Techie IT
×
गृहपृष्ठराजनीतिसत्ता गठबन्धनको दाबी : ‘अहिलेकै गठबन्धनलाई अघि बढाउने गरी जनमत आयो’

सत्ता गठबन्धनको दाबी : ‘अहिलेकै गठबन्धनलाई अघि बढाउने गरी जनमत आयो’


सत्ता गठबन्धनमा सहभागी दलहरूले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले देशलाई अहिलेकै गठबन्धन आवश्यक रहेको भन्दै मिलेर जाने सहमति गरेका हुन् ।

यही गठबन्धनलाई अघि बढाउने तथा सरकार सञ्चालन र नेतृत्वको विषयमा थप छलफल गर्दै जाने निष्कर्ष निकालिएको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । नागरिकले दिएको जनमतले पनि गठबन्धनको निरन्तरतालाई पुष्टि गरेको बैठकको निष्कर्ष छ ।

आजको बैठकमा चुनावको नतिजाबारे पनि समीक्षा भएको भुसालले जानकारीदिए । बैठकमा प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू सहभागी थिए ।

‘आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र देशको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, बैठकपछिको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

गठबन्धनको सरकारले पालिका, प्रदेश र प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक सम्पन्न गरेसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान सुरक्षित हुने र देश राजनीतिक स्थायित्व तथा समृद्धितर्फ अघि बढेको पनि गठबन्धनको दाबी छ । चुनावको बेला गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन दिँदा दिँदै पनि केही क्षेत्रमा असहयोग र असमझादारी देखिएको भन्दै गठबन्धनले आउँदा दिनमा उचित समीक्षा र सम्बोधन गर्ने जनाएको छ । चुनावमा सहयोग गर्ने र मत दिने सबै मतदातालाई धन्यवाद दिँदै गठबन्धनका दलहरूले निर्वाचित भएका सबै सांसदलाई बधाईसमेत दिएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #सत्ता गठबन्धन बैठक

तपाईको प्रतिक्रिया दिनुहोस