Techie IT
×
गृहपृष्ठसमाजजाजरकोट भूकम्प : आठबिसकोटका चार हजारलाई पहिलो किस्ता

जाजरकोट भूकम्प : आठबिसकोटका चार हजारलाई पहिलो किस्ता


रुकुम पश्चिम । गएको कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार २८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा सात हजार लाभग्राही छन् ।

लाभग्राहीको खातामा २५ हजार रुपैयाँका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ । अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत २५ हजारका दरले लाभग्राहीलाई १० करोड ७० लाख ५० हजार रुपैयाँ खातामा पठाइएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट भने सात हजार लाभग्राहीका निम्ति पहिलो किस्ताबापत १७ करोड ५० लाख रुपैयाँ प्राप्त भएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको बाँकी रकम पनि लाभग्राहीको बैंकमा खाता सञ्चालन हुनेबित्तिकै पठाइने शाहले जानकारी दिए ।

नगरपालिकामा अस्थायी आवास निर्माण गर्न नौ हजार ९६२ लाभग्राहीको संख्या यकिन भएको छ । जिल्ला विपद् व्यस्थापन कोषबाट पहिलो किस्ताबापत अझै दुई हजार ९६२ लाभग्राहीका निम्ति रकम आउन बाँकी रहेको प्रशासकीय अधिकृत शाहले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय जोखिम न्यूनीकरण कोषमा प्राप्त भएको रकम बैंक खाता सञ्चालन भएका लाभग्राहीलाई धमाधम पठाउने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

हालसम्म नगरपालिकामा दुई हजार २४० अस्थायी आवास निर्माण सम्पन्न भइसकेको र बाँकी तीन हजार ६९० अस्थायी आवास निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ ।साभार


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस