Techie IT
×
गृहपृष्ठराजनीतिसहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ :महत

सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ :महत


काठमाडौँ -नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताए ।

अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उनको भनाइ छ । उनले भने, “देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।” एमसिसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उनको तर्क छ । उनले थपे, ‘एमसिसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको छ । नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो ।’

नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताए । उनले भने, ‘सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन ।’ संसद्मा छलफल भए यस विषयमा निकास निस्कने उनको भनाइ छ ।

फरक प्रसङ्गमा बोल्दै उनले काँग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताए । पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने उनले बताए ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उनले यस विषयमा अहिले बहस गर्ने समय नभएको बताए । उनले भने, ‘गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ ।’ दलहरुले आ–आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुङ्गो लाग्ने उनले जानकारी दिए । फाइदाका आधारमा गठबन्धनको निर्णय हुने उनको भनाइ थियो ।रासस


क्याटेगोरी : राजनीति
ट्याग : #डा.प्रकाशशरण महत

तपाईको प्रतिक्रिया दिनुहोस