Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारएनआरएनए अध्यक्ष आचार्यको होली काउ समूहको नवौं रेस्टुरेन्टको लण्डनमा शुरुवात (फोटोफिचर)

एनआरएनए अध्यक्ष आचार्यको होली काउ समूहको नवौं रेस्टुरेन्टको लण्डनमा शुरुवात (फोटोफिचर)


लन्डन । होली काउ समूहको नवौं ब्रान्च, फाइन डाइन रेस्टुरेन्ट लण्डनको क्यानरी व्हार्फमा शुरु गरिएको छ ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, कन्फेडरेशन अफ ब्रिटिश इन्डस्ट्रिजका अध्यक्ष लर्ड करन बिलिमोरिया र गैर आवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय अध्यक्ष कुल आचार्यले उक्त रेस्टुरेन्टको सामूहिक रुपमा रिवन काटेर उदघाटन गरे ।

उक्त कार्यक्रममा बोल्दै राजदूत आचार्यले नेपाली व्यवसायीहरुले प्राप्त गरेको सफलता प्रशंसनीय रहेको बताए । उनले नेपालीहरुले जहाँ गए पनि मेहनती, अनुशासित र उद्यमशीलको पहिचान बनाएको जनाउदै होली काउ समूहको सफलताले अरु नेपाली व्यवसायीलाई पनि हौसला मिलेको बताए ।

उक्त कार्याक्रममा कन्फेडरेशन अफ ब्रिटिश इन्डस्ट्रिज (सीबीआइ) का अध्यक्ष लर्ड बिलिमोरियाले बेलायतमा कार्यरत नेपाली लगायत एसियाली व्यवसायीहरुको उद्यमशीलताको प्रशंसा गरे । आप्रवासनले गर्दा ब्रिटिश अर्थतन्त्रलाई धेरै फाइदा पुगेको जनाउदै उनले आप्रवासनकै कारण ब्रिटिश अर्थतन्त्र विश्वको छैठौं ठूलो अर्थतन्त्र बन्न पुगेको बताए । आफ्ना स्वर्गीय पिता लेफ्टिनेन्ट जनरल फरिदुन बिलिमोरियाले भारतीय सेनाको गोर्खा ब्रिगेडको नेतृत्व गरेको स्मरण गर्दै उनले गोर्खालीहरुको साहस संसारमै अद्वितीय रहेकोले उनिहरुलाई सधै सम्मान गर्ने जनाए ।

उक्त अवसरमा होली काउ समूह एबं गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले बार्क्लेज बैंककी शाखा प्रवन्धक,विशिष्ट पाहुनाहरु, समस्त ग्राहक वर्ग लगायत रेस्टुरेन्टलाई छोटो समयमै संचालनमा ल्याउन रातदिन खट्ने होली काउ समूहका निर्देशकहरु, कर्मचारी तथा परिवारजनलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

अध्यक्ष आचार्यले आगामी दिनमा पनि होली काउ समूहले उच्च गुणस्तरका साथ सेवा विस्तार गर्ने लक्ष्य लिएको बताए ।
होली काउ समूहको नवौं ब्रान्च फाइन डाइन रेस्टुरेन्टको शुरुवाती पछि खुशी ब्यक्त गर्दै अध्यक्ष आचार्यले आगामी दिनमा पनि सबैको मायाको आशा ब्यक्त गर्दै सबैको शुभेच्छाका लागि आभारी ब्यक्त गरेका छन ।

होली काउ समूहकी निर्देशक पायल मिश्रले कार्यक्रममा सबैलाई स्वागत गरेकी थिइन् भने आचार्यकी कान्छी छोरी कृतिका आचार्यले अत्यन्त राम्रो नृत्य प्रदर्शन गरि उपस्थित सबैलाई मनोरन्जन दिलाएकी थिइन ।

उक्त कार्यक्रममा ब्याग पाइपर बजाएर पाहुनाहरुको भब्य स्वागत गरिएको थियो भने रेस्टुरेन्टमा पहिले नै बुक गरेर उपस्थिति भएका ग्राहकहरुलाई कम्प्लिमेंट्री ‘खाना तथा ड्रिंक्स उपलब्ध गराईएको थियो ।

होली काउ समूह बेलायतमा राम्रो ब्रान्ड बनाएको रेस्टुरेन्टको रुपमा चिनिन्छ । उक्त रेस्टुरेन्टले छोटो समयमा बिश्वका खाना प्रेमीहरुको मन जित्न सफल भएको छ । उक्त समुहका अध्यक्ष आचार्यको मेहनतका कारण यो संभव भएको बेलायतमा रहेका नेपालीहरु बताउछन ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस