Techie IT
×
गृहपृष्ठराजनीति‘बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’ -मुख्यमन्त्री राई

‘बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’ -मुख्यमन्त्री राई


काठमाडौँ -प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको हिजो भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गरेका हुन् । “हामीलाई चिनियाँ उक्ति जस्तो–बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ”, उनले भने, “हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुपर्यो, कर्मचारी जो भए पनि हुन्छ ।” उनले कर्मचारीलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि मन्त्रीलाई निर्देशन गरे ।

मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीलाई असहयोग नगर्न सचिवलाई आग्रह गरेका छन् । “यो वा त्यो कानूनको बाहना गरेर मन्त्रीलाई अलमलाउनु भएन”, उनले भने, “टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवले पनि मन्त्रीलाई खुला र पारदर्शी ढङ्गले भन्नुपर्यो  ।” उनले ऐन, कानूनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको उल्लेख गरे । “अब जहाँ समस्या पर्छ त्यहाँ कानून बनाउँदै जाने हो”, मुख्यमन्त्री राईले भने ।

समीक्षा कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विस्तारपछि जनस्तरबाट आलोचना भएको अवस्थामा अब कार्यसम्पदानबाटै जवाफ दिनुपर्ने बताए । “मन्त्रालय र मन्त्री बढाएर खर्च बढाए भन्ने आरोप छ, अब राम्रो कार्यसम्पादन गरेर परिणाममुखी कामबाटै जवाफ दिनुपर्दछ”, उनले भने । उनले कामको प्रकृति र जिम्मेवारीअनुसार मन्त्रालयको बजेट फरकफरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै प्राप्त बजेट सञ्चालन र खर्च गर्नमा दक्षता वृद्धि हुनुपर्ने आवश्यकता औँल्याए ।

उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले कर्मचारीलाई स्थीर सरकारको सङ्ज्ञा दिँदै जाडोमा तराई गर्मीमा पहाड बस्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सरकारको मुख्य राजस्वको स्रोतलाई वृद्धि गर्न यातायात व्यवस्था कार्यालयको काम कारवाहीलाई थप व्यवस्थित गरिने बताए ।

प्रमुख सचिव डा रामप्रसाद घिमिरेले सरकारको कार्यक्रम र भावनाअनुरुप काम गर्नका लागि आवश्यक तादम्यता मिलाउन सचिवलाई निर्देशन दिए ।रासस


क्याटेगोरी : राजनीति
ट्याग : #Breakig, #राजेन्द्र राई

तपाईको प्रतिक्रिया दिनुहोस