Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्रीले आज विश्वासको मत लिने

प्रधानमन्त्रीले आज विश्वासको मत लिने

सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह


सिंगै संसद् विश्वासको मतमा उभिन्छ :प्रधानमन्त्री
प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ढुक्क छु : अध्यक्ष ओली
सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराए ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनु पर्र्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए । ज्येष्ठ सदस्य जबराले मङ्गलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको जानकारी गराए ।

सिङ्गै संसद् विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ ।”

प्रतिनिधिसभाको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सबै पार्टी र स्वतन्त्र सांसदले आआफ्नो धारणा राखेको उल्लेख गर्दै उनले नयाँ सुरुआत गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै सांसदबाट व्यक्त भएको बताए । “देशका अगाडि विद्यमान समस्या समाधान गर्न सबै मिलेर जानुपर्छ भन्ने सबैको भावना व्यक्त भएको छ”, उनले भने ।

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ढुक्क छु : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने कुरामा आफू ढुक्क रहेको बताएका छन् । निर्वाचन पछिको पहिलो प्रतिनिधिसभाको पहिलो बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले साथसाथै चुनौती पनि रहेको बताएका छन् । उनले सरकारका लागि सहज परिस्थिति भने नरहेको बताए ।

नयाँ चुनावपछि देशले परिवर्तन खोजिरहेको बताउँदै अहिले सरकार गठनबाट पनि परिवर्तन देखिएको बताएका छन् । उनले देश र जनताको लागि काम गर्नका लागि सांसद र सरकार भएर आएको बताउँदै जनताले केही नयाँ परिवर्तनको आशा राखेर नयाँ राजनीतिक पार्टी संसदमा आएको उल्लेख गरे । व्यक्तिको मान सम्मानका लागि नभई देश चलाउन, देशमा उन्नती प्रगति गर्न र जनताका लागि काम गर्न सरकार बन्नुपर्ने बताउँदै त्यसैअनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले नयाँ दलहरुलाई शुभकामना पनि ब्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा निवास धुम्बाराहीमा भएको भेटवार्तामा मंगलबार सरकारले प्रतिनिधिसभामा विश्वासको मत लिन लागेको विषयमा छलफल भएको बुझिएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

यसअघि प्रचण्डले आफ्नो पार्टीको संसदीय दलको बैठकमा सोमबार बिहान कांग्रेससँग विश्वासको मतको बारेमा कुराकानी भएको जानकारी दिएका थिए । कांग्रेसले सरकारलाई विश्वासको मत दिने वा नदिने बारे निर्णय अहिलेसम्म गरिसकेको छैन । कांग्रेसले मंगलबार विहान बस्ने संसदीय दलको बैठकबाट विश्वासको मत बारेमा निर्णय गर्ने जनाएको छ । कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनसक्ने अड्कलबाजी भइरहेका बेला प्रचण्ड देउवा निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको थियो । सरकारले मङ्गलबार विश्वासको मत लिँदैछ । सरकार गठनको क्रममा कूल एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । माओवादी केन्द्रको संसदीय दलको सोमबारको बैठकमा राष्ट्रियसभातर्फका दलका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सांसदहरुले निर्वाह गर्नुपर्ने समग्र भूमिकामा बारेमा दिशानिर्देश गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले सबै सांसदलाई व्यक्तिगत रुपमा पनि सरकारको पक्षमा विश्वासको मत दिने वातावरण बनाउन र अन्य दलका सांसदहरुसँग पनि छलफल गर्न आग्रह गरेको पाण्डेले बताए । बैठकमा प्रधानमन्त्री दाहालले सरकार गठनको क्रममा समर्थन गर्ने दल र सांसदका अलावा नेपाली कांग्रेसलगायतका अन्य दल तथा सांसदहरुसँग पनि छलफल भएको जानकारी गराएका थिए । बैठकमा प्रतिनिधिसभाको बैठकमा सांसदहरुले निर्वाह गर्ने भूमिकालाई रचनात्मक र जनपक्षीय बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रचण्ड

तपाईको प्रतिक्रिया दिनुहोस