Techie IT
×
गृहपृष्ठपत्रपत्रिकानयाँ मन्त्री कुन दलबाट को–को ?

नयाँ मन्त्री कुन दलबाट को–को ?


काठमाडौँ –

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आवद्ध दलसँग मन्त्रीको नाम मागेका छन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका देउवाले गठबन्धन आवद्ध दलसँग मन्त्रीको नाम मागेका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आज बिहीवार साँझसम्म मन्त्रालय बाँडफाँट टुंग्याएर भोलि शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।

‘प्रधानमन्त्रीज्यू जतिसक्दो छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयासरत हुनुहुन्छ, सत्ता गठबन्धन आवद्ध दलसँग उहाँले मन्त्रीको लिस्ट माग्नुभएको छ, बिहीवारसम्म मन्त्रालय कसले कुन लिने टुंग्याएर सम्भवतः शुक्रवार सरकारले पूर्णता पाउँछ,’ प्रधानमन्त्री देउवानिकट कांग्रेस नेता मिनबहादुर विश्वकर्माले भने ।

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डाका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री देउवाबीच बुधवार प्रधानमन्त्रीको सरकारीनिवास वालुवाटारमा २ घण्टा छलफल भएको थियो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएकाले छलफलमा सहभागी भएनन् भने जसपा अध्यक्ष पार्टीको कार्यक्रममा जनकपुर पुगेकाले सहभागी हुन पाएनन् ।

त्यसपछि २ नेताबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा सामान्य छलफल भए पनि थप गठबन्धनको बैठक बसेर निर्णय लिने सहमति बनेको छ । प्रधानमन्त्री देउवाले बिहीवार नै गठबन्धनको बैठक बोलाएर निर्णय गर्नेछन् ।

मन्त्रालयको संख्याका विषयमा भने गठबन्धन आवद्ध दलबीच सहमति भइसकेको छ । सहमतिअनुसार कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र १ राज्यमन्त्री पाउने छन् तर कुन–कुन मन्त्रालय कसले लिने भन्ने टुंगिएको छैन ।

कांग्रेस उच्च स्रोतका अनुसार कांग्रेसबाट दिलेन्द्रप्रसाद बडू, डा. मीनेन्द्र रिजाल मन्त्री बन्ने भएका छन् । कांग्रेसबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये १ जना मन्त्री बन्नेछन् । पुष्पा भुसाललाई समेत प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा ल्याउँदैछन् । बडू र रिजाल कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । प्रधान र चौधरी सिटौला पक्षका हुन् । भुसाल देउवानिकट रहेका छन् ।

सरकारमा हाल कानूनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई स्वास्थ्य मन्त्रालयमा लैजाने प्रधानमन्त्रीको तयारी रहेको छ । स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई राज्यमन्त्रीकै भूमिकामा राखिने बताइएको छ ।

प्रधानमन्त्री देउवाले असार २९ गते प्रधानमन्त्री बनेपछि आफ्नो दलबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानूनमन्त्री बनाएका थिए । साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका थिए । असोज ६ गते देउवाले परराष्ट्रमन्त्रीमा डा। नारायण खड्कालाई सरकारमा ल्याएका थिए । देउवा क्याबिनेटमा रहेका सबै मन्त्री पार्टीभित्रको उनकै पक्षसँग आवद्ध रहेका छन् ।

गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट अब ३ मन्त्री र १ राज्यमन्त्री बन्नेछन् । माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुदन किराती, मात्रिका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलमध्ये २ जना र जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्ये १ जना मन्त्री बन्ने भएका छन् । १ जना राज्यमन्त्री बन्ने सम्भावना छ ।

माओवादीका तर्फबाट यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् । माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

यस्तै, अध्यक्ष माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) पार्टीबाट ५ मन्त्री र १ राज्यमन्त्री बन्ने भएका छन् । एसबाट विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना सरकारमा सहभागी हुने पक्का भएको छ । सो पार्टीबाट सरकारको नेतृत्व खतिवडाले गर्ने भएका छन् ।

यस्तै, जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई दिएको छ । जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने पक्का छ ।

प्रधानमन्त्री देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि जसपाबाट सरकारको नेतृत्व श्रेष्ठले गर्ने भएका छन् । जसपाबाट महेन्द्रराय यादव, प्रदीप यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करीब निश्चितजस्तै भएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

 


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस