Techie IT
×
गृहपृष्ठराजनीतितनहुँ–१ मा रास्वपाका डा. वाग्ले विजयी, ३४ हजार नौ सय ११ मत प्राप्त

तनहुँ–१ मा रास्वपाका डा. वाग्ले विजयी, ३४ हजार नौ सय ११ मत प्राप्त


तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन्  । आज बिहान सम्पन्न मतगणनाअनुसार उहाँले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका हुन्  ।

उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन्  । त्यस्तै नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिए  ।

यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन्  ।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #राष्ट्रिय स्वतन्त्र पार्टी, #स्वर्णिम वाग्ले

तपाईको प्रतिक्रिया दिनुहोस