Techie IT
×
गृहपृष्ठराजनीतिवैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन- प्रधानमन्त्री दाहाल

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन- प्रधानमन्त्री दाहाल


काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशीक रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई कुनै पनि रुपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताउनुभएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई समाजिक सुरक्षा कोषका योजनाहरुमा आवद्ध गराउने सम्बन्धी समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, अब दुस्ख दिने । दुस्ख पाउने दिन गए । अब सबैको सम्मान हुनेछ, सबैको आत्मसम्मानमा बढोत्तरी हुनेछ, यहाँहरुको योगदानको कदर हुनेछ । ज्ञान, सीप, पुँजी र प्रविधिको यहाँहरुकै हित र देश हितमा प्रयोग हुनेछ । यो सरकारको प्राथमिकता र प्रतिवद्धता यही हो ।

 

उहाँले वैदेशिक रोजागारीका लागि नयाँ नयाँ अवसर र गन्तब्यहरुको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहित गर्न चाहेको उल्लेख गर्दै श्रम सम्झौता हुन बाँकी देशहरुसँग सम्झौता गर्ने, भइसकेका सम्झौताहरुलाई समय सापेक्ष बनाउने कार्यलाई अगाडि बढाई लागि विदेशमा रहेका नेपालीहरुको हक, हित, सुविधा बढोत्तरी गर्ने र त्यसबाट हुने लाभलाई गुणात्मक रुपमा बढाउने कुरा यो सरकारको प्राथमिकतामै रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले अध्यागमनमा हुने रोजगारीका लागि श्रम स्वीकृति लिएर जाने युवाहरुप्रति हुने फरक व्यवहार गरिने व्यवस्था अन्त्य भएको बताउनुहुँदै सरकारको प्राथमिकता भनेको जनतामुखी सेवा प्रवाह नै हो भन्ने विश्वास दिलाउन चाहेको स्पष्ट गर्नुभयो ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई समाजिक सुरक्षा कोषका योजनाहरुमा आवद्ध गराउने सम्बन्धी समुद्घाटन समारोहलाई गरिएको
सम्बोधनको पूर्णपाठः-

कार्यक्रमका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवज्यू,
नेपाल सरकारका मुख्य सचिवज्यू,
मञ्चमा आसिन अतिथिहरु र यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरु,
संचारकर्मी मित्रहरु,
नमस्कार, अभिवादन !!!

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई समाजिक सुरक्षा कोषका योजनाहरुमा आवद्ध गराउने सम्बन्धी समुद्घाटनको यो विशिष्ट एवं ऐतिहासिक समारोहमा मलाई निमन्त्रण गरी यस समारोहमा केही शब्द राख्ने अवसर दिनुभएकोमा म आयोजक साथीहरुलाई म धन्यवाद दिन चाहन्छु । यस सामाजिक सुरक्षा योजनालाई सार्थक बनाउने कार्यमा अहोरात्र खटिनुहुने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक लगायतको पुरै टिम एवं कोषका अध्यक्ष साथै मन्त्रालयका सचिव लगायत कर्मचारीको पुरै टिमलाई समेत म धन्यवाद दिन चाहन्छु । यहाँहरुकै मेहनत, प्रयास, अध्ययनका कारण आज हामी यो बिन्दुसम्म आइपुगेका हौँ । म यहाँहरुलाई नै यसको पुरै श्रेय दिन, र यहाँहरुको प्रयासको प्रशंसा गर्न चाहन्छु । अब आगामी दिनमा यही Spirit का साथ यो योजनाको प्रभावकारी कार्यान्वयनमा लैजानका लागि म व्यक्तिगत रुपमा र प्रधानमन्त्रीको रुपमा यहाँहरुलाई सधै साथ दिइरहने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।
यसअघिका वक्ता साथीहरुले आजको कार्यक्रमको सान्दर्भिकता, यसको दूरगामी महत्व एवं प्रभावको सम्बन्धमा धेरै सान्दर्भिक र महत्वपूर्ण कुराहरु यहाँ बताइसक्नुभएको छ । यी बिषयहरुलाई म दोहोर्याइरहन चाहन्न ।
आज हामीले राजनीतिक लडाईँमा एउटा हदसम्म सफलता प्राप्त गरेका छौँ । हामीसँग आज समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक संविधान छ । अबको बाटो भनेको हाम्रो त्याग, बलिदानले बनाएको यो संविधानको सफल कार्यान्वयन गर्दै शहीदहरुको सपना साकार पार्दै, जनताले प्राप्त गरेका अधिकारहरुलाई जोगाउँदै हामी सबैको समान आकांक्षा आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढ्नु नै हो । यसका लागि सबैको रचनात्मक, सकारात्मक सहयोगको खाँचो छ ।
उपस्थित सम्पूर्ण महानुभावहरु,
हजारौँ युवा, देशको उत्पादनशील जनशक्ति विश्वका बिभिन्न देशमा रोजगारीकै लागि जानु परिरहेको अवस्था छ । दैनिक सयौँ को संख्यामा युवाहरु विदेशिइरहनुभएको यो अवस्थामा देशमै आन्तरिक रोजगारी सिर्जना गरी यो उत्पादनशील, संर्घषशील र जुझारु जनशक्तिलाई देशको विकास र समृद्धिका लागि लगाउनुपर्ने चुनौती हाम्रो सामु छ ।
अहिले परिस्थितिबस, बाध्यतावस विदेशिनु परे पनि विदेशमा रहेका सबै नेपालीहरु प्रति हाम्रो उत्तिकै माया र सद्‍भाव छ। ती युवाहरुले जहाँ रहे पनि जसरी पनि देशको अर्थतन्त्रलाई, योगदान पुर्याईरहनुभएको छ । देशको विकासमा योगदान पुर्याईरहनुभएको छ । हामीहरुलाई विभिन्न माध्यमबाट झक्कझकाइरहनुभएको छ, खबरदारी गरिरहनुभएको छ । यो अमूल्य छ । हामीले अब यहाँहरुको भावना अनुसार काम गर्दै रोजगारीकै लागि बाध्यात्मक रुपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास हाम्रो अबको बाटो हो ।
आज यस कार्यक्रममार्फत विदेशमा रहेका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउन र यहाँहरुलाई कहिँ न कहिँ देशसँग जोडिरहन र राज्य यहाँहरुसँगै भएको भावना यहाँहरुलाई दिलाउने प्रयास गर्न पाएकोमा म अत्यन्तै हर्षित छु । अब सबै युवाहरु यो दुरगामी महत्वको कार्यक्रममा सहभागी भई लाभान्वित हुन र सुरक्षित महसुस गर्न आह्वानसमेत गर्न चाहन्छु । यो योजनाले यहाँहरुको भविष्य सुरक्षित गरेको छ । जीवनको उत्तरार्धमा सबैको पेन्सन सुनिश्चित गरेको छ । साथै, आगामी बैशाख महिनादेखि शुरु हुने सबै अनौपचारिक, स्वरोजगार क्षेत्रका श्रमिकहरुसम्म समेत यो योजना पुग्ने निश्चित भएको हुँदा राज्यले दिने सामाजिक सुरक्षाको दायरा फराकिलो हुँदै गएको छ । यसबाट सामाजिक सुरक्षाको दायरामा आउने जनसंख्या ह्यात्तै बढ्ने विश्वास मैले लिएको छु । हाम्रो १५औं योजनाले लिएको ६० प्रतिशत जनसंख्यालाई कुनै न कुनै रुपमा सामाजिक सुरक्षाको दायरामा ल्याउने लक्ष्यको प्राप्तिमा यसले धेरै ठूलो योगदान गर्नेछ भन्ने विश्वास लिएको छु।
आज मैले यो योजनाको प्रभावकारी कार्यान्वयनमा सकारात्मक, रचनात्मक सहयोग गर्न निजी क्षेत्र, ट्रेड युनियन, गैरआवासीय नेपाली संघ साथै सबै श्रमिक दाजुभाई दिदीबहिनीहरुलाई आह्रान समेत गर्न चाहन्छु । मैले यहाँहरुलाई भन्न चाहन्छु कि यो शुरुवात मात्रै हो । आगामी दिनमा यहाँहरुलाई थप प्रभावकारी कार्यक्रमहरु ल्याउँदै सरकार, देश यहाँहरुसँगै छ भन्ने विश्वास दिलाउँदै जाने छौँ । त्यसका लागि यहाँहरु सबैको सक्रिय सहभागिता, सहयोग र खबरदारीको भने सदैब आवश्यकता रहने छ ।
मैले अस्ति पनि भनेँ- सधैँ भनि नै रहेको छु- जोड दिइनै रहेको छु कि रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई कुनै पनि रुपले दुख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य छैन । अब दु:ख दिने । दु:ख पाउने दिन गए । अब सबैको सम्मान हुनेछ, सबैको आत्मसम्मानमा बढोत्तरी हुनेछ, यहाँहरुको योगदानको कदर हुनेछ । ज्ञान, सीप, पुँजी र प्रविधिको यहाँहरुकै हित र देश हितमा प्रयोग हुनेछ । यो सरकारको प्राथमिकता र प्रतिवद्धता यही हो ।
मन्त्रालयले विदेशमा जान चाहने युवाहरुलाई तालिम दिएर, दक्ष र सक्षम बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको छ । यसका लागि ६ महिनाभन्दा कम अवधिको तालिम प्रदान गर्न तालिम प्रदायक निकायको पुनसंरचना गर्नका लागि मन्त्रालयले गरेको तयारी अनुरुपको कार्यलाई यथाशीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त पनि मैले यहाँ यो अवसरमा गर्न चाहन्छु । साथै, वैदेशिक रोजागारीका लागि नयाँ नयाँ अवसर र गन्यव्यहरुको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत मैले प्रोत्साहित गर्न चाहन्छु । र, श्रम सम्झौता हुन बाँकी देशहरुसँग सम्झौता गर्ने, भइसकेका सम्झौताहरुलाई समय सापेक्ष बनाउने कार्यलाई अगाडि बढाई लागि विदेशमा रहेका नेपालीहरुको हक, हित, सुविधा बढोत्तरी गर्ने र त्यसबाट हुने लाभलाई गुणात्मक रुपमा बढाउने कुरा यो सरकारको प्राथमिकतामै छ ।
देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा योगदान पुर्याइरहनुभएका विदेश जाने युवाहरुलाई सहजताका लागि श्रम मन्त्रालयले लामो समयदेखि सहजताको प्रयास गरिरहेको, Digital Labour Administration को अभ्यास गरिरहेको र धेरै हदसम्म समस्या समाधान भएको छ । आगामी दिनमा पनि थप जनमुखी, श्रमिक मैत्री सेवा प्रवाह गर्ने र युवाहरुले दुख पाउने अवस्थाबाट पूर्ण रुपमा मुक्ति दिलाउन म निर्देशन दिन चाहन्छु ।
अब श्रम प्रशासन पूर्णत Digital हुँदै छ । विदेशबाटै पुन: श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको छ । दुई बर्ष मात्रै श्रम स्वीकृति दिने प्रणाली हटाइएको छ । विदेशमा रहेका नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरुलाई आइ पर्ने विविध समस्यालाई तत्काल सम्बोधन गर्न विदेशस्थित नेपाली नियोगहरुबाटै दिने व्यवस्था मिलाइएको छ । श्रम तथा रोजगार कार्यालयहरुमा हुने भीड अहिले हटेको छ । श्रम स्वीकृति दिने कार्य सातै प्रदेशबाट हुने व्यवस्था मिलाई सकिएको छ । विदेशस्थित नेपाली नियोगहरुमा छुट्टै श्रम कक्ष (Labour Desk) को व्यवस्था गर्ने निर्णय भएको छ । अध्यागमनमा हुने रोजगारीका लागि श्रम स्वीकृति लिएर जाने युवाहरुप्रति हुने फरक व्यवहार गरिने व्यवस्था अन्त्य भएको छ । आगामी दिनमा यहाँहरुको सम्मानका लागि यो सरकार लागि नै रहने छ । सरकारको प्राथमिकता भनेको जनतामुखी सेवा प्रवाह नै हो भन्ने विश्वास दिलाउन चाहन्छु ।

आदरणीय मित्रहरु,

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको भवितव्यमा परी मृत्यु भएमा प्राप्त गर्ने कल्याणकारी सुविधामा समसामयिक पुनरावलोकनका साथै राहत उद्दारमा तदारुकता अपनाइने छ । केही दिन भित्रै स्वदेश तथा विदेशमा कार्यरत रहेका श्रमिकहरुको स्वास्थ्य समस्यामा सल्लाह दिन टेलिमेडिसिन सेवा समेत शुरु गरिने जानकारी गराउन चाहन्छु ।
आज यो समारोहमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ५ बर्षे रणनीतिक योजना सार्वजनिक गरियो । यो धेरै महत्वपूर्ण छ । यस बमोजिम काम गर्न सकिए हाम्रो श्रम प्रशासन वास्तवमै अनुकरणीय हुनेछ । र यो योजना कार्यान्वयनमा सरकारको पुरै सहयोग हुनेछ ।
मन्त्रालय, विभाग र कार्यलयहरुमार्फत नीतिगत समन्वय गरी आफ्नो कार्यक्षेत्र भित्रका प्रतिष्ठान र श्रमिकहरुको अनिवार्य आवद्धताको ब्यवस्था गर्नुपर्ने छ । एकीकृत सामाजिक सुरक्षा प्रदान गर्ने गरी सामाजिक सुरक्षा सम्वन्धी छरिएर रहेको कानुनहरुलाई एकाकार गरी कोषको कार्य क्षेत्र स्प्रष्ट गर्न ढिला हुँदै गएको छ यस कार्यमा सरकारले उच्च प्राथमिकता दिई अगाडि बढ्ने छ । सामाजिक सुरक्षा कोषमा आवद्धताको संस्कार वसाल्न कानुनले निर्देशित गरेको सह-योगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याई सवै क्षेत्रको अपनत्व स्थापित गरिने छ । कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्मशीलता लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीतिगत ब्यवस्था गर्ने ।सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरुलाई समेत हालसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा दुख लागेको छ । यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउने काममा म लाग्ने नै छु।
अन्त्यमा, यो कार्यमा खटिने सबै कर्मचारीहरुलाई धन्यवाद दिँदै सबैको सहयोग र समन्वयमा यो योजना पूर्ण र सफल रुपमा कार्यान्वयन हुनेछ भन्ने अपेक्षाका साथै यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु । धन्यवाद ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस