Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाएक करोड मतपत्र छाप्न बाँकी

एक करोड मतपत्र छाप्न बाँकी


मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको छ

आगामी मङ्सिर ३ गतेसम्म कायम हुने मतदाताको सङ्ख्याका आधारमा यस पटक समानुपातिकतर्फ करिब चार करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब चार करोड मतपत्र आवश्यक पर्नेछ ।

आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार पाँच सय मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ । छपाइ भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्रमध्ये एक करोड २९ लाख ५३ हजार पाँच सय प्रदेश सभा तथा एक करोड ४६ लाख ३५ हजार प्रतिनिधि सभाको मतपत्र रहेका छन् । जसमा प्रतिनिधि सभाका लागि ५० र प्रदेश सभातर्फ ४६ जिल्लाको मतपत्र समावेश छन् ।

धमाधम ढुवानी

निर्वाचन आयोगले छपाइ सँगसँगै ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ । जसमा प्रतिनिधि सभाको मतपत्र ३९ लाख १९ हजार र प्रदेश सभाको मतपत्र ३९ लाख ४३ हजार रहेका छन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ । ढुवानी भएका जिल्लामा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालीकोट, दैलेख र सुर्खेत रहेका छन् । हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुरा जिल्लाका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ । यी जिल्लामा सुर्खेतबाट हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिनेछ ।

आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित मतपत्र प्रयोग गर्ने भएकाले यस पटक निर्वाचन क्षेत्रअनुसार फरक फरक मतपत्र प्रयोग हुनेछ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभाका लागि देशैभर एउटै मतपत्र प्रयोग हुनेछ । प्रदेश सभाका लागि भने प्रदेशमा कायम रहेका दलको सङ्ख्याअनुसार फरक फरक मतपत्र प्रयोग हुनेछ ।

आयोगले ढुवानी भएका जिल्लाहरूमा अस्थायी मतदाताका लागि प्रयोग हुने मतपत्रसमेत पठाएको छ । अस्थायी मतदाताको सूचीमा कर्मचारी, सुरक्षाकर्मी, कैदी, वृद्धाश्रमका व्यक्तिलगायतलाई समेटिएको छ । उनीहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाका लागि मात्र मतदान गर्न पाउनेछन् । आयोगले १६ गतेसम्ममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा मतपत्र ढुवानी गरिसक्नेछ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका
ट्याग : #निर्वाचन आयोग

तपाईको प्रतिक्रिया दिनुहोस