Techie IT
×
गृहपृष्ठराजनीतिराष्ट्रियसभा निर्वाचनको मतदाता नामावली स्वीकृत : २ हजार ४७ जनाले मतदान गर्ने

राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली स्वीकृत : २ हजार ४७ जनाले मतदान गर्ने


काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । बुधबार आयोगले मतदाता नामावली स्वीकृत गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सो व्यवस्थाअनुसार प्रदेशसभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १,४९८ जना गरी जम्मा २,०४७ जनाको मतदाता नामावली स्वीकृत भएको हो ।

स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ को नाम हटाइ कूल १ हजार ४ सय ९८ जनाको नामावली स्वीकृत गरेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रम बमोजिम यही २० पुसमा निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ र प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनुपर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ छ । पुस २२ मा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख-उपप्रमुखको मतभार १९ रहेको छ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस