Techie IT
×
गृहपृष्ठग्लोबलनिस्वार्थ भावनाका साथ जिम्मेवारी बहन गर्ने प्रतिवद्धता सहित सचिव गुरुङले गरे उप महासचिव पदमा उम्मेदवारी दिने घाेषाणा

निस्वार्थ भावनाका साथ जिम्मेवारी बहन गर्ने प्रतिवद्धता सहित सचिव गुरुङले गरे उप महासचिव पदमा उम्मेदवारी दिने घाेषाणा


काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११ औँ अधिवेसनमा आईसिसि सचिव प्रवीण गुरुङले उप महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए मलेसियाको अधिवेसनमा सहभागी भएका गुरुङले पत्रकारहरुसँग कुराकानी गर्दै उक्त घोषणा गरेका हुन । उनले गैरआवासीय नेपाली संघमा संस्थागत स्थायित्व,एकता र विकास आफ्नो उमेदवारीको प्रमुख एजेन्डा हुने बताएका छन ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव गुरूङले महाभूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरण लगाएतका दर्जनौ सामाजिक कार्य गरेका थिए । हाल उनले कतारलाई कर्मथलो बनाई विभिन्न व्यवसायमा लगानी गरिरहेका छन ।

गुरुङले एनआरएनएले सुरूवात गरेको लाप्राक बस्तीमा ५७३ भवनसहितको स्थायी वासस्थान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस्तै, बारा–पर्सालगायतका जिल्लामा हावाहुरीका कारण घरवारविहीन भएकालाई मध्यपूर्व र मलेसियाको संयुक्त नेतृत्वमा आफै उपस्थित भएर ३०० घरधुरीलाई अस्थायी बसोवास, खाद्यान्न, स्वास्थ्य सामग्रीको व्यवस्था गरेका थिए ।

बाढीपहिरोका कारण सिन्धुलीलगायत तराईका विभिन्न क्षेत्रमा भएको क्षतिमा राहत दिनको लागि व्यक्तिगत र मध्यपूर्वका मनकारी व्यक्तिहरुको सहयोगमा १५० भन्दा बढी घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा अस्थायी वासस्थानको व्यवस्था गर्नेलगायत विविध मानवीय कार्यमा अग्रसरता देखाएका थिए ।

गुरुङ १९९७ मा भारतीय सेनामा भर्ती भएर झन्डै आठ वर्ष काम गरेपछि गैर आवासीय नेपाली संघमा आवद्द भएका हुन । उनले नेपाली कला र संस्कृतिलाई जगेर्ना, प्रवर्दन गर्ने उद्देश्यले कतारको दोहामा रहेकोे पाँचतारे होटलमा नेपाली लोक दोहोरी, गजलसहितको अन्तरार्ष्ट्रिय रेष्टुरेन्ट सञ्चालन गरेका छन । उनले अहिले अरबी, युरोपियन लगायत फरक–फरक इन्टरनेशनल स्तरका रेष्टुरेन्टहरु समेत विस्तार गरिसकेका छन । यसबाहेक कन्स्ट्रक्सन, हस्पिटालिटी, रियल स्टेट, हाईड्रो लगायत विभिन्न व्यवसायमा पनि उनी संलग्न छन ।

२०१५-१७ मा एनआरएनए कतारका उपाध्यक्ष, २०१७ -१९ मा मध्यपूर्व उप संयोजक २०१९–२०२१ मा मध्यपूर्व संयोजक र २०२१–२०२३ मा सचिवमा निर्विरोध निर्वाचित भएका गुरुङ एनआरएनएमा धेरै संभावना बोकेका युवा हुन । एनआरएनए अभियानमा गुरुङ मात्रै तेस्ता ब्यक्ति हुन जो सचिवसम्म आउँदासम्म सधै निर्विरोध निर्वाचित भएका छन । आगामी अधिवेसनमा उपमहासचिव पदका उम्मेदवार गुरुङ यसपटक पनि आफू निर्विरोध हुने सम्भावना रहेको बताउछन । उनले आफू खुल्ला हिर्दयबाट सामाजिक काम गर्न आएकाले एनआरएनए अभियन्ताहरुले आफूमाथी बिश्वाश गरेको र आगामी दिनमा पनि त्यो बिश्वाश टुट्न नदिने बताए ।

गैरआवासीय नेपालीहरुको हकहितका लागि आफूले सक्रिय भएर काम गरिरहेको जनाउँदै गुरुङले गैरआवासीय नेपाली संघ नेपाल र नेपालीका लागि अभिभावक बनेको बताए ।
गुरुङले आफुले सबै एनआरएनए अभियन्ताहरुको सल्लाह सुझावलाई स्विकार्दै सचिवपछि क्रमिक रुपमा उपमहासचिवमा उम्मेदवारी दिएकोले यसलाई साथ र समर्थन गर्न बिश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन ।

यस्तो छ उप-महासचिवका उम्मेदवार गुरुङको अपिल:
आदरणीय, गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, पत्रकार तथा शुभेच्छुक साथीहरु
नमस्कार !
बैदेशिक रोजगार, शिक्षा, पारिवारीक बसाई र विभिन्न उदेश्यले विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताको शुत्रमा बाँधेर एनआरएनएको मुख्य उदेश्य ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मुख्य अभिप्रायका साथ मैले यस पटक उप महासचीव पदको लागि उम्मेदवारी दिएको छु । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको मध्यपूर्व उप संयोजक,मध्यपुर्व संयोजक,सचिव रही विभिन्न कार्यकाल सफलता पूर्वक मात्र नभई ऐतिहासीक सफलता प्राप्त गरेको यहाँहरुलाई अवगत नै छ ।
भुकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगाएत विभिन्न दैवि प्रकोपको बेला स्वयम उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थाई–स्थाई बासस्थान, खाध्यान्न लगायत विभिन्न राहत सामाग्री वितरण गरेको समेत यहाँहरु जानकार नै हुनुहुन्छ । भुकम्पका कारण क्षतविक्षत भएको बुदसिंङ्ग लगाएत गोरखा जिल्लाका विभिन्न क्षेत्रमा अस्थाई बासस्थान, खाध्यान्न, स्वास्थ्य सामाग्री आदी वितरण गरेको तथा गैरवासीय नेपाली संघले शुरुवात गरेको लाप्राक बस्ती ५ सय ७३ भवन सहितको स्थाई बासस्थान निर्माणका क्रममा पटक–पटक प्रत्यक्ष पुगेर सहजिकरण गरिरहेको र उक्त बस्ति हस्तान्तरणको भैसकेको कुरा अवगत गराउँन चाहन्छु ।
बारा–पर्शा जिल्लामा हावाहुरीको कारण अकल्पनीय क्षती भएको खबर पाई मध्यपूर्व र मलेशियाको संयूक्त नेतृत्वमा घटना स्थल मै पुगी ३०० घरधुरीलाई अस्थाई बसोबास, खाध्यान्न, स्वास्थ्य सामाग्री अत्यावश्यक वस्तुहरुको व्यवस्था गरको कुरा समेत यहाँलाई जानकारी गराँदछु । बाढीपहिरोका कारण सिन्धुली लगाएत तराईका विभिन्न क्षेत्रमा भएको क्षतिलाई राहत दिनको लागि मेरो आफ्नो व्यक्तिगत र मध्यपूर्वका केहि मनकारी ज्यूहरुको सहयोगमा १५० भन्दा धेरै घरधुरीलाई खाध्यान्न, लत्ताकपडा, स्वास्थ्य सामाग्री तथा अस्थाई बासस्थानको व्यवस्था गर्ने लगाएत विविध मानविय कार्यमा निकै अग्रसरता देखाएको यहाँलाई जानकारी गराउँदछु ।
त्यसैगरी एनआरएनएको ईतिहासमा पहिलो पटक नेपालको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागिता हुने अवसर पाएको थियो । उक्त समयमा म स्वयम एनआरएनएको तेक्वान्दो खेलको म्यानेजरको रुपमा जिम्मेवारी वहन गर्ने अवसर प्राप्त गरेको थिएँ । यी र यस्ता विभिन्न खेल, कला साहित्य तथा नेपाली संस्कार र संस्कृतिको संरक्षण, सम्बर्दन तथा प्रर्वद्धनमा प्रत्यक्ष सहभागि हुने गरेको यथार्थलाई हामी सबैले बुझेका छौं ।
अनपेक्षित रुपमा श्रृजना भएको कोभिड १९ को विषम परिस्थितिलाई समेत कुनै प्रवाह नगरी नेपालका अधिकांश निम्न वर्गलाई प्रतिनिधित्व गर्ने नेपाली समुदायहरुको मुख्य गन्तव्यका रुपमा रहेको मध्यपूर्वलाई नेतृत्व गर्दै गम्भिरता पूर्वक मध्यपूर्व संयोजक रहँदा र सचिवका रुपमा गरेको सहजिकरण र प्राप्त गरको सफलता समेत यहाँहरुलाई जगजाहेर नै छ । मैले मध्यपूर्वको जिम्मेवारी सम्हाले संगै कोरोना कहरबाट प्रताडित भएका मध्यपूर्वका २० लाख नेपाली समुदायमा मल्हम पट्टि स्वरुप स्थानीय विभिन्न निकायसंग समन्वय गरी खाध्यान्न वितरण देखि स्वेदश फिर्तिका लागि हवाई टिकट तथा रोजगार परिर्वन एवं व्यवस्थापनमा समेत सकृयताका साथ काम गर्ने मौका पाएको थिए ।
त्यतिमात्र नभई मध्यपूर्वमा वर्षौ देखि अलपत्र नेपाली शवहरु, कोमामा रहेका वेवारिसे विरामीहरुलाई समेत स्वेदेश फिर्ती एवं व्यवस्थापन गरी घर परिवार तथा आफन्तहरुको पिडामा मल्हम पट्टि लगाउने कार्य गरेको समेत यहाँहरुलाई जगजाहेर नै छ । भनिन्छ प्रकृति भन्दा ठूलो र सत्यभन्दा माथि कोहि हुँदैन रे, त्यसैको कडि स्वरुपको कोभिड १९ ले नेपालमा एक्कासी महामारीको रुप लियो र अक्सिजन लगाएत सामान्य स्वास्थ्य सामाग्रीहरुको अभावमा हजारौंको संख्यामा नेपाली दाजुभाई तथा दिदीवहीनीहरुले अकालमा मृत्यूवरण गर्नु परको थियो ।
त्यस अवस्थामा मध्यपूर्वले नै ५ सय ६० थान, ४० लिटर क्षमताका अक्सिजन ग्याँस सिलिण्डर लगाएत विविध स्वास्थ्य सामाग्रीहरु समय मै स्वदेश अवतरण गरी मानविय जिम्मेवारी वहन गरेसँगै सिंगो विश्वको नेपाली समुदायले हाम्रो कामको उच्च प्रसंशा गरेको थियो । नेपाली कला र संस्कृतीलाई संरक्षण, सम्बर्धन तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुमा नेपाली भेषभुषा, कला संस्कृती हस्तान्तरण हुन पर्छ भन्ने मेरो दृढ संकल्पलाई मुर्तरुप दिन भ्वाईस अफ नेपाल, नेपाल ग्राण्ड फिनाले, बुकीबुकी जस्ता नेपालकै इतिहासमा पहिलो पटक शुरुवात भएका रियालिटी शो हरुलाई मध्यपूर्वमा ल्याई प्रत्यक्ष संचालन गर्ने कार्य सुअवसर समेत प्राप्त भएको थियो ।
