन् l

 सहयोगका लागि उत्प्रेरित गरी उत्प्रेरणा र हौसला प्रदान गर्ने कतार स्थित नेपाली राजदूतावासका राजदूत नारदनाथ भारद्वाज लगायत सम्पूर्ण दूतावास परिवार एवं सहयोग दाताहरू प्रति सङ्घले आभार प्रकट गरेको छ l

सङ्घले कोभिड १९ को कारण कतारमा रहेका पीडित नेपालीहरूलाई राहत वितरण गर्नेदेखि अलपत्र नेपालीलाई स्वदेश फिर्ताको लागि हवाई टिकट समेत व्यवस्था गरी उद्धार समेत गर्ने गरेको छ l कतारमा नेपालीको लगानीमा रेस्टुरेन्ट, मेडिकल, निर्माण कन्ट्रक्सन, ग्यारेज, किराना पसल, श्रमिक आपूर्ति कम्पनीहरू सञ्चालित छन् । कतारमा करिब तीन लाख ५० हजार नेपाली कार्यरत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा उच्च प्रशंसा 

यसै विच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल व्यवसायी संघ कतारले गरेको सहयोग प्रति उच्च प्रसंशा गर्दै एक पत्र जारी गरेको छ।  पत्रमा कोभिड १९ विरुद्धको लडाइमा संघले खेलेको भूमिका उच्च प्रशंसनीय रहेको बताउंदै आगमि दिनहरू समेत निरन्तरताको अपेक्षा व्यक्त गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ डा. रोशन पोखरेल द्वारा हस्ताक्षरित पत्रमा संघ ले उपलब्ध गराएको सामाग्री हरूको विवरण सहित मन्त्रालयले बुझिलेको उल्लेख गरिएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रशंसा पत्र 

 

संघले जारी गरेको प्रेस विज्ञप्ति 

आदरणिय पत्रकार मित्रहरु, भद्र महिला तथा सज्जनवृन्द साथै संपूर्ण नेपाली व्यवसायी साथिहरु ।
यहाँहरु सम्पूर्णमा हार्दिक नमस्कार ।

आरदणिय पत्रकार मित्रहरु
नेपाली व्यवसायी संघ कतार सन् २०१८ मा स्थापना भई कतारमा रहेका समग्र व्यवसायीहरुको हकहितका लागि विभिन्न गतिविधिहरु गरिरहेको यहाँहरुलाई अवगत नै छ । संघले आफ्नो मातहतमा रहेका व्यवसायीहरुको सकृयतामा नेपाली समाज प्रति गर्नुपर्ने दायीत्वहरु समेत पूरा गर्ने क्रममा कोभिड १९ को कारण कतारमा रहेका पिडित नेपालीहरुलाई राहत वितरण गर्ने देखि अलपत्र नेपालीलाई स्वदेश फिर्ताको लागि हवाई टिकट समेत व्यवस्था गरि उद्धार गरेको समेत सम्पूर्ण मिडिया जगतलाई जगजाहेर नै छ ।

तर कोभिड १९ को दोस्रो भेरियन्टका कारण नेपालमा एक प्रकारको महामारी नै सृजना भई अक्सिजनको अभावमा हजारौंको संख्यामा हामीले हाम्रा नेपाली दाजुभाई गुमाईरहँदा र दैनिक हजारौंको संख्यामा नागरीक प्रभावित भएको परिपेक्षमा फेरी पनि नेपालको मौजुदा स्वास्थ्य संरचनाले मात्र यो महामारी नियन्त्रण गर्न असम्भव प्राय देखिएको र प्रभावित नागरिकहरु यसका लागि अत्यावश्यक सामान्य स्वास्थ्य सुविधा भेन्टीलेटर अक्सिजन सन्सन्ट्रेटर, पल्स अक्सिमिटर, नेजल क्यानुला आदीबाट समेत वन्चित हुनुपरेको अवस्थामा यस संघको तर्फबाट रु. १ करोड २० लाख रकम संघमा आवद्ध व्यवसायीहरुबाट संकलन गरी स्वास्थ्य सामाग्री खरिद गर्दै एक द्धार प्रणालीलाई अबलम्बन गर्दै आज हस्तान्तरण गरेका छौं ।

हस्तान्तरण कार्यक्रममा हाम्रो संघको तर्फबाट श्री टि बि कार्की, श्री शंकर न्यौपाने ज्यू, श्री पिताम्बर चौलागाईं  ज्यू, श्री दिन्सन बोहरा ज्यू, श्री प्रेम चौलागाई ज्यू, श्री मोहन अधिकारी ज्यू, श्री मधुकर रिजाल ज्यू, श्री दुर्गा थापा ज्यू र मिडिया कर्मी श्री होम कार्की ज्यूले प्रतिनिधित्व गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ डा. रोशन पोखरेल ज्यूहरुलाई विभिन्न मिडिया हाउसका सञ्चार कर्मी ज्यूहरु, बुद्धिजिबि र सरोकार वालाहरुको विशेष उपस्थितिमा हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्रीहरु सात (७) वटै प्रदेशमा समानरुपले मन्त्रालयको मातहतमा वितरण हुनेछ ।

हामीले गरेको सानो सहयोगले पनि मातृभुमि नेपाल र नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको पिडामा मल्हमको काम गर्नेछ भन्ने पूर्ण विश्वास सहित हस्तान्तरित सामानको विवरण तपशिलमा उल्लेखत छ । यस क्रममा हामीहरुलाई उत्प्रेरित गरी उत्प्रेरणा र हौसला प्रदान गर्नुहुने कतार स्थित नेपाली राजदुतावासका महामहिम राजदुत नारदनाथ भारद्वाज लगाएत सम्पूर्ण दुतावास परिवार एवं सहयोग दाताहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं ।

स्वास्थ्य सामाग्रीको विवरण
क. भेन्टिलेटर १४ थान (चौध थान)
ख. अक्सिजन कन्सन्ट्रेटर ४२ थान (बयालिस थान)
ग. पल्स अक्सिमिटर २१०० थान (दुईहजार एक सय थान)
घ. नेजल क्यानुला ५० थान (पचास थान )
जम्मा २२०६ थान (दुईहजार दुईसय छ थान मात्र)

स–धन्यवाद सहित

महेन्द्रचौलागाई                               रमेशभट्ट
अध्यक्ष                                            महासचिव
नेपालीव्यवसायीसंघ, कतार           नेपालीव्यवसायीसंघ, कतार


क्याटेगोरी : ग्लोबल
ट्याग : #corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस