Techie IT
×
गृहपृष्ठराजनीतिकेहि दिनमै शक्तिशाली समाजवादी मोर्चा बन्दैछ : प्रधानमन्त्री

केहि दिनमै शक्तिशाली समाजवादी मोर्चा बन्दैछ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमै समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् ।

आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताएका छन् ।

‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइनसकेको, शान्ति प्रक्रिया टुंगोमा पुगिनसकेको बताउँदै प्रधानमन्त्रीले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ ।’

प्रधानमन्त्रीले भने, ‘माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको छ । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्यनिरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनु पर्छ भन्ने हाम्रो साझा मत छ । भोलि संयुक्त अपिल गर्दैछौँ, पत्रकार सम्मलेन गर्दैछौं ।’

संसारमा एक पटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त भएको भन्दै उनले बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्ने बताएका छन् । उनले थपे, ‘चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस् । क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ ।’ समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने उनले दावी गरे ।

‘एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ । हिजोको नेकपा फेरि पुनःस्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ, त्यो मत क्रान्तिको हितमा छ । कम्युनिस्ट आन्दोलनको हितमा छ । त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ ।’

एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा रहेको बताउँदै उनले नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्‍यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा रहेका बताए । उनले कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढंगले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस