Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनको निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ : प्रधानमन्त्री प्रचण्ड

एनआरएनको निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन स्वच्छ र निष्पक्ष हुने बताएका छन् ।

माओवादी केन्द्र प्रवास समन्वय समितिले सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको अन्तरक्रियामा उनले ढुक्क भएर चुनावी प्रतिस्पर्धामा लाग्न आग्रह गरे । निर्वाचनमा सर्वसम्मत उम्मेदवार बनाउन गठबन्धनबाट पहल जारी रहेको पनि उनले जानकारी दिए ।

प्रचण्डले स्वच्छ प्रतिस्पर्धाबाट योपटक मध्यपूर्वले नेतृत्वमा पाउने विश्वास व्यक्त गर्दै एकतावद्ध र दृढतापूर्वक काममा लाग्न निर्देशन दिए । ‘स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिवद्ध छ । निश्चिन्त भएर चुनावी प्रतिस्पर्धामा लाग्न म आग्रह गर्छु । सर्वसम्मत गराउने विषयमा छलफल अन्तिम समयसम्म जारी रहन्छ’, उनले भने ।

गैरआवासीय नेपालीहरूको नागरिकताको समस्या समाधान अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने कामको सुरुवात प्रवासी नेपालीबाट भएको र त्यसलाई अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू र स्वरोजगारमा रहेका श्रमीकहरूलाई कोषमा आवद्ध गर्ने कुरा भइरहेका उनले बताए ।

अर्को निर्वाचनमा प्रवासी नेपालीले समेत मतदान गर्न पाउने गरी सरकारले प्रक्रिया अगाडि बढाएको उनले जिकिर गरे । सोही अनुसार निर्वाचन आयोगले विभिन्न ठाउँमा पुगरे अध्ययन गरिरहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्यायको पक्षमा प्रक्रिया सरकारले अगाडि बढाएकाले राम्रो कामको प्रचार गर्न आग्रह गरे ।

यसैगरी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले देशको समृद्धिका लागि योगदान दिन गैरआवासीय नेपालीहरुलाई आग्रह गरे ।
यसैगरी प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले सर्वसम्मत नेतृत्वका लागि प्रधानमन्त्री तहबाटै पहल गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष ओम शर्मासिहत प्रवास समन्वय समितिका पदाधिकारी र एनआरएनएका उम्मेदवार तथा अभियन्ताहरु सहभागी थिए ।
एनआरएनको ११ औं महाधिवेशनमा राजेन्द्रकुमार(आरके)शर्मासहित डा. बद्री केसी र महेशकुमार श्रेष्ठबीच चुनावी प्रतिपर्धा हुने देखिएको छ । स्रोतका अनुसार आरकेको पक्षमा सर्वसहमतिको प्रयास भइरहेको छ । त्यसका लागि महेश श्रेष्ठसहित बद्री केसीलाई मनाउने प्रयास भइरहेको छ ।


क्याटेगोरी : ग्लोबल, राजनीति, समाचार
ट्याग : #Breakig, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस