Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाएमालेका मुख्य पदहरूमा यी नेताबीच टक्कर, केपी ओलीको साथ कसलाई ? (नामसहित)

एमालेका मुख्य पदहरूमा यी नेताबीच टक्कर, केपी ओलीको साथ कसलाई ? (नामसहित)


काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा प्रमुख पदका आकांक्षी बढ्दै गइरहेका छन् ।

अबको १ हप्तापछि एमालेले आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

एमालेको १०औं महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जना पदाधिकारी सहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने तयारी छ ।

एमालेको महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारी र केन्द्रीय सदस्य को हुने चर्चा समेत सुरू भएको छ । महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत गर्ने दाबी हुँदै गर्दा नेताहरुले विभिन्न पदमा दाबी पेश गरिरहेका छन् ।

यही जोडघटाउ र रस्साकस्सीबीच १०औं महाधिवेशनबाट १५ पदाधिकारीमा को–को आउने भन्ने सर्वाधिक चासो देखिएको छ ।

एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली नै दोहोरिने देखिएको छ । नवौं महाधिवेशनमा कक्षा नदोहोर्‍याउने उद्घोष ओलीले गरेका थिए तर ओली पक्षमा रहेका नेताहरुले एमालेमा ओलीको विकल्प नै नभएको भन्दै उनकै नेतृत्वमा अगामी नेतृत्व सर्वसम्मत चयन हुने दावी गर्दै आएका छन् ।

एमालेका पूर्व प्रमुख माधवकुमार नेपाल, झलनाथ खनालले ओलीको कार्यशैलीप्रति विरोध गर्दै पार्टीबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका छन् । अर्का प्रभावशाली नेता बामदेव गौतमले उपाध्यक्ष पदबाट राजीनामा गरेका छन् ।

यस्तो अवस्थामा ओलीलाई टक्कर दिने प्रभावशाली नेता एमालेमा देखिएका छैनन् । ओलीनिकट नेताहरुले दाबी गरेअनुसार सर्वसम्मत वा चुनाव जे भए पनि ओलीको विकल्प एमालेमा छैन ।

तर ओलीसँग प्रतिस्पर्धा गर्ने उद्घोष उपाध्यक्ष भीम रावलले गरेका छन् । पूर्व नेपाल, खनाल पक्षका नेता रावलले गृहजिल्ला अछामबाट अध्यक्षमा प्रतिपस्र्धा गर्ने उद्घोष गरे पनि तयारी गरेका छैनन् । एमालेभित्र वरिष्ठ उपाध्यक्षका लागि रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेको चर्चा हुँदैछ ।

एमाले उपमहासचिव घनश्याम भुसाल समेत अध्यक्षमा प्रतिस्पर्धा गर्नका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । भुसालनिकट नेताका अनुसार अगामी महाधिवेशनमा सर्वसम्मत हुन नसक्ने दाबी गर्दै अध्यक्षमा भुसालले प्रतिस्पर्धा गर्ने बताउँछन् । यद्यपि औपचारिक रुपमा भुसालले अझै अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छैनन् ।

कतिपयले महासचिव पाउन भुसालले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्ने चर्चा चलाएको।आरोप समेत लगाएका छन् ।

ओली पुनः अध्यक्ष हुनुपर्नेमा ओली पक्ष एकठाउँमै रहेको देखिएको छ । पूर्व माओवादीबाट एमाले भएका नेताहरुले समेत ओलीकै नेतृत्वमा आफूहरु समेत सर्वसम्मत आउन खोजेको देखिएको छ । पूर्व नेपाल–खनाल पक्षमा रहेका नेताहरु समेत ओली क्याम्पमा पुगेकाले ओली सर्वसम्मत वा निर्वाचन जे भए पनि अध्यक्षमा दोहोरिने पक्का देखिरहेका छन् ।

एमालेमा अध्यक्षपछिको महत््त्वपूर्ण पद वरिष्ठ उपाध्यक्ष हो । वरिष्ठ उपाध्यक्षका लागि ३ जना आकांक्षी देखिएका छन् । उपाध्यक्ष रावलसहित महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य रामबहादुर थापाले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन् ।

एमाले स्रोतका अनुसार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलको भित्री चाहना सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष पाउनका लागि हो । वरिष्ठ उपाध्यक्ष पद पाएको अवस्थामा ओलीसँग उनी प्रतिस्पर्धा गर्ने छैनन् । ओलीबाट उनले वरिष्ठ उपाध्यक्षको ग्यारेन्टी खोजेका छन् तर ओलीले ‘ग्रिन सिग्नल’ अझै दिएका छैनन् ।

महासचिव पोखरेलले १०औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । शर्तसहित अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका पोखरेलको भित्री चाहना नै वरिष्ठ उपाध्यक्ष पाउनु हो । पोखरेलको शर्त ओली अगामी महाधिवेशनमा अध्यक्षमा नलडे आफूले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन् । खासमा उनले ओलीपछिको ‘पोर्टफोलियो’ खोजेका छन् ।

२ पटक लगातार महासचिव भइसकेका पोखरेल एमाले विधानअनुसार पुनः महासचिव हुन पाउने छैनन् । त्यसैले उनी ओलीले अध्यक्षमा चाहना नराखेको अवस्थामा आफू सो पदका लागि प्रतिस्पर्धा गर्न तयार रहेको सन्देश दिएका छन् । ओलीकै चाहनाअनुसार पोखरेल वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष हुने निश्चित देखिएको छ तर उनको चाहना ओलीपछिको पोर्टफोलियो अर्थात् वरिष्ठ उपाध्यक्ष नै रहेको छ ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी हुन् रामबहादुर थापा ‘बादल’ । पूर्व माओवादी केन्द्रबाट एमाले भएका उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक तोकिएका थापाले हालसम्म अध्यक्ष ओलीबाट साथ सहयोग पाउँदै आएका छन् ।

एमालेको विधानअनुसार अगामी महाधिवेशनबाट ४ जना उपाध्यक्ष चयन हुनेछन् । नवौं महाधिवेशनबाट ५ जना उपाध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्ष बामदेव गौतम राजीनामा दिइसकेका छन् । अर्का उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि उपाध्यक्ष पद खाली रहेको छ ।

अहिले उपाध्यक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली छन् । यी तीनै जना नेता पूर्व नेपाल–खनाल पक्षका हुन् । शाक्य र ज्ञवाली पुनः उपाध्यक्षमै दोहोरिन खोजेका छन् । ओली पक्षका नेताहरु सुवासचन्द्र नेम्वाङ, लालबाबु पण्डित, किरण गुरुङ, टोपबहादुर रायमाझी लगायतका नेताहरुले उपाध्यक्षको दाबी गरिरहेका छन् ।

नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका पण्डित र गुरुङले नवौं महाधिवेशनमा पराजित भएको र अहिले सर्वसम्मत सो पदमा आउन खोजेका छन् । उपाध्यक्षबाट ज्ञवालीलाई ‘आउट’ गर्ने सम्भावना बढी देखिएको छ । आफूपक्षीय नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने सकसमा रहेका ओलीले उपाध्यक्षमा आफूले रुचाएका र विगतदेखि साथ सहयोग गर्दै आएका नेतालाई ल्याउने भएका छन् ।

वरिष्ठ उपाध्यक्ष र महासचिवको दाबी गर्ने नेताहरु सो पदमा अटाउन नसकेको अवस्थामा उनीहरुलाई उपाध्यक्षको जिम्मेवारी दिनुपर्ने देखिएको छ । यस्तो अवस्था उपाध्यक्षमा नयाँ अनुहार आउने सम्भावना बढी नै रहेको जनाइएको छ ।

एमालेमा अध्यक्षपछिको दोस्रो कार्यकारिणी र महत्त्वपूर्ण पद महासचिव हो । बहुपदीय प्रणालीमा जानुभन्दा अघि एमालेभित्र महासचिव नै पहिलो पदीय मर्यादाको पद थियो । त्यसकारण पनि महासचिव महत्त्वपूर्ण जिम्मेवारी हो । महासचिव हुनेले अर्को महाधिवेशनमा स्वतः अध्यक्षको दाबेदार पनि हुन्छ ।

अहिलेका महासचिव ईश्वर पोखरेल पुनः सोही पदमा विधान अनुसार दोहोरिन पाउने छैनन् । महासचिवका लागि पोखरेलसँग नवौं महाधिवेशनमा ६ मतले पराजित सुरेन्द्र पाण्डे, तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी निर्वाह गरेका विष्णु पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाबी गरिरहेका छन् ।

पाण्डे, पौडेल, गुरुङ र पोखरेलमध्ये १ जना महासचिव हुने निश्चित रहेको छ । यसमध्ये पौडेल र पोखरेलको सम्भावना बढी छ । पौडेल तत्कालीन नेकपाको मसहाचिवको भूमिका निर्वाह गर्न सफल भएको र ओलीको विश्वासिलो पात्र हुन् । पोखरेल जनताको बहुदलीय जनबाद ९जबज० को व्याख्याता र राष्ट्रपति भण्डारीका साथै अध्यक्ष ओलीको पनि विश्वासिलो पात्र रहेका छन् ।

पाण्डेले विगतमा ओलीलाई सहयोग नगरेको र उनी पूर्व नेपाल–खनाल पक्षका नेता भएकाले उनको सम्भावना कम रहेको छैन । गुरुङ ओलीको विश्वासिलो पात्र भए पनि पौडेल र पोखरेल अगाडि फिक्का भएकाले उनको सम्भावना समेत छैन ।

एमालेमा अहिले ५ जना सचिव रहेका छन् । प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य र पृथ्वीसुब्बा गुरुङ सचिव रहेका छन् । यी पाँचै जना नेता उपमहासचिव पदको स्वतः दाबेदार हुन् । १ पद माथि उक्लिनुपर्दा ५ सचिवमध्ये एकले उपमहासचिव पाउन सक्ने देखिएका छन् ।

अहिले उपमहासचिव रहेका विष्णु पौडेल र घनश्याम भुसाल सोही पदमा दोहोरिने सम्भावना छैन । पौडेलले तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी बहन गरिसकेका छन् । उनी महासचिवको दौडमा रहेका छन् । भुसाल अध्यक्षमा ओलीसँग प्रतिपस्र्धा गर्ने आन्तरिक तयारीमा रहेका छन् ।

महासचिव पदमा दाबेदारी पेश गरेका गुरुङको उपमहासचिव हुने सम्भावना बलियो रहेको छ तर उपमहासचिवमा प्रदीप ज्ञवालीको पनि दाबेदारी रहेकाले गुरुङले तीव्र लबिङ गर्नुपर्ने आवश्यकता रहेको छ ।

एमालेको प्रथम विधान सम्मेलनबाट पारित विधानअनुसार एमालेमा ७ सचिव निर्वाचित हुनुपर्ने व्यवस्था छ । नवौं महाधिवेशनबाट ५ जना सचिवमा निर्वाचित भएका थिए । विधान संशोधन गरी सचिवको संख्या २ जना थपेर ७ बनाइएको छ । केही नयाँ र केही पुरानै अनुसार सचिवमा आउने भएका छन् ।

प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य र पृथ्वीसुब्बा गुरुङ सचिव छन् । ज्ञवालीले उपमहासचिव र गुरुङले महासचिवको दाबी गरेका छन् । दाबी अनुसारको पद नपाएको अवस्थामा यी नेताहरु सचिवमै दोहिरिनुपर्ने भएको छ ।

सचिवका लागि भानुभक्त ढकाल, खगराज अधिकारी, विष्णु रिमाल, प्रभू साह, यमलाल कँडेल, डोरमणि पौडेल, लेखराज भट्ट, कर्ण थापा, मणि थापा, गोकुल बाँस्कोटा, रघुवीर महासेठ, शेरधन राई, शेरबहादुर तामाङ, राधा ज्ञवाली, पद्मा अर्याल, हिक्मत कार्की, अरुण नेपाल, आनन्द पोखरेल, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, बिन्दा पाण्डे, गुरु बराल, खिमलाल देवकोटा, राजेन्द्र गौतम लगायतका नेताहरु लबिङमा रहेका छन् ।

यसबाहेक समेत सचिवमा आकांक्षा राख्नेहरु रहेका छन् । महाधिवेशन नजिकिएसँगै सचिवमा उम्मेदवारी घोषणा गर्नेहरु बढेका छन् ।

यसैबीच, नेकपा एमालेको विधानले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको छ । नवौं महाधिवेशनबाट नेकपा एमालेमा १६७ सहित त्यसपछि ३ चरणको मनोनयनमा ८९ जना सदस्य थपिएका थिए ।

एमालेमा विद्रोह गर्दै माधव नेपालले भदौ ९ गते एकीकृत समाजवादी गठन गरेपछि ५८ जना केन्द्रीय सदस्य नेपाल नेतृत्वको पार्टीमै गएका छन् । विद्यादेवी भण्डारी राष्ट्रपति, गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्ष, सानुकुमार श्रेष्ठ बाग्मती प्रदेश सभामुख भएकाले एमालेमा उनीहरुको पद रिक्त रहेको छ ।

यसअघिका उपाध्यक्ष बामदेव गौतमले राजीनामा दिएको र नवौं महाधिवेशनबाट यता आइसक्दा रवीन्द्र अधिकारी ९कास्की० सहित ५ नेताको मृत्यु भएकाले उनीहरुको पनि पद खाली रहेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार हाल एमालेमा १९६ जना केन्द्रीय कमिटी सदस्य रहेका छन् ।

अहिलेकै अवस्थामा महाधिवेशनबाट २९ नयाँ अनुहार केन्द्रीय कमिटीमा आउने भएका छन् ।

तामाङले केन्द्रीय कमिटीमा ५० प्रतिशतसम्म नयाँ अनुहार आउने बताउँदै भने, ‘१९६ जनामा सबै साथीहरु दोहोरिनुहुन्छ भन्ने छैन । पराजित हुन सक्नुहुन्छ । त्यसैले अहिलेको अनुमानअनुसार ५० प्रतिशतसम्म नयाँ अनुहार आउँछन् होला ।’

एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले ओली अध्यक्षमा दोहोरिने निश्चित भएको बताए । ‘ओली नै अबको अध्यक्ष हुने १०० प्रतिशत छ । अहिले नै सर्वसम्मत चाहिँ भनी नहालौं किनकि कुनै व्यक्तिलाई चित्त बुझेन भने उठ्न त पाउँछ नि १’ उनले भने ।

३३ प्रतिशत महिला सदस्य सुनिश्चित गर्ने बताएको एमालेले २२५ मध्ये ७० बढी केन्द्रीय सदस्य महिलालाई स्थान दिनुपर्ने देखिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस