Techie IT
×
गृहपृष्ठराजनीतिभारतीय स्थल सेनाध्यक्ष नरवणेको नेपाल यात्रा

भारतीय स्थल सेनाध्यक्ष नरवणेको नेपाल यात्रा


काठमाडौँ- भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधबार अपरान्ह नेपाल आइपुगेका छन्। श्रीमती बिना र अन्य दुई जना अधिकारीका साथ इन्डियन एयर फोर्सको विमानमा त्रिभुवन विमानस्थलमा अवतरण भएका नरवणे अहिले सोल्टी होटलमा छन्।

नेपाली सेनाको निमन्त्रणमा नरवणे नेपाल आएका हुन्। उनले भारतीय सेनाध्यक्षका रुपमा नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि ग्रहण गर्ने कार्यक्रम छ। भारत र नेपाली सेनाका प्रमुखले एक अर्काको देशको मानार्ध प्रधानसेनापति उपाधि ग्रहण गर्ने गर्छन्। त्यसैका लागि नरवणेलाई नेपाल बोलाइएको हो।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि नेपालविरुद्ध अभिव्यक्ति दिएका नरवणे काठमाडौं आएका हुन्।

नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। नरवणेलाई विशेष सुरक्षाका लागि होटल सोल्टीमा लगिने छ।

जंगीअड्डाको सैनिक प्रहरी गणको टोलीले उनको स्कर्टिङ गर्ने जंगीअड्डाले जानकारी दिएको छ। नेपाल प्रहरीको टोली पनि उनको सुरक्षामा खटिएको छ।

नरवणेको भ्रमण तालिका

पहिलो दिन बुधबार औपचारिक कार्यक्रम छैन। नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेट हुनसक्ने छ। श्रीमतीसहित आएका नरवणे पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने बुझिएको छ।

बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने कार्यक्रम छ। जसका लागि उनी शीतल निवास जाने छन्। नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन रहिआएको छ।

यसअघि, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले वि.सं. २०७५ पुस २८ गते भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरेका छन्।

शीतल निवासको कार्यक्रमअघि सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरिएको छ। लगत्तै नरवणेले जंगीअड्डामा सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम राखिएको छ।

नरवणेले नेपाली सेनाका महारथी पूर्णचन्द्र थापासँग बिहीबार औपचारिक भेटवार्ता गरेछन्। नेपाली समकक्षीसँगको भेटपछि नरवणेले जंगीअड्डाका उच्च सैन्य अधिकृतसँग छलफल गर्नेछन्। नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझै रात्रि भोजको कार्यक्रम तय भएको छ।

नरवणेले भ्रमणको तेश्रो र अन्तिम दिन शुक्रबार सैनिक स्टाफ कलेज र शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। शुक्रबार नै नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने छन्।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस