Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाकांग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व

कांग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व


काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसले अबको ३ हप्ताभित्र नयाँ नेतृत्व पाउँदैछ ।

कांग्रेसको केन्द्रीय नेतृत्व छान्न १४औं महाधिवेशन मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुँदैछ ।कांग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान श्रेष्ठ र नेत्री सुजाता कोइराला दौडमा रहेका छन् ।

कतिपय नेताहरुले सम्पर्क कार्यालय नै खोलेर चुनावी अभियान सुरू गर्दै आएका छन् । कतिपय आन्तरिक रुपमा भेटघाटका लागि दौडाहामा रहेका छन् ।

कांग्रेस विधानमा सभापतिमा जति जना मैदानमा उत्रिए पनि निर्वाचित सभापतिपछि हार्नेमध्ये दोस्रो बढी मत ल्याउने व्यक्ति मात्रै सम्बन्धित कार्यसमितिको सदस्य हुने प्रावधान छ । दोस्रो मत नपाए अन्य उम्मेदवारहरु त्यो कार्यसमितिको कार्यकालभर कार्यसमिति बाहिरै बस्नुपर्ने हुन्छ ।

‘पार्टीका सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ,’ विधानमा उल्लेख गरिएको छ ।

कांग्रेस विधानको परिच्छेद १० अन्तर्गत केन्द्रीय विभागसम्बन्धी व्यवस्थाको विभागहरुको काम, कर्तव्य र अधिकारअन्तर्गत ६५ नम्बर बुँदामा सोसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । कांग्रेस नेता मीन विश्वकर्माले विधानमा उल्लेख भए अनुसार सभापतिपछि दोस्रो मत ल्याउने नेता मात्रै केन्द्रीय कार्यसमितिमा सदस्यका रुपमा रहने प्रष्ट व्यवस्था रहेको बताएका छन् ।

‘विधानमा नै प्रष्ट छ, सभापतिपछिको दोस्रो बढी मत ल्याउने नेताको मात्रै केन्द्रीय समितिमा प्रतिनिधित्व हुन्छ, बाँकीलाई के गर्ने भन्ने विधानमा व्यवस्था छैन । सभापतिले चाहँदा मनोनित हुने ठाउँ रहन्छ । नत्र त्यो कार्यकालभर केन्द्रीय कार्यसमिति बाहिरै बस्ने हो,’ उनले भने ।

पार्टी विधानअनुसार हेर्ने हो भने आगामी महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा उत्रिने नेताहरु महाधिवेशनमा दोस्रो नम्बरमा नपरे केन्द्रीय कार्यसमितिबाटै ‘रिङ आउट’ हुने भएका छन् ।

कांग्रेस नेता भीमसेनदास प्रधान व्यावहारिक रुपमा निर्वाचित सभापतिले चाहे भने हार्ने उम्मेदवारहरुलाई निगाहामा मनोनित गरेर केन्द्रीय कार्यसमितिमा ल्याउन सक्ने बताउँछन् । उनका अनुसार त्यो सभापतिको चाहनामा भर पर्नेछ । विधानमा भने त्यस्तो स्पष्ट व्यवस्था छैन ।

विधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय सभापतिका लागि मैदानमा उत्रिएकाहरु साँच्चै सभापतिमा भिड्छन् वा ‘ब्याक’ हुन्छन् भन्ने प्रश्न अब देखिँदै जानेछ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस