Techie IT
×
गृहपृष्ठराजनीतिसरुवामा मन्त्रीको सचिवालयबाट चलखेल

सरुवामा मन्त्रीको सचिवालयबाट चलखेल


संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका लागि उनीहरूले नै मोलमोलाई गर्न थालेको मन्त्रालयका कर्मचारीको भनाइ छ ।

सरूवामा मापदण्ड मिच्दै पैसा र राजनीतिक पहुँचको व्यापक दुरूपयोग गरिएको स्रोतले जनाएको छ । मन्त्रालयका एक कर्मचारीका अनुसार विशेषगरी मधेस प्रदेशका स्थानीय तहलगायत अन्य संघीय कार्यालयमा कर्मचारी सरुवा गर्ने क्रममा मन्त्रीको सचिवालयका केही कर्मचारीले बार्गेनिङ गर्ने गरेका छन् ।

मन्त्री देवीले आफ्नो सचिवालयमा खराब प्रवृत्तिका व्यक्तिलाई घुसाएको भन्दै उनको समेत आलोचना भएको छ । केही दिनअघि मात्रै मन्त्री देवी आफू निकटस्थसँग पार्टीका लागि पैसाको जोहो कसरी गर्न सकिन्छ भनेर छलफल गरेको समेत स्रोतको दाबी छ ।

मन्त्री देवी जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री हुन् । देवी आफैंमा कम विवादास्पद छविका व्यक्ति भए पनि पार्टीलाई आवश्यक खर्चको जोहो गर्नुपर्ने बाध्यता उनलाई छ । पार्टी नेतृत्वले पनि ‘मिलाएर गर्नु’ भन्दै उनलाई दबाब दिने गरेको निकटस्थले बताएका छन् ।

यसको उदाहरण बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्ने क्रममा देखिन्छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासनमा अतिरिक्त समूहमा रहेका महेश कुमार मिश्रलाई असोज १४ गते पचरौता नगरपालिकामा सरुवा गर्‍यो । त्यसको ठिक ५ दिन पछि पुनस् संघीय मामिला तथा सामान्य प्रशासनमा अतिरिक्त समूहमा सरुवा गर्‍यो ।

मन्त्रालयले किन ५ दिन पनि टिक्न नसक्ने यस्ता गम्भीर निर्णय गर्‍यो भनेर मन्त्रालयका कर्मचारीसँग जानकारी लिने क्रममा एक कर्मचारीले भने मन्त्रीज्यु मधेस प्रदेशका भएका कारण मन्त्री आफैंले यसको निर्णय गर्ने गर्नु भएको हो । सो सरुवामा समेत मन्त्री निकटले राम्रै आर्थिक संकलन गर्नेगरी योजना बनाइरहेको बताइएको छ ।

पचरौता नगरपालिकामा एमालेका जलन्धर सिंह जैसवार निर्वाचित छन् । उनी जनता समाजवादी पार्टी, नेपाल, जसपाको गडमा विजेता भएकै कारण जसपाले निरन्तर उनको बिरोध गर्ने देखि पैसा र शक्तिका कारण नगरको विकास रोक्न यस्ता गतिविधि पहिलाबाटनै गर्ने गरेको नगर प्रमुख जलन्धर सिंह जैसवारको भनाइ रहेको छ ।

उनले भने, ‘मन्त्रालयबाट साउन १८ मा प्रमुख प्रशासकीय अधिकृत महेस कुमार मिश्रको सरुवाको पत्र आयो तर विकल्पमा अर्को प्रमुख प्रशासकीय अधिकृतको नाम आएन । प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त राखियो । पुनस् असोज १४ गते उनको पचरौता नगरपालिकामै सरुवा भएको पत्र प्राप्त भयो र हिजो फेरि पुनस् सरुवाको पत्र प्राप्त भयो ।’

मेयर जैसवारले भने, ‘५ दिन पनि टिक्न नसक्ने निर्णय गर्ने मन्त्री र मन्त्रालयको कार्य देख्दा ताजुब लाग्छ ।’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस