Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाकांग्रेस महाधिवेशन : ६ वटा प्रदेशमा आज मनोनयन, भोलि मतदान

कांग्रेस महाधिवेशन : ६ वटा प्रदेशमा आज मनोनयन, भोलि मतदान


काठमाडौँ

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको छ । कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो ।

कांग्रेस प्रदेश अधिवेशनमा केन्द्रीय महाधिवेशनमा जस्तै पार्टीभित्रको गुटअनुसार नै नेतृत्व हात पार्न प्रतिस्पर्धा हुने देखिएको छ । जसअनुसार कांग्रेसको संस्थापन पक्ष, संस्थापन इतर पक्ष र तेस्रो धारका बीच प्रतिस्पर्धा हुने देखिएको हो । प्रदेश नेतृत्व चयनका लागि आज शुक्रबार सातमध्ये ६ प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । प्रदेश २ मा भने अधिवेशन पछि हुनेछ ।

प्रदेश १ मा देउवा–सिटौला सहकार्य
कांग्रेस प्रदेश अधिवेशनमा प्रदेश १ मा देउवाले नेतृत्व गरेको संस्थापन समूह र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समूहबीच सहकार्य हुने सम्भावना बढेको छ । सो प्रदशेमा सिटौला समूहले उद्धव थापालाई उम्मेदवार बनाएको छ ।

यसैगरी, प्रदेश १ मा संस्थापन इतर समूहले गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे हाल कांग्रेस केन्द्रीय सदस्य छन् ।

प्रदेश २ मा निधीको हात
प्रदेश २ को अधिवेशनमा सभापतिका लागि रामसरोज यादव, महेन्द्रराय यादव र कृष्ण यादव गरी अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन् । तीन जना आकांक्षीमध्ये रामसरोज र कृष्ण कांग्रेस उपसभापति विमेलेन्द्र निधीनिकट हुन् । महेन्द्र राय यादव भने देउवानिकट मानिन्छन् । प्रदेश २ मा निधीकै प्रभाव बढी छ ।

प्रदेश २ मा संस्थापन इतर समूहले कसलाई उम्मेदवार बनाउने भन्ने तय भएको छैन । पर्सा जिल्लाका पूर्वसभापति राजेन्द्र अमात्यले संख्यात्मक हिसाबले कमजोरसमेत भएकाले उम्मेदवार’दयगत तय नभएको बताए ।

प्रदेश २ का जिल्लाहरूमा क्षेत्रीय अधिवेशन नै बाँकी रहेकाले शुक्रबारसम्म क्षेत्रीय अधिवेशन सक्ने तयारी भइरहेको र आइतबार अधिवेशन गरिने प्रदेश २ का लागि संयोजक तोकिएका नेता रमेश रिजालले जानकारी दिए ।

बाग्मतीमा त्रिपक्षीय भिडन्त हुँदै
बाग्मती प्रदेशमा संस्थापन पक्षबाट इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी, संस्थापन इतरतर्फबाट जगदीशनरसिंह केसी उम्मेदवार तय भइसकेका छन् भने सिटौला समूहबाट काठमाडौं कांग्रेसका पूर्वसभापति एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान अघि बढेका छन् । यसरी हेर्दा बाग्मतीमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

गण्डकीमा आकांक्षी धेरै
गण्डकी प्रदेशको प्रदेश नेतृत्व लिन संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशी अघि बढेका छन् । यसैगरी, कास्की कांग्रेसका सभापतिको अनुभव लिइसकेका देवराज चालिसे, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्कीका पूर्वसभापति शुक्रराज शर्मा, तनहुँ कांग्रेसका पूर्वसभापति रघुनाथ पौडेल संस्थापन इतर समूहबाट आकांक्षी छन् ।

लुम्बिनीमा तोकिए
लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि पार्टीभित्रका दुईवटा पक्षले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन पक्षबाट रूपन्देहीका संघीय सांसद एवं सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह र संस्थापन इतर पक्षबाट रोल्पाका नेता अमर पुनले उम्मेदवारी घोषणा गरेका हुन् ।

कर्णालीमा शाह र शाही
कर्णाली प्रदेश सभापतिमा संस्थापन समूहले राजीवविक्रम शाहलाई सभापतिको उम्मेदवार बनाउने भएको छ । यस्तै संस्थापनइतर समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने तय भइसकेको छ । शाही तरुण दलका महामन्त्री हुन् । यो प्रदेशमा संस्थापन पक्ष बलियो छ ।

सुदूरपश्चिममा संस्थापनकै भिडन्त
सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा संस्थापन समूहबीच नै प्रतिस्पर्धा हुने भएको छ । सो प्रदेशमा संस्थापन पक्षका नेताहरू रमेश लेखक र एनपी साउदबीच नै प्रदेश अधिवेशनमा पनि प्रतिस्पर्धा हुने भएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

 


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस