Techie IT
×
गृहपृष्ठराजनीतिनयाँ पार्टी घोषणाको तयारीमा कमल थापा

नयाँ पार्टी घोषणाको तयारीमा कमल थापा


काठमाडौँ -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका कमल थापाले नयाँ पार्टी घोषणाको तयारी थालेका छन् । थापा निकट स्रोतका अनुसार नयाँ पार्टीमा ‘राजसंस्था’ एजेण्डा हुने छैन । थापाले हिन्दुराष्ट्रको एजेन्डामात्र बोक्ने गरी नयाँ पार्टी बनाउन लागेको बुझिएको छ ।

निकटकाहरुसँग नयाँ पार्टीको उद्देश्य, संगठनात्मक संरचना, एजेन्डा लगायतका विषयमा सामान्य ब्रिफिङ गरेका थापाले त्यसका लागि आवश्यक दस्ताबेजलाई पनि अन्तिम रुप दिन थालेका छन् ।

स्रोतका अनुसार थापाले फागुन पहिलो साताभित्र नै नयाँ पार्टीको घोषणा गर्ने छन् । यससँगै थापाले पार्टी एकताका क्रममा खाएको हिन्दूहरूको पवित्र ग्रन्थ गीताको कसम पनि तोडिने भएको छ ।

थापाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगसँग सामान्य परामर्श गरिसकेका छन् । बुधबारदेखि आफ्नो समूहभित्र थप छलफल गरी पार्टीलाई मूर्तरूप दिने तयारी छ ।

त्यसका लागि उनी निकट केही नेताहरुले छिट्टै पार्टी परित्यागको घोषणा गरेर थापाको अभियानमा होमिएको घोषणा गर्नेछन् । तर, थापा निकटकै कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले भने उनलाई साथ नदिने छनक दिइसकेका छन् । उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री भुवन पाठक लगायतले थापालाई साथ नदिने बताएका हुन् ।

थापाले आफ्नो पार्टीमा आउन पूर्वअध्यक्ष पशुपति शमशेर राणालाई समेत आग्रह गरेका छन् । सो क्रममा थापाले अध्यक्षको प्रस्ताव समेत गरेको बनाइएपनि उनले सो प्रस्ताव अस्वीकार गर्दै राप्रपामै रहने जवाफ फर्किएको राप्रपाका एक नेताले बताए ।

गत मङ्सिर १९ गते सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीहरुले भूमिका खेलेको जिकिर गर्दै आएका थिए ।

सो सम्बन्धमा पार्टीभित्र छलफल हुनुपर्ने थापाको एक सूत्रीय माग थियो । तर सो मागलाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन नगरेपछि थापाले मंगलबार गृहजिल्ला हेटौडामा पुगेर पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #कमल थापा

तपाईको प्रतिक्रिया दिनुहोस