Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकतारमा विपुलले भने : ‘तपाईका प्रश्नहरुले नै पत्रकारिता थप स्तरीय बन्छ’

कतारमा विपुलले भने : ‘तपाईका प्रश्नहरुले नै पत्रकारिता थप स्तरीय बन्छ’


दोहा, प्रायजसो पत्रकारहरु अघिल्तिरका कुर्सीहरुमा बसिरहेका थिए । नेपाली समुदाय तर, गैह्रपत्रकारहरु पछिल्तिर । थिएटर हल । झण्डै २५० भन्दा माथीको सहभागिता । कार्यक्रमको नाम थियो ‘सूचना प्रवाह, व्यवस्थापन तथा सचेतना कार्यक्रम’ । आयोजक थियो नेपाल पत्रकार महासंघ कतार शाखा ।


झण्डै २:३० घण्टा लामो एकोहोरो प्रशिक्षण सकेर प्रशिक्षक विपुल पोखे्रलले भने, ‘अब पालो तपाईहको जिज्ञासाको ।’ हलमा प्रशस्तै हातहरु उठे । पहिलो प्रश्नकर्ताले प्रश्न सोधे, ‘पत्रकारहरुले जे पायो त्यै लेख्न थालेको पाइन्छ । यस्लाई रोक्ने कसरी ?’ नेपाल पत्रकार महासंघको उपाध्यक्ष समेत रहेका पोख्रेलले जवाफ दिए, ‘तपाईहरु सञ्चारमाध्यमका उपभोक्ता हुनुहुन्छ । तपाईहरुले निर्धक्कका साथ यस्तै सवालहरु उठाउन थल्नुभयो भने पत्रकारितामा सुधार आउँछ ।’ पोख्रेलले जोड दिदै भनिरहेका थिए, ‘पत्रकारिता क्षेत्रलाई सुधार गर्नका लागि यसका उपभोक्ताहरु सचेत हुनै पर्दछ र सञ्चारमाध्यममा आएका बिषयहरुमाथी निर्मम छलफल गर्ने संस्कार बसाल्नै पर्दछ ।’


उनले कुनै समाचारप्रति असन्तुष्टि रहेमा आक्रोश पोख्नु र कुण्ठा पाल्नु भन्दा त्यसको उपचार खोज्नु उत्तम हुने सुझाउदै त्यसका लागि प्रेश काउन्शिलसम्म पुग्ने प्रक्रिया र अदालतसम्म जाने प्रक्रियाका बारेमा पनि जानकारी दिएका थिए ।

प्रमुख अतिथि एवं प्रशिक्षक विपुल पोख्रेल

सञ्चार उपभोक्तहरुको बाक्लो उपस्थिती रहेको त्यस कार्यक्रममा सञ्चार क्षेत्रलाई थप बिश्वनीय र प्रभावकारी बनाउनका लागि तथा मिडियावाट कोही पनि निर्दोश पीडित हुन नपर्ने अबस्था निर्माणका लागि नागरिक समाज र समाचारहरुका स्रोतहरुको भूमिका कस्तो रहनु पर्छ भन्ने बिषयमा पनि प्रशिक्षक पोख्रेलले प्रष्ट्याएका थिए । ‘पत्रकारहरुले समाचार बनाउने हैन, समाचार त समाजमा आफै बनिरहेको हुन्छ’ पोख्रेलले पत्रकारहरुको भूमिकका बारेमा प्रष्ट्याउदै भने, ‘त्यही आफै बनिरहेको समाचारलाई निश्चित फ्रेम भित्र राखेर समाचारका मूल्यमान्यता सहित प्रस्तुत गर्ने काम मात्र पत्रकारहरुको हो ।’ उनले पत्रकारले आफै समाचार बनाउन थाल्ने हो भने त्यहाँ आग्रह, कुण्ठा र आक्रोश मिसिन सक्छ अनी पत्रकारिता पेशा बदनाम हुन्छ भनेर ध्यानाकर्षण गराइरहँदा पत्रकार तथा अन्य सहभागिहरुले जोड जोडले थपडी मारेर स्वीकार गरिरहन्थे ।

कतारमा रहेर पत्रकारिता गर्ने पत्रकारहरु तथा अन्य नागरिकहरुलाई कतारको कानूनका बारेमा जानकारी लिएर काम गर्न र परदेशमा काम गर्दा कुनै पनि जोखिम नउचाल्न सुझाव पनि दिएका थिए । ‘सूचना सबैभन्दा ठूलो शक्ति हो, यसको सदूपयोगले मात्र परिवर्तन र सहज जीवनयापन संभव छ’ पोख्रेलको जोड थियो, ‘सबै प्रकारका सूचनाहरु ग्रहण गर्ने र आबश्यक सूचना प्रवाह गर्दै अरुलाई पनि सूसुचित गराउने संस्कारको विकासले मात्र परदेशमा बसेका तपाइहरु एकअर्काको सहयोगी हुन सक्नुहुन्छ ।’


कतारका बिभिन्न स्थानमा रहेका नेपालीहरु उत्साहका साथ त्यस तालिममा उत्साहका सहभागी भएका थिए । पत्रकार र नागरिकहरु संगै बसेर सूचना र समाचारका बिषयमा तालिम लिएको यो संभवतः पहिलो थियो । यस्तो तालिमको आयोजना गर्ने पत्रकार महासंघ कतारलाई सहभागिहरुले धन्यवाद प्रकट गरिरहेका थिए भने समाचार लेख्ने पत्रकार र त्यसका उपभोक्ताका रुपमा रहेका नागरिकहरुलाई एउटै कक्षामा राखेर दुबैलाई काम लाग्ने गरी प्रशिक्षण दिएकोमा नेपालवाट आएका प्रशिक्षक तथा पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोख्रेललाई धन्यवाद दिएका थिए ।

“नेपाल र कतारको राष्ट्रीय गान एवं एक मिनेट मौन धारणका क्रममा”

‘पत्रकारितालाई गुणस्तरीय बनाउन हाम्रो पनि भूमिका रहँदो रहेछ’ धेरै सहभागिहरुको प्रतिक्रिया थियो, ‘यो तालिमले हाम्रो भूमिकाका बारेमा पनि प्रष्ट भइयो ।’ सहभागिहरुले पत्रकारिता क्षत्रसंगका अपेक्षा, गुनासा प्रस्तुत गर्नुका साथै भूमिकाका बारेमासमेत सवाल गरेका थिए । ती सवालहरुका साथै अपेक्षा र गुनासालाई पनि प्रशिक्षक पोख्रेलले साम्य पारेका थिए ।


पत्रकार महासंघ कतारका अध्यक्ष करिमबक्स मियाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सचिव दिल श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष नवराज विकले गरेका थिए । कार्यक्रमको सुरुवातमै बोल्दै अध्यक्ष मियाले यो एतिहासिक भेटघाट भएको बताउदै कार्यक्रमको अौचित्यमाथि प्रकाश पारेका थिए । त्यस अवसरमा बिशिष्ट व्यक्तीहरुलाई खादा लगाई सम्मान गरिएको थियो ।

शाखाका अध्यक्ष करिम बक्स मियाँ

यसै बिच कार्यक्रमको दोश्रो चरणमा नेपाल पत्रकार महासंघ केन्द्रिय पूर्व सचिब एवं पत्रकार संगीता खड्काद्वारा लिखित ‘युद्धका ती दिन एक पत्रकारको भोगाई’ पुस्तक सार्बजनिक गरिएको थियो l मावोबादी जनयुद्धको उथलपुथलपूर्ण दिनहरुको प्रतिनिधि मुलक पुस्तकका बारेमा  बोल्दै उपाध्यक्ष पोख्रेलले देश परिवर्तनको निम्ति कलमचलाएर दिनरात खट्ने साहसी पत्रकारहरुको खुलेर प्रशंशा गरेका थिए l लेखिका संगीता खड्का दुई दशकदेखि पत्रकारितामा सक्रिय तथा  प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य समेत छिन् l

पत्रकार महासंघका कतार शाखाका पूर्व अध्यक्ष कुमार कार्की, एनआरएनए आईसीसी सदस्य बिमल सुवेदी, एनआरएनए एनसीसीका अध्यक्ष नबिन पोख्रेल, जनसम्पर्क समिति कतारका महासचिव मोहम्मद अज़ीज़ अली, बसन्त फ़िल्म प्रालिका प्रबन्ध निर्देशक ईश्वर काफ्ले, सांकेतिक साँझका कार्यक्रम संयोजक एवं शाखाका कार्यसमिति सदस्य तीर्थ संगम राई लगाएतका बक्ताले कार्यक्रम एतिहासिक रुपमा समापन भएको बताउदै महासंघ शाखालाई खुलेरै प्रशंसा गरेका थिए ।

प्रशिक्षार्थी सबैलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा नेपाली कला केन्द्र कतार, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक बाचनालय कतारले सह–आयोजक भुमिका निर्वाहगरेका थिए ।

उदयमनिला सांगेतिक साँझ २०७६

कार्यक्रमको आन्तिम र बहुप्रतिक्षित चरण “उदयमनिला सोताङ युगल सांगेतिक साँझ २०७६” करिब दिनको ४ बजे बाट सुरु भएको थियो l “आधी बाटो हिडेपछि ” गीतबाट हलको पछाडी बाट प्रस्ततु उ र म जोडीले हलमा उपस्थित सम्पूर्णलाई सांगेतिक रौनकमा  पुर्याएका थिए l तिमि बिना बाच्न गार्हो भो, उकाली चढौला, भिज्यो सिरानी, कालो लामो, गाजलु ति ठुला जस्ता दर्जनौ गित बाट दर्शक  हरुलाई भरपुर मनोरज्नन दिलाएका थिए l प्रेमिल जोडीका प्रेमिल गीत हरुले उपस्थित दर्शकहरुले हरेक गीतलाई तालीले साथ दिदै भरपुर सांगेतिक मजा लिएका थिए l कतारमा पहिलो पटक एकल साझ भएको कराण पनि यो एक सफल सांगेतिक साँझ रह्यो l

“उदयमनिला सांगेतिक साझमा गाउदै सोताङको युगल जोड़ी”

 

 

“शाखाका कार्यसमिति सदस्य तीर्थ संगम राई
”जनसम्पर्क समिति कतारका महासचिव मोहम्मद अज़ीज़ अली”
“बसन्त फ़िल्म प्रालिका प्रबन्ध निर्देशक ईश्वर काफ्ले”
“पत्रकार महासंघका कतार शाखाका पूर्व अध्यक्ष कुमार कार्की”
“एनआरएनए आईसीसी सदस्य बिमल सुवेदी”
“एनआरएनए एनसीसीका अध्यक्ष नबिन पोख्रेल“

🎥 फ़ोटो सौजन्य: तिलु शर्मा पौडेल ‘बाबा’


क्याटेगोरी : राजनीति, गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस