Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाराष्ट्रपतिमा कांग्रेसको दाबी कायमै, एमाले नछाडने अडानमा

राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै, एमाले नछाडने अडानमा


काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपतिमा कांग्रेसको आफ्नो दाबी कायमै राखेको छ ।

सत्ता गठबन्धनको मुख्य दल नेकपा एमाले कुनै पनि हालतमा राष्ट्रपति पद नछाडने बताइरेपनि कांग्रेसले भने राष्ट्रिय सहमतिका लागि भन्दै राष्ट्रपति आफुले पाउनुपर्ने लविङ जारी राखेको छ ।

पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो तर कांग्रेस सरकारमा जान होइन । सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो ।”

“संसद्मा गुण र दोषका आधारमा हामीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं, सरकारलाई समर्थन गरे पनि हामीहरु सरकारमा जाने भनेको होइन”, नेता महतले भने । नेपाली कांग्रेस नेता डा महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर्ने भनेकाले उनको त्यो प्रतिबद्धताको परीक्षण गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको हो भने ।

संविधान रक्षाको जिम्मेवारी राष्ट्रपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्याङ्कनमा त्रुटि भएकाले गठबन्धन भत्केको बताए । प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको तर कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको पनि स्पष्ट गरे । उनले राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता इच्छुक रहेकाले उपयुक्त समयमा पार्टीले निर्णय गर्ने पनि बताए ।
राष्ट्रपतिको निर्वाचन समयमै हुनुपछ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राखे । संविधान र निर्वाचन कानून बाँझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भने, “राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । यो बेलामा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्छ ।”

नयाँ राष्ट्रपति सहमतिमा बनाउन माओबादीले प्रयत्न जारी राख्ने

पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताए । “खासगरी नेकपा (माओवादी) केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौँमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ ।”

महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै थापाले भने, “त्यसो भयो भने राजनीतिमा सन्तुलन ल्याउँछ ।”

महामन्त्री थापाले एकल तागतका आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे । अरुसँग मिलेर जाँदा कांग्रेस बलियो नहुने विगतले देखाइसकेको भन्दै पार्टीलाई एकढिक्का बनाएर जानुको विकल्प नभएको थापाले बताए । नेपाली कांग्रेस नयाँ कार्यक्रमका साथ पुनः जनतामाझ आउने थापाको भनाइ थियो । फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउने र वैशाखमा नीति अधिवेशन गर्ने तयारी भइरहेको महामन्त्री थापाले बताए । सरकार नहुँदैमा सबै सिद्धियो भन्ने सोच्नु गलत रहेको भन्दै उनले अब त्यसमै अल्झिएर बस्न नहुने बताए ।

कांग्रेस बैठक विशेष कारणवस स्थगित
नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको छ । निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


क्याटेगोरी : पत्रपत्रिका
ट्याग : #breaking, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस