Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाजीवित शिशु मृत घोषणा प्रकरण : छानबिन समिति गठन

जीवित शिशु मृत घोषणा प्रकरण : छानबिन समिति गठन


विराटनगर । कोसी अस्पताल विराटनगरमा जीवित शिशुलाई मृत घोषणा गरिएको घटना छानबिन गर्न समिति गठन भएको छ।

अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको हो। अस्पतालमा बिहीबार बसेको बैठकले डा.झासहित बालरोग विशेषज्ञ डा। सूर्यकान्त चौधरी र प्रशासनतर्फका कर्मचारी रामप्रसाद नेपाल सम्मिलित छानबिन समिति गठन गरिएको हो। समितिलाई सात दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन भनिएको छ।

बुधबार कोसी अस्पतालको इमर्जेन्सीमा पुयाइएकी १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै मेडिकल अफिसर डा. आकाश यादवले मृत घोषणा गरिदिएका थिए। चिकित्सकले मृत घोषणा गरेपछि दाह संस्कारका लागि लैजाँदै गर्दा बीच बाटोमा बच्चा रोएको थियो।

चिकित्सकले मृत घोषणा गरेको बच्चा रोएपछि परिवारका सदस्यले अस्पतालले चरम लापरबाही गरेको भन्दै विरोध गरेका थिए। सोही कारण बुधबार दिनभर कोसी अस्पतालमा तनाव भएको थियो भने शिशुका परिवारका सदस्यले चिकित्सक दिलीप मुखियामाथि हातपात गरी घाइते बनाइदिएका थिए। घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउसमेत गरेको थियो।

मोरङको जहदा गाउँपालिका–३ का दिलीप मुखियाले १८ दिने नवजात शिशुमा श्वासप्रश्वासको समस्या भएपछि बुधबार बिहान ८ बजे अस्पताल लैजानुभएको थियो। बुवा दिलीप र आमा उमा मुखियाले अस्पताल पु(याउँदा शिशुको स्वास्थ्य चिन्ताजनक थियो। चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि शिशुलाई उपचारमा नराखी मृत घोषणा गरिदिएका थिए। कोसी अस्पतालले मृत घोषणा गरेका शिशुको अहिले नजिकैको गोल्डेन अस्पतालको एनआईसीयूमा राखेर उपचार भइरहेको दिलीप मुखियाले जानकारी दिनुभयो।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस