Techie IT
×
गृहपृष्ठराजनीतिसाझा पार्टीका आचार्य र खनाल पार्टी छोड्ने तरखरमा

साझा पार्टीका आचार्य र खनाल पार्टी छोड्ने तरखरमा


काठमाडौंं – साझा पार्टीका सचिवालय सदस्य  सूर्यराज आचार्य र मुमाराम खनाल पार्टी छोड्ने तरखरमा छन्।

आइतबार तीन बजे बस्ने साझा पार्टीको केन्द्रीय समिति बैठकमा सो कुराको टुंगो लाग्ने एक नेताले बताए।  साझा पार्टीमा केही समयदेखि आचार्य-खनालको संयोजक रवीन्द्र मिश्रसहितको केन्द्रीय टिमसँग मतभिन्नता रहँदै आएको थियो।

विशेष गरी पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा दुबै पक्षबीच मतभिन्नता बढेर गएको ती नेताले बताए।

मिश्रलगायत १५ सदस्यीय सचिवालयको बहुसंख्यक टिम विवेकशीललगायतका मन र विचार मिल्ने पार्टीहरूसँग एकीकरण गरेर अगाडि बढ्ने पक्षमा छन्। सुदूर पश्चिममा राम्रो प्रभाव भएका गोपी हमाल र नयाँ शक्ति छोडेर आएका केशव दाहालसहित सचिवालयका अरू सदस्यले मिश्रलाई साथ दिएका छन्। आचार्य-खनालले भने पार्टी पुनर्गठनका लागि संयोजकमात्र राखेर पार्टीका सबै समितिहरू भंग गर्ने प्रस्ताव राखेका थिए।

यसरी समिति भंग गरिसकेपछि देशव्यापी छलफल र परामर्श गरेर पार्टी पुनर्गठन गर्ने उनीहरूको सुझाव थियो।

असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका समितिहरू भंग गरेर जान ठिक नहुने र विवेकशीललगायतका दलहरूसँग एकीकरण अगाडि बढाउनु पर्ने निर्णय गर्‍यो। उक्त निर्णय भएपछि आचार्य-खनालले पुरानै पार्टीसँग मिलेर जानुको कुनै अर्थ नहुने भन्दै आफूहरू पार्टीबाट बाहिरिने बताए।

साझा र विवेकशीलबीच पुन: एकीकरणका लागि केही समयदेखि अनौपचारिक रूपमा छलफल चल्दै आएको छ।

‘अब त्यो छलफलका लागि औपचारिक कमिटीहरू गठन गरेर अघि बढ्ने हाम्रो तयारी छ,’ साझा पार्टीका ती नेताले भने, ‘आज बस्ने केन्द्रीय समिति बैठकले सोबारे निर्णय लिनेछ।’

आचार्य-खनाल पुरानै अडानमा कायम रहे पनि केन्द्रीय समितिले एकीकरणको प्रक्रियालाई अघि बढाउने उनले बताए। केन्द्रीय समितिले सो प्रक्रिया अघि बढाए साझा पार्टी छोड्ने निष्कर्षमा आचार्य-खनाल पुगेका छन्।

यसबारे उनीहरूसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस