Techie IT
×
गृहपृष्ठराजनीतिप्रदेशमा पनि सत्ता परिवर्तनको होमवर्कमा नयाँ गठबन्धन

प्रदेशमा पनि सत्ता परिवर्तनको होमवर्कमा नयाँ गठबन्धन


काठमाडौँ । एमाले नेतृत्वको सत्ता गठबन्धनले प्रदेशमा सरकार परिवर्तन गर्न होमवर्क थालेको छ ।

जसअनुसार आफू प्रतिकुल प्रदेश प्रमुख रहेका प्रदेशहरुमा प्रदेश प्रमुख परितर्वन गर्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । बैठकले मधेस प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
‘गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ । रिक्त हुने प्रदेश प्रमुखका पदहरुमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नको निम्ति मधेश प्रदेशको लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको लागि नजिर मियाँलाई मनोनयनको निम्ति राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ ’, बैठकपछि उनले भनिन् । गठबन्धनमा फेरबदलपछि सात प्रदेशको समीकरणमा पनि फेरबदल आइसकेको छ । समीकरण परिवर्तन भएसँगै नयाँ सरकार निर्माण गर्ने तथा भएका सरकार जोगाउने कसरतमा दलहरु लागेका छन् । नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी छन् । रास्वपाको प्रतिनिधित्व कुनै पनि प्रदेश सभामा छैन ।

त्यसबाहेक चार दलको गठबन्धन हुँदा कोशी, मधेस र कर्णाली प्रदेशमा मात्रै बहुमत जुटाउन सक्ने देखिन्छ । त्यसमा पनि कोशी प्रदेशमा संविधानको धारा १६८ ९५० अनुसारको वर्तमान सरकार हटाएर अर्को सरकार बनाउन ती दललाई सकस देखिन्छ । सहज बहुमत देखिएको मधेस प्रदेशमा जसपा नेतृत्वको सरकार छ भने कर्णालीमा माओवादी नेतृत्वको सरकार छ । ४ वटा प्रदेशमध्ये बागमतीमा बहुमतका लागि १ सांसद अपुग देखिएको सत्ता गठबन्धनलाई सुदूरपश्चिममा ३, लुम्बिनीमा २ र गण्डकी प्रदेशमा १ सांसद अपुग देखिन्छ । कोशी प्रदेशमा वर्तमान सरकार विस्थापित कसरी गर्ने भन्ने विषय नै विवादित बन्ने अवस्था छ भने एक वर्षमा पाँच सरकार बनाउने कोशीको रेकर्ड लुम्बिनी, गण्डकी र बागमतीले नतोड्लान् भन्न सक्ने आधार देखिएको छैन ।

कोशी प्रदेशमा १ सांसदको अपुग हुँदा कहिले सभामुखलाई विश्वासको मत दिन लगाउने, कहिले समर्थनको पत्र सभामुखलाई दिन लगाउने तथा कहिले सभामुखलाई राजीनामा दिन लगाउनेसम्मका खेल भएका थिए । यद्यपि ती सबै खेलबाट बनेको सरकारलाई सर्वोच्च अदालतले खारेज गरिदिएको नजिर छ । नयाँ समीकरण बनेपछि कोशी, लुम्ब्निी र मधेसमा राजीनामा र बर्खास्तीको सिलसिला नचलेपनि अन्य प्रदेशमा यो प्रक्रिया पुरा भएर सत्ता जोगाउन र भत्काउन दौडधुप सुरु भइसकेको छ । बागमतीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै समर्थन फिर्ता लिइसकेको छ भने गण्डकीमा माओवादीका मन्त्रीहरु बर्खास्तीमा परेका छन् । यस्तै कर्णालीमा कांग्रेसका मन्त्रीहरुले राजीनामा दिँदा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले माओवादी र समाजवादीका मन्त्रीलाई बर्खास्त गर्दै सत्ता जोगाउन प्रयासस्वरुप नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएका छन् ।

जसअनुसार मुख्यमन्त्री शाहले सोमबारमात्रै पनि मन्त्रीमण्डल विस्तार गरेका छन् । प्रदेश सरकार जोगाउने प्रयासस्वरुप मुख्यमन्त्री शाहले सोमबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाएर मन्त्रीमण्डल विस्तार गरेका हुन् । चौधरी विना विभागीय मन्त्रीको रूपमा नियुक्त भएका हुन् । उनलाई सोमबार प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका हुने भने यो सँगै सुदूरपश्चिम मन्त्रीमण्डल आठ सदस्यीय बनेको छ । गत शुक्रवार पनि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट ३ मन्त्री थपेका थिए ।

यसैबीच मुख्यमन्त्री शाहले आफू चाँडै नै विश्वासको मत लिने र बहुमत सदस्यबाट विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् । नवनियुक्त विना विभागीय चौधरीको शपथ ग्रहण कार्यक्रमपछि सरकारबारे प्रतिक्रिया दिदै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् । उनले नियुक्त भएका विना विभागीय मन्त्रीहरुलाई केही दिनमै जिम्मेवारी दिने पनि बताए । मुख्यमन्त्री शाहले भने, ‘मन्त्रालय तोड्ने फोड्ने भन्दा पनि मन्त्री मण्डलमा थप साथीहरु सहभागी भइसकेपछि हामीले जिम्मेवारी दिने काम गर्छौँ । यहाँ मन्त्री मण्डल ठूलो सानो भन्दा पनि जिम्मेवारी बाँडफाँड गर्छौँ ।’ प्रदेशमा सत्ता जोगाउने र भत्काएर नयाँ बनाउने प्रतिस्पर्धा चल्दै गर्दा सत्ता गठबन्धनले केन्द्रबाट निरन्तर होमवर्क गरिरहेको छ । गठबन्धनका शीर्ष नेताका साथसाथै १० सदस्यीय राजनीतिक संयन्त्रमार्फत पनि होमवर्क भइरहेको छ । होमवर्कअनुसार छिट्टै सहमति जुटाएर एक्सनमा जने तयारीमा गठबन्धन छ


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस