Techie IT
×
गृहपृष्ठधर्म संस्कृतिबडादसैँको दोस्रो दिन आज नवदुर्गामध्ये ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै

बडादसैँको दोस्रो दिन आज नवदुर्गामध्ये ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै


बडादसैँको दोस्रो दिन आज नवदुर्गामध्ये ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणी नवदुर्गाको दोस्रो स्वरुप हो । यिनलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने गरिन्छ ।

ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ ।

यिनले दाहिने हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु लिएकी छिन् । देवी ब्रह्मचारिणीको स्वरूप अद्भूत र दिव्य छ ।

देवी ब्रह्मचारिणीको पूजाआराधना गर्न भक्तजनहरू बिहानैदेखि विभिन्न शक्तिपीठ, देवीमन्दिरमा पुगेका छन् ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छुटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।


क्याटेगोरी : धर्म संस्कृति


तपाईको प्रतिक्रिया दिनुहोस