त्यसैको अनुभव र कार्यकौशलताई सदुपयोग गर्दै गैर आवासीय नेपाली संघको मुख्य उद्देश्य अनुरुप नेपाली संस्कृतिलाई विश्वमा प्रर्वद्धन गर्ने दोस्रो पुस्तालाई नेपालको सामिप्यतामा कसरी आर्कषण गर्ने भन्ने उद्देश्य लाई आत्मसाथ गर्दै “नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान” भन्ने पवित्र नाराका साथ मेरो मुख्य सपोर्टर एवं सहजिकरणमा मध्यपूर्व यूवा विभाग मार्फत विश्व चर्चित कार्यक्रम ‘ग्लोबल एनआरएन सिंगिङ्ग आईडल, सेकेण्ड जेनेरेशन’ को पहिलो सिजन चलिरहेको छ ।
जसमा विश्वभरबाट ६५० पचास जना भन्दाको धेरै यूवा एवं दोस्रो पुस्ताका प्रतियोगीहरुको उत्साहपूर्ण सहभागितामा लोकप्रिय टेलिभिजन लगायत विभिन्न सञ्चार माध्यमहरुबाट प्रत्यक्ष प्रसारण र विश्वभरका नेपाली समुदाय माझ बहुचर्चित कार्यक्रमका रुपमा स्थापित हुन सफल भएको छ । साथै नेपाली समुदायले आशा र भरोसाका रुपमा स्वीकार गरेको एक मात्र विश्वसनीय संस्था यस गैरआवासीय नेपाली संघले मलाई दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मुलक ढंगले मध्यपूर्वमा ऐतिहासीक सफलता प्राप्त गरेको दक्षता, शिप, क्षमता र अनुभवलाई आईसीसी सचीवका माध्यमबाट विश्वसामु पस्कन पाउने पूर्ण विश्वास लिदैँ यहाँहरु समक्ष पुनः नयाँ जिम्मेवारी वहन गर्न सक्ने प्रतिवद्धता सहित उपस्थिति जनाएको छु ।
तसर्थ मेरो कार्यकौशलता र अनुभवलाई सहि सदुपयोग गर्नुपर्ने आवस्यकता महसुस गरि एनआरएनको अभियानमा निरन्तरता दिने दृढ संकल्प सहित यहाँहरुको साथ, सहयोग र सद्भाव पाएमा आफुले संगालेको अनुभवलाई कुनैपनि कसर नराखि निस्वार्थ सेवाभावका साथ कुशलता पूर्वक जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उक्त प्रतिद्धतालाई कार्यान्वयन गर्नका लागि अवसर दिनुहुन हृदय देखि हार्दिक अपिल गर्दछु । यहाँहरुको माया, साथ, शुभेक्षा र समर्थनले मैले आफूले पाएको जिम्मेवारी एतिहाँसिक सफलता प्राप्त गर्न सफल भएको छु । यसका लागि यहाँहरु सबै प्रति ऋणी रहने छु र मलाई विश्वास छ, सोही अनुरुप आईसीसी उप महासचीवमा अत्धियाक मतले विजयी गराई एतिहासिक सफलतालाई निरन्तरता दिने सु–अवसर दिनुहुने छ ।
अन्तमा हालै सम्पन्न विश्वभरका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महाधिबेशनबाट निर्वाचित सम्पूर्णमा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै २०२३–२०२५ कार्यकालका सम्पूर्ण पञ्जिकृत सदस्यहरुमा आफ्नो क्षेत्रको एनसीसीको कार्यकाल सफल बनाउन आ–आफ्नो ठाँउबाट सहयोग गर्नुहुनेछ भन्नेमा पूर्ण आशा व्यक्त गर्दै एघारौ अन्तर्राष्ट्रिय महाधिवेशनका सम्पूर्ण महाधिवेशन प्रतिनिधीहरुमा विश्व सम्मेलन तथा महाधिवेशन सफल बनाउन यहाँहरुको सक्रिय र शसक्त भुमिका रहनेमा विश्वस्त छु ।

जय एनआरएनए !

प्रवीण गुरुङ
उम्मेदवार उप महासचिव
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद


क्याटेगोरी : ग्लोबल, विशेष रिपोर्ट, समाचार
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस