Techie IT
×
गृहपृष्ठराजनीति‘आइसब्रेक’ भयो ओली र प्रचण्डको टकरावमा

‘आइसब्रेक’ भयो ओली र प्रचण्डको टकरावमा


काठमाडौँ(जिएनएन) – आइतबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ‘रणनीतिक छलफल’ गर्नुअघि नै नेता जनार्दन शर्माले महासचिव विष्णु पौडेलसँग फोनमा संवाद गरिसकेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच विश्वासको संकट उत्कर्षमा पुगेका बेला तत्कालीन माओवादी र एमालेको एकता गराउन महत्त्वपूर्ण भूमिका निभाएका शर्मा र पौडेल बिहानैदेखि छलफलमा जुटे।

ओली र प्रचण्डको मतभेद अन्त्य गर्ने प्रयत्नमा यी दुई नेताबीच लामै छलफल भयो। र, सोही मेसोमा प्रचण्डका तर्फबाट उर्जामन्त्री वर्षमान पुनले पनि दोस्रो पंक्तिका नेताबीच संवाद चलाए।

परिस्थिति केही सहज भयो। दोस्रो पुस्ताका नेताहरूको संयोजनमा आइतबार मध्याह्न १२ बजेदेखि झण्डै पौने दुई घण्टा ओली र प्रचण्डबीच छलफल भयो।

छलफलमा महासचिव पौडेल नेता शर्मा, उर्जामन्त्री पुन सहभागी थिए। त्यसो त प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको छलफललाई सौहार्दपूर्ण बनाउन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि पहल गरिरहेका छन्।

‘जब–जब अप्ठ्यारो पर्छ, प्रधानमन्त्री ओलीले शंकर पोखरेललाई काठमाडौं बोलाउनुहुन्छ, उहाँले गर्ने कतिपय निर्णय पोखरेलको योजना र सुझावमा आधारित हुने गरेका छन्, अहिले पार्टीको आन्तरिक संकटको गाँठो फुकाउने प्रयासमा पोखरेललाई बढी भरोसा गर्नुभएको छ,’ ओलीनिकट एक नेताले भने।

ओलीका निकटमध्येका अर्का नेता सुवासचन्द्र नेम्वाङ पनि हुन्। सरल स्वभाव र व्यावहारिक पक्ष बलियो रहेका नेम्वाङ बालुवाटारमा बसेर ओलीनिकट र प्रचण्डनिकट नेताहरूसँग संवाद गरिरहेका हुन्छन्।

शर्मा र पौडेलको सक्रियताले दुई नेताबीच संवाद

शर्माले नेकपामा वैचारिकभन्दा पनि स्वार्थको द्वन्द्व बढेको बताएका छन्। तर, कसैको स्वार्थका कारण नेकपा नफुट्ने बताउँदै शर्माले अब पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गर्ने अवस्था नरहेको प्रष्ट पारे।

‘दुई नेताको विवादले पार्टीमा समस्या उत्पन्न भए विकल्पका लागि पनि तयार हुनुपर्छ, अहिले हाम्रो प्रयत्न सहमति कार्यान्वयन गर्ने र सबैलाई मिलाएर लानेमै केन्द्रित छ,’ शर्माले आयोमेलसँग भने।

पार्टी एकताका बखत भएका सहमति र समझदारीका आधारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई मिलाएर पार्टीलाई अघि बढाउनेतर्फ आफूहरूले गरेको प्रयास निष्कर्षमा पुग्ने अठोट व्यक्त गरे।

त्यसैगरी, महासचिव पौडेलले पनि प्रधानमन्त्री र प्रचण्डबीचको छलफल सकारात्मक र निष्कर्ष उन्मुख रहेको बताए।

पौडेलले पार्टी एकताको मर्ममा प्रहार गर्ने कार्य कतैबाट हुन नहुने बताउँदै आगामी दिनका छलफलले सहमति र एकतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

‘दुवैबीच छलफलका विषयवस्तुमा न्यानो सुरूवात भएको छ, छलफल सकारात्मक छ,’ पौडेलले आयोमेलसँग भने।

उर्जामन्त्री वर्षमान पुन पनि ओली र प्रचण्डका बीचमा मिलनबिन्दु खोज्ने प्रयासमा लागेका अर्का नेता हुन्। दुई अध्यक्षलाई सहमतिमा लाने प्रयासमा खटिरहेका पुनलाई अघिल्ला दिनहरूझैं आइतबार पनि धपेडी थियो।

प्रचण्डका तर्फबाट शर्मासँगै पुनले पनि ओलीसँगको छलफलमा प्रतिनिधित्व गरे। उनी भन्छन्, ‘सहमति जुट्छ, दुई नेताहरूबीच संवाद चलिरहेको छ, उहाँहरू पार्टी एकताका बेला भएको सहमतिअनुसार अघि बढ्न सकारात्मक हुनुहुन्छ।’

ओली र प्रचण्डको दुरी बढिरहेका बेला बिहीबार यता दुई पक्षका नेताहरूबीच निरन्तर छलफल भइरहेको छ।

‘पार्टी फुटे जनताको विश्वासमाथि आघात हुने भएकाले त्यसलाई रोक्न सबै सम्भावनाहरूमाथि छलफल गर्ने’ नीति युवा नेताले दिएका छन्।

युवा नेताहरूको सोही रणनीतिका कारण ओली-दाहालबीच बढेको ‘टकराव’मा ‘आइसब्रेक’ भएको छ। आइतबार विषयवस्तुमाथि थोरै प्रवेश गरी दुवै नेता विस्तारै संवादलाई जारी गर्ने सहमतिमा पुगेका छन्।

‘स्थायी समिति बैठककै म्यान्डेटमा सहमति’

स्थायी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका बेला उनको सम्मानजनक व्यवस्थापनको विषयमा पनि छलफल चलिरहेको छ।

नेता माधवकुमार नेपाल पक्षका नेताहरू ओलीलाई सम्मानजनक रूपमा बिदा गरेर पार्टी र सरकार सञ्चालनलाई सही ट्य्राकमा लैजानु पर्नेमा जोड दिँदै आएका छन्।

दुई अध्यक्षको छलफल त्यही म्यान्डेटमा केन्द्रित रहने नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले बताएका छन्।

‘सहमति हुन्छ, हुनुपर्छ, तर यही रबैयाले देश र पार्टी दुवैलाई घाटा छ, त्यसको निकाससहितको सहमति निर्माण हुन्छ,’ पन्तले आयोमेलसँग भने।

पार्टी एकतालाई सुदृढीकरण गर्ने र सरकारका काम–कारबाहीलाई प्रभावकारी बनाउन उठेको आवाजलाई प्रधानमन्त्री ओलीले स्वीकार गर्ने नेता पन्तको विश्वास छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस