Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाकांग्रेस चुनाव : यी हुन् केन्द्रीय सभापतिका १० र महामन्त्रीका ८ उम्मेदवार, कडा टक्कर

कांग्रेस चुनाव : यी हुन् केन्द्रीय सभापतिका १० र महामन्त्रीका ८ उम्मेदवार, कडा टक्कर


काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट रहेको छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गरिरहेको छ ।

कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा हालसम्म ८ जनाले उम्मेदवार बन्ने तयारी गरिरहेका छन् ।कांग्रेस विधानमा २ जना महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ । सो २ पदका लागि पार्टीभित्रका फरक–फरक गुटबीच नै प्रतिस्पर्धा हुने भएको छ ।

महामन्त्री पदमा कांग्रेसको हालको संस्थापन समूह अर्थात् सभापति शेरबहादुर देउवानिकट समूहबाट बालकृष्ण खाँण, एनपी साउँद, रमेश लेखक, डा। प्रकाशरण महत र विश्वप्रकाश शर्मा भिड्ने तयारीमा रहेका छन् ।

खाँण हाल सरकारमा गृहमन्त्री रहेका छन् भने शर्मा कांग्रेस प्रवक्ता रहेका छन् । देउवाले आफ्नो टीममा यी नाममध्ये २ जना छान्ने सम्भावना रहन्छ तर कसलाई छान्नेछन् भन्ने यकिन भएको छैन ।

संस्थापनइतर समूहबाट डा। मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलले महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

रिजाल संस्थापनइतर समूहअन्तर्गत वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालानिकट मानिन्छन् । उनी हाल सरकारमा रक्षामन्त्री छन् । थापा र पौडेल नेता कृष्णप्रसाद सिटौला समूहसँग निकट मानिन्छन् ।

अन्तिम समयसम्म आकांक्षी अझै बढ्ने सम्भावना पनि छ । नेता थापाले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा भदौ ३० गते आयोजित एक कार्यक्रममा महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् ।

शर्माले संस्थापक नेता बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसर पारेर भदौ २४ गते सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेता पौडेलले आफ्नै निर्वाचन क्षेत्र तनहुँ २ को शुक्लागण्डकी नगरपालिका–८ मा आयोजित एक कार्यक्रममा केही समयअघि उम्मेदवारी घोषणा गरेका छन् । महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेता पौडेलले कांग्रेसको संठन विस्तारसँगै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै कांग्रेसको कार्य क्षमतालाई थप सशक्त बनाउने लक्ष्य आफूले राखेको बताएका छन् ।

‘कांग्रेसको संठनलाई निर्वाचनमुखी बनाउनु छ, आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै कांग्रेसको आन्तरिक र बाह्य कार्य क्षमतालाई थप सशक्त बनाउने उद्देश्य लिएर म महामन्त्रीका लागि अघि बढेको छु,’ पौडेलले भने । नेता थापा भने सभापतिमा देउवाइतर समूहलाई एकै ठाउँमा ल्याउन प्रयासरत छन् । उनले तेस्रो धारको नेतृत्व गरिरहेका पूर्व महामन्त्री सिटौलालाई पनि सोही समूहमा ल्याउन आफू प्रयास रहेको बताएका छन् ।

संस्थापन समूहबाट देउवा आफैं सभापतिमा भिड्दै छन् । सो समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि सभापतिमा उठ्ने घोषणा गरेका छन् । यसैगरी, संस्थापनइतर समूहबाट वरिष्ठ नेता पौडेल, नेता सिटौला, महामन्त्री डा। कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा। शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङले सभापतिमा आकांक्षी रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस