Techie IT
×
गृहपृष्ठराजनीतिओलीको प्रस्ताव : कोरोनापछि बामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

ओलीको प्रस्ताव : कोरोनापछि बामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमाम उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।

नेकपामा विवाद चर्किएको बेला बुधबार साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका उनले बीचमा रोक्दै माधव र बामदेवबारे प्रस्ताव राखेका हुन् ।

ओलीले अहिले प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको बताएका छन् । अहिले आफूले पद त्याग्नु जगहसाइ मात्र हुने उनको तर्क छ ।

तर कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताए । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर बामदेवलाई ल्याउन आफू तयार रहेको उनको भनाइ थियो ।

साथै पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उनको प्रस्ताव थियो । अर्का अध्यक्ष प्रचण्डले लगाएको सबै आरोप खारेज गर्ने समेत उनले बताएको नेकपा उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

पार्टी एकताको भाव मार्नुभयो, प्रधानमन्त्री त्याग्दा राम्रो : प्रचण्ड

ओलीभन्दा अगाडि बोलेका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि पार्टी एकताविरुद्ध सक्रिय भएको आरोप लगाएका थिए । पार्टी एकतापछि केन्द्रीय समितिको बैठक लगतै ओलीले गुटको भेला गरेर एकता विरोधी काम गरेको तर आफूहरु एकताको त्याद्रो समातेर बसेको उनले बताए ।

उनले ओलीलाई प्रधानमन्त्री पद त्याग गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिएको स्रोतको दाबी छ । निकै कडा रुपमा प्रस्तुत भएका उनले प्रधानमन्त्री ओलीलाई महाथिर वा लि क्वान यू बन्छु भन्ने भ्रम नपाल्ल सल्लाह दिएका छन् ।

अरू नेताले के भने ?

ओलीको प्रस्तापछि अरु नेता बोलेका थिए । वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुबैको नेतृत्व गर्न नसकेको बताए ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेश खारेज भएपनि जनतामा भ्रम बाँकी नै रहेको बताए । साथै उनले पार्टी कमिटीले राजीनामा दिन भनेमा प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकार गर्नुपर्ने धारणा राखेको स्रोतले बताएको छ । उनले भने, पार्टीले निर्णय गरेपछि कसैले पनि मान्दिन भन्न पाइन्न ।

उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको प्रस्ताव आफूले पत्याइनसकेको बताए । तर यसले ओली प्रधानमन्त्रीबाट राजीनामा दिन तयार रहेको भन्ने बुझिएको भन्दै उनले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

रामबहादुर थापा बादलले भने प्रधानमन्त्रीले राजीनामा दिन नहुने धारणा राखेका छन् । उनले बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव समेत उपयुक्त नभएको धारणा राखेको स्रोतको दाबी छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कम्युनिस्ट विधि र सिद्धान्तअनुसार चल्नुपर्ने र एकता जोगाउनुपर्ने बताए । ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीको प्रस्तावको समर्थन गरे । त्यसपवपरित जान खोजे प्रतिवाद गर्ने चेतावनी दिए ।

महासचिव विष्णु पौडेलले पनि ओलीको प्रस्तावको समर्थन गर्दै यो समाधान हुनसक्ने बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस